प्रशासनिक सुधारलाई विवाद बनाउने प्रवृत्ति : तथ्यभन्दा अफवाह बलियो बनाउने पत्रकारिता चुनौती

मधेस । मधेस प्रदेशको प्रदेश प्रहरी कार्यालय जनकपुरलाई लिएर केही सञ्चार माध्यममा ‘लाइन’ खोलिएको भन्दै फैलाइएका दाबीहरू फेरि एकपटक समाचारको नाममा अफवाह र अतिरञ्जनाको सीमा कहाँसम्म जान सक्छ भन्ने प्रश्न उठाउन बाध्य बनाएका छन्। सुरक्षा निकायजस्तो संवेदनशील संस्थालाई आधारहीन कथा, अनुमान र स्रोत नखुलेका दाबीका भरमा बदनाम गर्ने प्रवृत्ति केवल पत्रकारिताको मर्यादामाथि होइन, राज्यको समग्र सुरक्षा संरचनामाथि नै प्रहार हो।

प्रदेश प्रहरी स्रोतले स्पष्ट पारेअनुसार डिआइजी गोविन्द थपलियाले गरेका निर्देशनहरू कुनै आर्थिक लेनदेन, अनियमितता वा ‘लाइन’ प्रणालीसँग सम्बन्धित नभई संगठनात्मक समन्वय, कार्यक्षमता सुधार र जिल्ला–प्रदेशबीचको सञ्चार सुदृढीकरणसँग सम्बन्धित प्रशासनिक अभ्यास हुन्। यस्ता नियमित व्यवस्थापकीय प्रक्रियालाई तोडमोड गरी सनसनीपूर्ण कथा निर्माण गर्नु पत्रकारिताको नाममा गरिने गैरजिम्मेवार अभ्यास हो भन्नेमा दुईमत रहँदैन।

सुरक्षा निकायभित्र हुने आन्तरिक छलफल, कार्यसम्पादन मूल्यांकन र समन्वयलाई विवादको चस्माले हेर्ने प्रवृत्ति आफैंमा खतरनाक संकेत हो। यसले केवल संगठनको मनोबल कमजोर बनाउँदैन, बरु समाजमा अनावश्यक अविश्वास र भ्रमको वातावरण सिर्जना गर्छ। तथ्यभन्दा पर गएर ‘स्रोतको नाममा कथा’ निर्माण गर्ने संस्कृतिले अन्ततः सत्यको हत्या गर्छ।

त्यसैगरी, कुनै पनि अधिकारीको जिल्ला भ्रमण वा समन्वय बैठकलाई अनावश्यक रूपमा शंका र आरोपको दृष्टिले हेर्नु पनि उचित होइन। प्रशासनिक संरचनाभित्र हुने यस्तो नियमित गतिविधिलाई ‘दबाब’ वा ‘अनियमितता’सँग जोडेर प्रस्तुत गर्नु प्रमाणविहीन व्याख्या मात्र हो।

यद्यपि, यस्ता संवेदनशील विषयमा सम्बन्धित निकायले समयमै स्पष्ट, औपचारिक र पारदर्शी धारणा सार्वजनिक गर्नु आवश्यक देखिन्छ। मौनताले अफवाहलाई अझ मलजल गर्ने जोखिम रहन्छ।

आजको समयमा ‘सूचना’ र ‘अफवाह’ बीचको दूरी निकै साँघुरो बनेको छ। त्यसैले पत्रकारिता अझ बढी जिम्मेवार, तथ्यपरक र प्रमाणमा आधारित हुनुपर्ने आवश्यकता झन् बढेको छ। बिना आधारका आरोपले व्यक्ति मात्र होइन, सम्पूर्ण संस्थागत संरचना नै कमजोर बनाउने खतरा हुन्छ।

अन्ततः, राज्यका निकायहरूलाई जवाफदेही बनाउने नाममा तथ्यहीन कथाहरू निर्माण गर्ने प्रवृत्ति रोक्न सके मात्र सुशासन र विश्वासयोग्य सूचना प्रणालीतर्फको यात्रा सम्भव हुन्छ।

Facebook Comments Box
मुख्यमन्त्रीको गृह जिल्लामै कानुन लाचार : बागमती किनारमा ‘सगरमाथा’ जस्तो गिट्टी बालुवाको दर्जनाैं थुप्रो !
९ घण्टा अगाडि

1.2kViews 227 Shares Share on Facebook Share on Twitter प्रेमचन्द्र झा रौतहटको समनपुरस्थित बागमती पुल, मधेश प्रदेश सरकार, गढीमाई नगरपालिका…

TOP
253 Shares