खानेपानी मन्त्री खड्का भूमाफियाका नाइके, एउटै जग्गा ६ जनालाई बिक्री
सिन्धु विकास बैंकका पूर्वअध्यक्ष श्रेष्ठसँग मिलेर साढे ७ करोड बैना पचाए
काठमाडौं । जरायो तस्करी काण्डदेखि विभिन्न काण्डमा मुछिएका बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री श्यामबहादुर खड्का पछिल्लो समयमा जग्गा घोटाला प्रकरणले विवादमा परेका छन् ।
काठमाडौं क्षेत्र नम्बर ५ (२) बाट निर्वाचित प्रदेश सांसद खड्का जग्गा कारोबार गर्ने ब्यवसायी हन् । पार्टीमा कुनै योगदान नभए पनि कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले उनलाई ठूलै डिल गरी प्रदेश सांसदको टिकट दिएका थिए । गठबन्धन भएकाले उनले निर्वाचन जितेपछि प्रदेशको मन्त्री नै भएका छन् ।
मन्त्री भएपछि पनि उनले एउटा जग्गा दुईभन्दा बढी ब्यक्तिलाई बिक्री गरी करोडौं रुपैयाँ बैना हजम गरेको खुलेको छ । उनले एउटै जग्गा देखाएर बैना लिएर जग्गाधनीहरुलाई पैसा फिर्ता नगरी अन्यायको पराकाष्टा नै प्रदर्शन गरेका छन् । मन्त्री भएकाले पीडितहरुले प्रहरी प्रशासनबाट समेत न्याय पाउन सकेका छैनन् । जसका कारण खड्कालाई बैना दिएकाहरु मर्नु न बाँच्नुको अवस्थामा पुगेका छन् ।
मन्त्री खड्काले सिन्धु विकास बैंकका तत्कालीन अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठसँग सेटिङ मिलाएर जग्गा किन्नेहरूको बैना हजम गरिदिएका हुन् । सिन्धु विकास बैंकसमेत डुबाएका श्रेष्ठसँग मिलेर खड्काले चितवनको रत्ननगर नगरपालिकामा रहेको ११ कट्ठा जग्गा विभिन्न व्यक्तिलाई बिक्री गर्ने नाममा बैना रकम नै पचाइदिएको तथ्य प्राप्त भएको हो । यसरी बैना लिएर जग्गा नपाउने पीडितहरुमा काठमाडौंका सानुराज फुयाँल र प्रवेशराजभक्त मुलिक छन् । फुयाँल र मुलिकको बैनाबापतको साढे सात करोड रुपैयाँ मन्त्री खड्काले खाइदिएपछि उनीहरूको यतिबेला उठिबास लागेको छ ।
मन्त्री खड्का निर्देशक रहेको साइसा ल्यान्ड डेभलपर्स एन्ड हाउजिङ कम्पनीले चितवन देवौली गा.वि.स.(हाल रत्ननगर नगरपालिका) वडा नम्बर २ को कित्ता नम्बर १७५२ को ०–४–११ र ऐ.ऐ. कित्ता नम्बर ५४३५ को क्षेत्रफल २२८५.८५ वर्गमिटर जग्गा २०७८ फागुन ११ गते फुयाँल र मुलिकलाई १२ करोड रुपैयाँ बेच्ने गरी १ करोड ५० लाख रुपैयाँ बैना लिएको थियो ।
बैना लिएको कागजको मञ्जुरी करारनामा कागज काठमाडौं महानगरपालिका–१० वडा कार्यालयमा गरिएको थियो । पछि सोही जग्गा २०८० जेठ १ गते १३ करोड ८६ लाख रुपैयाँमा बिक्री गर्ने भनी बुढानीलकण्ठ नगरपालिका–४ वडा कार्यालयमा समेत कागज गरिएको थियो । तर खड्काले सो जग्गा फुयाँल र मुलिकलाई दिएनन् ।
खड्काले फँुयाल र मुलिकको नाममा बैना गरिएको जग्गा प्लटिङ गरेर विभिन्न व्यक्तिलाई बेचेको रहस्य खुलेको छ । स्रोतका अनुसार खड्काले नारायण राउत, युवराज शर्मा, रश्मी श्रीष र मिरा थापालाई कित्ताकाट गरेर जग्गा बेचेका छन् । अहिले भरतपुरस्थित मालपोत कार्यालयमा कित्ता नम्बर १७५२ को ०–४–११ जग्गा मालपोतको ढड्डामा भेटिन्न । आफूले गरेको बैना रकम फिर्ता माग्न जाने फुयाँल र मुलिकलाई खड्काले जग्गा बेचेर दिने भन्दै झुलाउने गरेका छन् ।
चितवनको रत्ननगर नगरपालिकामा रहेको उक्त जग्गा सिन्धु विकास बैंकको स्वामित्वमा थियो । एक ऋणीले बैंकसँग लिएको ऋण तिर्न नसकेपछि बैंकले लिलाम गरेको थियो । लिलामीको सो जग्गा बैंकका तत्कालीन अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले आफ्नो भाइ रमेश श्रेष्ठको नाममा नामसारी गरिदिएका थिए । सोही जग्गा बागमती प्रदेशका मन्त्री खड्काले बिक्री गर्ने भन्दै बैना रकम लिएर पचाइदिएका हुन् । सो जग्गाका लागि काठमाडौंका मुलिकले खड्कालाई साढे ५ करोड रुपैयाँ बैना दिएका थिए । सो रकमसमेत फिर्ता भएको छैन । न त जग्गा नै नामसारी गरिदिएका छन् ।
