मनाङमा यार्सागुम्बा संकलन थालियो

मनाङ– मनाङमा यार्सागुम्बा संकलन थालिएको छ । मनाङसँगै लमजुङ, गोरखा, धादिङलगायतका जिल्लाबाट सर्वसाधारण यार्सागुम्बा संकलन गर्न यहाँ आएका छन् ।

संरक्षण क्षेत्र व्यवस्थापन नियमावली २०५३, संरक्षण व्यवस्थापन निर्देशिका २०५६, हिमाली क्षेत्रमा रहेका राष्ट्रिय निकुञ्ज, आरक्षण संरक्षण क्षेत्र तथा मध्यवर्ती क्षेत्रमा यार्सागुम्बा व्यवस्थापन (संकलन तथा ओसारपसार) निर्देशिका २०८० र अन्य प्रचलित कानुनबमोजिम अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालयबाट यार्सागुम्बा तथा अन्य जडीबुटी  संकलन गर्न अनुमति लिन थालेका छन् । अनुमति प्राप्त भएपछि मात्र संरक्षण व्यवस्थापन समितिले संकलनकर्तालाई आफ्नो क्षेत्रभित्र संकलन पुर्जी दिने गरिएको छ ।

जिल्लाका सबै स्थानीय तहभित्रका संरक्षण क्षेत्रका वन क्षेत्रमा यार्सागुम्बा संकलनको अनुमति दिने तथा जिल्लाबाहिरका नागरिकलाई यार्सागुम्बा सङ्कलनको अनुमति सम्बन्धित संरक्षण व्यवस्थापन समितिले दिने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए ।

यार्सागुम्बा संकलनका लागि स्वीकृति पाएपछि मात्रै संकलक हिमाली भेगतर्फ लाग्छन् । नार्पाभूमिका लेकमा जिल्लाभित्रका नागरिकलाई यार्सागुम्बा सङ्कलन गर्न अनुमति दिइएको छ भने बाहिरी जिल्लाका नागरिकलाई भने अनुमति दिइएको छैन ।

Facebook Comments Box
TOP
331 Shares