हाम्रो यात्रा अब पाँचौ वर्षमा

जनरक्षा मिडिया प्रा .लि.द्वारा सञ्चालित “जनरक्षा डट कम”(janarakshya.com) आजबाट पाचौं वर्षमा प्रवेश गरेको छ। द्रुत रुपमा विकसित भइरहेको डिजिटल युगको माग पूरा गर्ने, डिजिटल समाचारको अपरिहार्यतालाई पूरा गर्ने दौरानमा चार वर्षे यात्रालाई हामीले ठूलो अनुभवका रुपमा लिएका छौं।

हामीले जुन उत्साह, योजना र लगानीका साथ नेपाली डिजिटल मिडियामा एउटा नयाँ शुरुवात गरेका थियौं, त्यसको सफलता परिणामबाटै सिद्ध गर्न सफल भएका छौं। हामीले यो यात्राको समग्र समीक्षा गर्दै स्पष्ट योजना र नीतिका साथ हामी प्रगतिशील भविष्यतर्फ लम्कने प्रण गर्दछौं।

चार वर्षे यात्रा हाम्रो लागि लामो यात्राका लागि अनुभव र सिकाईको पूँजीका रुपमा रहेको छ। यो चार वर्षमा अनलाइन पत्रकारितामा जनरक्षा डट कम सशक्त माध्यमको रूपमा उदाइसकेको छ। चार वर्षे यात्रा हामीले चुनौतीलाई अवसरमा मात्र बदलेका छैनौं बरु छोटो समयमै प्राप्त गरेको ख्याति भनेकै समस्त पाठकहरुको विश्वास जित्न सफल भएका छौं।

“जनरक्षा” सत्य–तथ्य समाचार, विचार, बहस र फिचरमा विश्वास गर्छ । यसप्रति हाम्रो लगाव र कोसिस सुरुवाती दिनदेखि नै छ ।

