जातीय तथा रङ्गभेद विरुद्ध कडा सन्देश: आईजीपी दानबहादुर कार्की भन्छन्—‘मानवीय मर्यादा नै सबैभन्दा ठूलो सुरक्षा’

काठमाडौं।
प्रहरी महानिरीक्षक दानबहादुर कार्की ले २१औँ शताब्दीको आधुनिक समाजमा पनि जाति तथा रङ्गभेदका विषयहरू उठिरहनु दुःखद् रहेको बताएका छन्।
अन्तर्राष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवस को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले मानवको ‘इनहेरेन्ट डिग्निटी’ (अन्तर्निहित मर्यादा) र आत्मसम्मान नै सबैभन्दा महत्वपूर्ण आधार भएको स्पष्ट पारे।
उनका अनुसार सुरक्षा केवल भौतिक पक्षमा सीमित नरही ‘मानवीय सुरक्षा’ को व्यापक अवधारणामा बुझ्न आवश्यक छ। भ्रूण अवस्थादेखि बालबालिकाको पोषण, शिक्षा, स्वास्थ्य र समग्र सुरक्षाको सुनिश्चितता गर्नु राज्यको मूल जिम्मेवारी भएको उनले जोड दिए।
आईजीपी कार्कीले कानुनमा व्यवस्था भए पनि त्यसको प्रभावकारी कार्यान्वयनका लागि व्यक्ति, संस्था र सम्पूर्ण राज्य संयन्त्रको साझा उत्तरदायित्व आवश्यक रहेको उल्लेख गरे। “संविधान र कानुनमा भएका प्रावधानहरू व्यवहारमा लागू गर्न सबै तहको सक्रियता अपरिहार्य छ,” उनले भने।
उनले समाजमा विद्यमान मानसिकता र पूर्वाग्रहप्रति पनि गम्भीर चिन्ता व्यक्त गरे। सामाजिक सञ्जाल तथा मिडियामा गोरोपनप्रतिको आकर्षण बढाइने प्रवृत्तिले समाजमा गहिरो मानसिक समस्या सिर्जना गरिरहेको उनको भनाइ थियो।
त्यसैगरी, दलित समुदायको न्यायमा पहुँच सुनिश्चित गर्न राज्य संरचनाभित्र रहेका ‘बोटलनेक’ (अवरोध) हरू हटाउनुपर्नेमा उनले विशेष जोड दिए। संस्कार, संस्कृति, शिक्षा र व्यवहारगत सुधार बिना समान न्याय सम्भव नहुने उनको धारणा छ।
प्रहरी संगठन पनि समाजकै प्रतिबिम्ब भएको उल्लेख गर्दै आईजीपी कार्कीले कानुन कार्यान्वयनमा सकारात्मक सोच र व्यवहार आवश्यक रहेको बताए। “व्यक्ति, समुदाय र राज्य सबैले सकारात्मकता अपनाएमा मात्र यस्ता समस्याको समग्र समाधान सम्भव हुन्छ,” उनले निष्कर्ष दिए।

Facebook Comments Box
TOP
187 Shares