खड्काले आफ्नो आर्थिक कारोबार गर्ने जिम्मा नुरदोर्जे शेर्पालाई दिएका छन् । फुयाँल र मुलिकलाई जग्गा बिक्री गर्दा वडा कार्यालयमा गरेको बैना कागजको साक्षीमध्ये शेर्पा पनि एकजना हुन् । शेर्पाका नाममा चेकबाटै रकम फुयाँल र मुलिकले दिएका थिए ।
कांग्रेस महासमिति सदस्यसमेत रहेका पिपुल्स प्लाजाका मालिक श्रेष्ठले आफू श्याम खड्काको प्रतिनिधि भनेर पटकपटक गरी फुयाँलसँग एक करोड ४० लाख रुपैयाँ लिएका छन् । श्रेष्ठले फुयाँलसँग सुरुमा १ करोड २० लाख, त्यसपछि दुईपटक नौ लाख ९० हजारका दरले १९ लाख ८० हजार रुपैयाँ खड्कालाई दिन्छु भनी बुझेका थिए । तर हालसम्म उक्त रकम श्रेष्ठले खडकालाई नदिएको स्रोतको दाबी छ । फुयाँलले श्रेष्ठलाई नबिल र प्राइम कर्मसियल बैकमार्फत् र नगदै पनि दिएका थिए । अहिले श्रेष्ठले बैनाको कागजात नै गायब बनाइदिएका छन् ।
श्रेष्ठले सिन्धु विकास बैंकमा अध्यक्ष हुँदा विभिन्न जिल्लामा ऋणीको जग्गा लिलामी गर्ने र भूमाफियालाई बिक्री गर्दै आएको पीडितहरू बताउँछन् । उनकै कारण यतिबेला बैंक टाट पल्टियो । उनले बैंकका शाखा खोल्दा फर्निचरदेखि सबै पार्टेसनको ठेक्का समेत आफन्तलाई दिने र मनपरी ऋण प्रवाह गर्दा बैंक डुब्न पुगेको थियो ।
अध्यक्षको भूमिकामा रहेर बैंक डुबाउन भूमिका खेलेको भन्दै श्रेष्ठलाई नेपाल राष्ट्र बैंकले व्यक्तिगत रूपमा पाँच लाख जरिवानासमेत गरेको थियो । छेपाराले रङ फेरेझैँ राजनीतिक चरित्र फेर्न माहिर श्रेष्ठ कांग्रेस, माओवादी हुँदै पुनः कांग्रेस बनेका छन् । उनले विगतमा माओवादी हुँदा रक्तचन्दन तस्करीमा संलग्न रहेर अकूत सम्पत्ति आर्जन गरेको उनका समकक्षीहरूले बताउने गरेका छन् ।
प्रदेशमन्त्री खड्का र रक्तचन्दन तस्कर श्रेष्ठ मिलेर आफूहरूको बैना रकम नै पचाइदिएपछि फुयाँल र मुलिक अहिले विभिन्न निकायमा हारगुहार गर्दै दौडिरहेका छन् । तर राजनीतिक शक्तिको धाक देखाउँदै खड्का र श्रेष्ठले उनीहरूलाई भेट्नै नचाहेको पीडितहरूको भनाइ छ । पीडितमध्येका एक फुयाँलले बैना रकम त गुमाए नै आफूसँग भएको अन्य रकमसमेत गुमाउने अवस्थामा पुगेका छन् ।
२०७९ पुस पहिलो साता पर्सा राष्ट्रिय निकुञ्जमा भएको जरायो तस्करीको घटनामा वागमति प्रदेश सभाका सांसद श्याम खड्का पनि मुछिएका थिए । निकुञ्जको टोलीले रंगेहात ५ जनालाई मृत अवस्थाका दुईवटा जरायो, दुईवटा गाडी, हातहतियार र त्यसमा लाग्ने गोली, नगदलगायतका सामग्री बरामद गरेको थियो । जसको कनेक्सन प्रदेश सांसद खड्कासँग जोडिए पनि उनले राजनीतिक आवरणमै उन्मुक्ति पाएका थिए ।नेपाल फेस
समाज
थप सामाग्री-
पत्रकार रामचन्द्र खड्कालाई विशेष नागरिक सम्मान–२०८२ द्वारा सम्मानित
-
आइजिपी दानबहादुर कार्कीमाथि नरोकिने प्रहार : पूर्व–प्रतिस्पर्धीको प्रभावमा सञ्चालित ‘मिडिया ट्रायल’ ?
-
जेन–जी आन्दोलनका दुई दिन : विध्वंश, वीरता र प्रहरीको अदम्य कर्तव्य
-
घुमुवा प्रणालीको छायाँ : डिआइजीको नाममा असुली, व्यापारी त्रसित
-
प्रधान सेनापतिको शुभकामना : आइजीपी दानबहादुर कार्कीलाई बधाई
आईजीपी दानबहादुर कार्कीको दर्ज्यानी क्षण : फाटेको झोलादेखि देशको सुरक्षा जिम्मेवारीसम्मको प्रेरणादायी यात्रा
१ दिन अगाडि
2.6kViews 163 Shares Share on Facebook Share on Twitter काठमाडौं । फाटेको झोला छिमेकी भोटे–दमाई दाईलाई टाल्न दिएर त्यही थोत्रो…



