प्रहरी सेवामा सहोदर तीन दाजुभाई दुई डीएसपी, एक इन्स्पेक्टर

कैलाली । अछामको विकट रामारोशन गाउँपालिकाबाट उब्जिएको एउटा असाधारण परिवारको कथा आज देशभर प्रेरणाको स्रोत बनेको छ ।शिक्षण पेशामा जीवन बिताएका देवानन्द न्यौपाने र गृहिणी पारु न्यौपानेका कोखबाट जन्मिएका तीन दाजुभाइ नेपाल प्रहरीको अफिसर बनेका छन् । तीनैजना आ-आफ्नै कमाण्डमा कुशलतापूर्वक सेवा गरिरहेका छन् ।देवानन्द, रामारोशन गाउँपालिका–४ का स्थायी बासिन्दा, हालै मात्र ४४ वर्षे शिक्षण यात्रामा पूर्णविराम लगाउँदै अवकाशमा बसेका छन् । तर उनका तीन छोरा नेपाल प्रहरीका अधिकृत छन् ।
सामान्य परिवारको घरमा हुर्किए—सिद्धराज, केशर र मुकेश । ती तीन दाजुभाइ आज नेपाल प्रहरीका अफिसर हुन् । एउटै कोखबाट जन्मेर एउटै संगठनमा तीन-तीन जना कमाण्ड सम्हाल्नु बिरलै मात्र देखिन्छ।तर न्यौपाने परिवारले त्यो असम्भव जस्तो देखिने सपना साकार पारेको छ । देवानन्दका जेठा छोरा सिद्धराज न्यौपाने अहिले नेपालका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का पीएसओ हुन् । प्रहरी नायब उपरिक्षक (डीएसपी) सिद्धराज, २०६३ सालमा प्रहरी निरीक्षक भएर भर्ना भएका थिए र २०७४ मा डीएसपीमा बढुवा । लामो समयदेखि पूर्वप्रधानमन्त्रीको सुरक्षाको जिम्मेवारी सम्हाल्दै आएका उनी, संगठनमा इञ्चार्जका रूपमा जिम्मेवारी पुरा गर्दै आएका छन् ।
माइलो छोरा केशर न्यौपाने सल्यान जिल्लाको प्रहरी कमाण्ड सम्हालिरहेका छन् । उनी पनि डीएसपी हुन् । २०७० सालमा प्रहरी निरीक्षक भएर प्रवेश गरेका उनी २०८० मा डीएसपीमा बढुवा भए । काठमाडौं, हेटौंडाजस्ता ठूला शहरमा काम गरिसकेका केशर अहिले सल्यान प्रहरीको कमाण्ड गरिरहेका छन् ।सबैभन्दा कान्छा छोरा मुकेश न्यौपाने २०७६ मा प्रहरी निरीक्षक भए । उनी हाल रुपन्देहीको बेलैया इलाका प्रहरी कार्यालयमा कार्यरत छन् । तर प्रहरी अधिकृतहरू मात्रै होइनन् न्यौपाने परिवारका अरू सन्तान पनि सफल छन् ।साइलो छोरा चन्द्रप्रकाश न्यौपाने इन्जिनियर छन् भने छोरी कविता न्यौपाने चिकित्सक हुन् र हाल दार्चुला अस्पतालमा सेवा दिइरहेकी छन् । उनीहरूको परिवार अछामबाट कैलालीको जानकी गाउँपालिका, बन्देवीपुरमा बसोबास गर्छ ।

Facebook Comments Box
TOP
99 Shares