बुद्ध जयन्तीका अवसरमा पनौती–नमोबुद्ध शान्ति पदयात्रा

धुलिखेल । दुई हजार ५६९ औँ बुद्धजयन्तीको अवसरमा आज काभ्रेपलान्चोकको पनौतीदेखि नमोबुद्ध स्तूपासम्मको शान्ति पदयात्रा गरिएको छ । ‘काभ्रेपलान्चोकका लागि केही गरौँ’ भन्ने नाराका काभ्रे सेवा समाजको आयोजनामा भएको शान्ति पदयात्राको पूर्वराष्ट्रपति डा रामवरण यादवले पनौतीस्थित राजकुमार महासत्त्वको पूर्व जन्मघर रहेको पनौतीमा उद्घाटन गरेका हुन् ।

सो क्रममा डा यादवले बुद्ध जयन्तीका अवसरमा पवित्र दिनमा आयोजना गरेको शान्ति पदयात्राले पवित्र कार्यको सुरुआत भएको बताए । शाक्यमुनि गौतम बुद्धले कपिलवस्तुमा जन्मेर विश्वमा शान्तिको सन्देश फैलाएको बताउँदै उनले त्योभन्दा अगाडि पवित्र स्थल पनौतीमा अर्को अवतारका रूपमा जन्मेका कारण पनि यस ठाउँको छुट्टै महत्त्व रहेको उल्लेख गरे । सो अवसरमा उनले सारा संसारमा राम्रो सभ्यताको विकास र सहअस्तित्व कायम रहँदै शान्तिसँग बस्न पाउने अवस्थाको सिर्जना होस् भन्ने कामना गरे ।

पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले पनौती नगर बुद्धभूमिका रूपमा पहिचान बनाउँदै अगाडि बढिरहेको र अझ यसको विकास र पहिचान स्थापित गर्नका लागि विश्व सम्पदा सूचीमा सूचीकृत गराउनका लागि पहल भइरहेको बताए ।पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले गौतम बुद्धको पूर्व जन्मभूमि भएको पनौतीको यात्रा गर्दा यात्रा सफल र शुभ हुने भएको बताउँदै यसले पनौतीको प्रचारमा पनि थप टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले विश्वमा शान्ति छाओस् र पनौती सबैसामु परिचित होस् भन्ने उद्देश्यले काभ्रे सेवा समाजले आयोजना गरेको कार्यक्रममा पनौती पर्यटन विकास केन्द्रको पनि साथ रहेको बताए ।शान्ति पदयात्रामा सहभागी पत्रकार भीम गौतमले गौतम बुद्धको पूर्व जन्मभूमि रहेको नमोबुद्ध जति परिचित छ, त्यसको थप प्रचारका लागि आयोजना गरेको शान्ति पदयात्राले पनौतीदेखि सुन्थान, शङ्ख र नमोबुद्धसम्म पैदलयात्रा गर्दा आनन्द प्राप्त हुनाका साथै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।काभ्रे सेवा समाजका निवर्तमान अध्यक्ष प्रल्हाद केसीले विगतका वर्षमा झैँ यस वर्षमा पनि विश्वसामु नमोबुद्धलाई चिनाउनका लागि शान्ति पदयात्रा आयोजना गरेको बताए । गौतम बुद्धको पूर्वजन्मस्थल पनौती र राजकुमार महासत्वले नमोबुद्धको जङ्गलमा गरेको जीवन त्यागको ऐतिहासिक कथनसँग पनौती र नमोबुद्ध जोडिएको कारण पनि धार्मिक पर्यटन प्रवर्द्धनका लागि सो शान्ति पदयात्रा आयोजना गरेको बताए ।स्थानीय सरकार, विभिन्न सङ्घसंस्था र स्थानीय बासिन्दाहरूको सहभागितामा पनौतीको पुरानो बजार पनौती डबलीदेखि नमोबुद्ध स्तूपासम्म आयोजना गरेको सो पदयात्रामा सयौँको सङ्ख्यामा सहभागिता रहेको थियो ।रासस

Facebook Comments Box
TOP
249 Shares