पत्रकारिता व्यापार होइन, पेसा हो भन्नेमा पनि हामी स्पष्ट छौँ । हामीले पत्रकारितालाई सामाजिक न्याय र समृद्धिको उज्यालो छर्ने, बाटो बिराएको शासन–प्रशासनलाई सही मार्ग देखाउने माध्यमको रूपमा लिन्छौँ । कसैको नियोजित एजेन्डा नभई आमजनताको एजेन्डा हाम्रो एजेन्डा हुनेछ । त्यसका लागि हामी आम पाठकसँग साथ र सहयोगको अपेक्षा पनि गर्छौं । पाइला-पाइलाको यात्राले नै गन्तब्यमा पुग्ने हो । ‘जनरक्षा डटकम’को यो पाँचौ वर्षको पाइला पनि गन्तब्यतर्फ नै लक्ष्यित छ । पाठकको माया खोज्न ‘जनरक्षा डटकम’ भौँतारिरहेको छ ।
प्रजातन्त्रको स्थापनापछि व्यापक हुँदै गएको नेपालको पत्रकारिताले गणतन्त्रको स्थापनापछि त एक प्रकारको फड्को नै मारिरहेको छ । पाठकको संख्याभन्दा सञ्चार माध्यामको संख्या बढी भइरहेको वर्तमान सन्दर्भमा समाचारमा विश्वसनियताको मापन नहुँदा र स्तरीय एवम् पठनिय सामाग्री पस्कने मिडीयाको समेत कमीले पनि पाठकको मन बिझाउनु स्वभाविकै हो । मिडीयाका नाममा ‘च्याउ सरी उम्रेका’ अनलाइन पत्रकारिताले समाचार पस्कने सन्दर्भमा ‘को पहिला ?’ को अस्वस्थ प्रतिस्पर्धामा उत्रिँदा समाचारको पुस्ट्याइँ नहुनु ‘धमिलो पानीमा माछा मार्न खोज्ने’ तत्वलाई बल मिलेको छ ।
मिडीया सञ्चालन आफैँमा दुरुह काम हो । योे मर्म पाठकहरुलाई भन्दा मिडीयाका सञ्चालक र प्रकाशनमा संलग्न सञ्चारकर्मीलाई बढी थाहा छ । स्तरीय एवम् विश्वसनिय समाचार, लेख-रचना जस्ता पठनिय सामग्रीको अपेक्षा पाठकहरुको नैसर्गिक अधिकार हो । तर, त्यस अनुसारको मिडीया प्रकाशनमा ल्याउन लाग्ने परिश्रम र लगानीको सीमितताले छेकवार लगाइदिन्छ । इच्छा हुँदाहुदै पनि पाठकका सामु चाहे अनुसारको सामग्री हात पार्न सकिँदैन । ‘जनरक्षा डटकम’ पनि पाठककै माया र सहयोगमा वयष्क हुने आशाको त्यान्द्रोमा छ । र, ‘जनरक्षा डटकम’लाई अझ सशक्त रुपमा अघि बढाउने प्रतिवद्धताका साथ सञ्चारकर्ममा होमिएका छौं । हाम्रो यस अभियानमा प्रत्यक्ष-अप्रत्यक्ष सहयोग पुरयाउनु हुने महानुभाव, विज्ञापनदाता, लेख-रचना सामग्री उपलब्ध गराउनु हुने सर्जकहरु, हौसला दिने बन्धुहरु प्रति ‘जनरक्षा’ परिवार ऋणी छ । मिडीया प्रकाशनमा ईष्र्या गर्नेहरु र दुरुत्साह गर्नेहरुको पनि कमी छैन । सहयोगका नाममा मौखिक आश्वासन र उद्धारका शब्द खचिर्नेहरु पनि नभएका होइनन् । तैपनि पाठक सामु जे-जस्तो रुपमा भए पनि ‘जनरक्षा’को डिजीटल अंक पस्किरहेका छौं । हामी गर्व गछौं र आगामी दिनमा थप परिस्कृत भएर पाठक सामु उपस्थित भइरहनेछौं ।
‘जनरक्षा डटकम’ तपाईहरुकै हो । यस अनलाईनमा के कस्ता सामग्रीले ठाउँ पाउनु पर्छ भनेर आलोचना, समालोचना र सुझावलाई हामी सकारात्मक ढंगले ग्रहण गर्ने छौं । सहयोगी र शुभेच्छुकबाट पनि सदैव सद्भावनाको अपेक्षा गर्दछौं ।
पारदर्शिता वर्तमान युगको माग र अनिवार्य शर्त हो । सरकार वा कुनै प्रतिष्ठान वा सार्वजनिक व्यक्तित्वका बारेमा जनता जनार्दनले जान्न पाउनै पर्छ । नेपालको लोकतान्त्रिक संविधान २०७२ ले प्रदान गरेको मौलिक हक र सूचना पाउने र सुसूचित हुने अधिकारको प्रयोगका लागि ‘जनरक्षा डटकम’लाई कोशेढुंगा बनाउने हाम्रो अभिष्ट हो । मुलुकमा स्थापित लोकतान्त्रिक गणतन्त्रको प्रवद्र्धनमा चौथो अंगका रुपमा मान्यता प्राप्त प्रेस जगतको भूमिका प्रति सचेत रहँदै ‘जनरक्षा’ आफ्नो यात्राको पाँचौ  वर्षमा अगाडी बढेको छ । हाम्रो गन्तब्य नै पाठकको माया र सन्तुष्टी हो । हाम्रो यात्राप्रति ‘शुभाषिश’ मात्र प्राप्त भएमा अवश्य नै हाम्रो यात्रा अविराम हुनेछ । हाम्रा खोट र त्रुटी अनगिन्ती हुन सक्छन्, तैपनि प्रयासका रुपमा पाठकहरुबाट क्षमाको भिक्षा माग्दै आगामी दिनमा सुधार गर्दै जाने प्रयास गर्नेछौं ।

Facebook Comments Box
TOP
260 Shares