

“डीआईजी बढुवा अवरुद्ध हुँदा सशस्त्रका दुई बाहिनी ‘निमित्त’ भरमा, ४ महिनादेखि वृत्तिविकास ठप्प”
काठमाडौं। सशस्त्र प्रहरी बल, नेपालभित्र नेतृत्व तहको ढिलासुस्तीले संगठनको संरचनात्मक सञ्चालनमै असर देखिन थालेको छ। गृहमन्त्री ओमप्रकाश अर्याल र गृहसचिव राजकुमार श्रेष्ठ बाट समयमै निर्णय नआउँदा दुई महत्वपूर्ण बाहिनी कार्यालय हालसम्म ‘निमित्त’ भरमा चलिरहेका छन् भने नायव महानिरीक्षक (डीआईजी) का ६ पदमा बढुवा प्रक्रिया अवरुद्ध हुँदा संगठनभित्र करिब चार महिनादेखि वृत्तिविकास ठप्प जस्तै बनेको छ।
सशस्त्र प्रहरीमा नयाँ महानिरीक्षक (आईजीपी) नियुक्तिको तयारी भइरहँदा समेत डीआईजी बढुवामा भएको ढिलाइले नम्बर ६ महेश्वरी बाहिनी, सुर्खेत र नम्बर ७ वैद्यनाथ बाहिनी, कैलाली निमित्त नेतृत्वमा सञ्चालन हुन बाध्य भएका छन्। लामो समयदेखि साधारण समूहअन्तर्गत (कानुन निर्देशनालयबाहेक) ६ डीआईजी पद रिक्त रहँदा पनि सशस्त्र मुख्यालयले बढुवा प्रक्रिया अघि बढाउन सकेको छैन।
हाल नम्बर ६ महेश्वरी बाहिनी सुर्खेतमा एसएसपी विनोदराज श्रेष्ठ र नम्बर ७ वैद्यनाथ बाहिनी धनगढीमा एसएसपी दिगविजय सुवेदी निमित्त बाहिनीपतिको जिम्मेवारीमा छन्। स्रोतका अनुसार, आन्तरिक प्रतिस्पर्धा र बढुवा प्रक्रियासँग जोडिएका प्राविधिक तथा प्रशासनिक कारणले नेतृत्व तहमा निर्णय हुन नसक्दा यस्तो अवस्था सिर्जना भएको हो।
गत मंसिरमा डीआईजीमा बढुवा भएका कृष्णराज पाठकलाई समेत जिम्मेवारीविहीनजस्तै अवस्थामा राखिएको बताइन्छ। उनको कार्यसम्पादन क्षमतामाथि प्रश्न उठेको भन्दै बाहिनी कमान्ड नदिइएको स्रोतको दाबी छ, जसले संगठनभित्र थप असन्तुष्टि बढाएको छ।
संगठनमा मंसिर पहिलो सातादेखि थप गरिएका २, पुस २४ गतेदेखि रिक्त ३ र फागुन १ गतेदेखि थपिएको १ गरी कुल ६ डीआईजी पद खाली छन्। मुख्यालयले पटक–पटक बढुवा प्रस्ताव गृहमन्त्रालय पठाए पनि स्वीकृति नआउँदा प्रक्रिया अघि बढ्न सकेको छैन।
डीआईजी बढुवामा ढिलाइ हुनुको प्रमुख कारण दाबेदारको संख्या बढी हुनु मानिएको छ। सिसं २ सशस्त्र प्रहरी निरीक्षक ब्याचका एसएसपीहरूबीच तीव्र प्रतिस्पर्धा देखिएको छ। दिगविजय सुवेदी, भूपेन्द्र केसी, कमल तिउसिना, नीरकृष्ण अधिकारी, किरण बस्नेत, सुधिरजंग थापा, नेत्रबहादुर कार्की, राजेन्द्र खड्का, किरण ढुंगाना र माधव पौडेललगायत बढुवाका प्रमुख दाबेदारका रूपमा रहेका छन्। उनीहरू बढुवाका लागि सम्बन्धित निकायमा सक्रिय रूपमा पहल गरिरहेका छन्।
यसैबीच, कानुन समूहका युवराज अर्यालको बढुवा पनि रोकिएको छ। उनको बढुवाका लागि छुट्टै दरबन्दी व्यवस्था भए पनि प्रक्रिया अघि नबढ्दा उनी पनि प्रतीक्षामै छन्।
बढुवा प्रक्रिया लामो समयसम्म रोकिँदा सशस्त्र प्रहरीभित्र कार्यसम्पादन, नेतृत्व विकास र मनोबलमा नकारात्मक असर पर्ने संकेत देखिन थालेका छन्। समयमै निर्णय नलिए संगठनको प्रभावकारिता र कमाण्ड संरचनामै गम्भीर चुनौती आउने देखिएको छ।
समाज
थप सामाग्री
गाडीले ठक्कर दिँदा स्कुटरमा सवार दुई जनाको मृत्यु
१२ घण्टा अगाडि
2.4kViews 344 Shares Share on Facebook Share on Twitter दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो गाडी दुर्घटना हुँदा…



