अवैद्य धन्दामा उच्च पदस्थ र व्यवसायी पनि, कराडौं डुबाउने, लुट्ने र ठगी गर्ने गिरोह

काठमाडौं  फागुन  ३  ।तपाईलाई लाग्छ, नागमणि, बनझाँक्रीको हड्डी, स्यालको सिं, दाहिने संख, चमकदार, टल्कने, रंग परिवर्तन हुने पत्थर लगायतका दलालकै शब्दमा ‘अमूल्य बस्तु’ पाउन सक्यो भने जिवनयात्रा नै बदलीन्छ ? यो वाइयात मात्र नभएर दलालको ठग्ने / लुट्ने योजना मात्र हो ।
तर, लामो समयदेखि नागमणि, बनझाँक्रीका हड्डी, दुर्लभ पत्थर लगायतका त्यस्ता अवैद्य बस्तुको किनबेचका नाममा यतीबेला धनाढ्य व्यक्ति मात्र होइन, प्रतिष्ठीत व्यवसायी, सामान्य नागरिकदेखि उच्च पदमा आसिन व्यक्तिसमेत ठग्ने, ठगीने र लुट्ने/लुटीने गरेका छन् । रातारात धनी बन्ने सपना देखेर करोडौंपतिहरु रोडपति बनेका छन् भने त्यस्ता बस्तु आफूले चिनेको व्यक्तिसँग रहेको भन्दै व्यवसायी तथा उच्च पदस्थ व्यक्तिलाई लगानी गर्न उस्काउनेको धन्दा पनि राम्रैसँग चलिरहेको छ ।
नेपाली सेनाका एक जर्नेल समेत यस्तो धन्दामा चासो पूर्वक लागिरहेका छन्, उनले झण्डावाल गाडी नै लिएर त्यस्ता अवैद्य बस्तुको कारोबारमा आफूलाई व्यस्त राख्दै आएका छन् । आफूलाई भविष्यबक्ता भन्न रुचाउने ज्योतिषी, धर्मकर्ममा लागेका पण्डित-पुजारी, काठ व्यवसायी, जग्गा कारोबारी तथा मिटर व्याजीले समेत ठूलो रकम यस्तै धन्दामा डुबाएको बुझिएको छ ।
भिडीयो वा तस्वीर देखाएर आफ्नो मान्छेसँग उक्त समान भएको भन्दै केही लगानी गर्न लगाइहाल्ने अनी सम्पर्कविहीन हुनेहरुको संख्या पनि कम छैन । पूर्वराजाका ज्वाइँ हुन वा भाटभटेनी सुपरमार्केटका मालिक होउन, सुमार्गी होउन वा कैलाश सिरोहीया, प्रचण्डका घरवेटी होउन वा अर्काेकोही व्यवसायी त्यस्ता धन्दामा लागेकाहरुले खरिदकर्ताको नाम दिनु पर्दा यीनै नाम खासगरी अघि सार्दै आएका छन् ।
अझै कहीँकतै त भारतीय दलाल पनि कारोबारको सुत्रधारका रुपमा देखा पर्ने गरेको भुक्तभोगी बताउँछन् ।
लामो समयदेखि यस्तै धन्दामा हिँड्नेहरुले पनि न त आजका दिनसम्म त्यस्ता नागमणि देखेका छन्, न त बनझाँक्रीकै हड्डी वा बहुमुल्य भनिएका पत्थर नै देखेको अवस्था छ । तर पनि उनीहरुमा विश्वास भने कायमै रहेको देखिन्छ । अझै आश्चर्यजनक कुरा त त्यो बस्तुको मूल्य अर्बाै कायम गरिएको हुन्छ । स्टार होटल वा रिसोर्टमा त्यस्ता खरिदबिक्रीका नाममा दौडधुप गर्ने दलालहरुको मिटीड हुने गर्छ ।
“न त आजसम्म कसैले त्यस्तो समान किन्यो वा बिक्री गर्यो भन्ने देखिएको छ, तैपनि यसरी किन त्यस्ता धन्दामा मान्छे सक्रिय हुन्छन् ?” प्रहरीकै एक उच्च अधिकारी प्रश्न गर्छन् । उनका अनुसार यो ठगीको एउटा चाल मात्र हो ।
ति प्रहरी अधिकारीका अनुसार एउटै दलालले एकातिर खरिदकर्ता आफूले चिनेको भन्दै बिक्री गर्न इच्छुक कोही भए सम्पर्क गर्न भन्दै दलाल खटाउने अनी अर्काेतर्फ आफूसँग बिक्री गर्ने मान्छे भएको भन्दै खरिद गर्नका लागि लगानी गर्ने ग्राहक खोज्न लगाउने र ठग्ने-लुट्ने क्रम बढीरहेको देखिएकाले त्यस्ता कार्यप्रति सचेत हुन स्वयम् प्रहरीकै अधिकारीको आग्रह छ ।

यहीबीच, काठमाडौंको बौद्धबाट प्रहरीले ‘युरेनियम’ कारोबार गरेको आशंकामा ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाली र भारतीय नागरिक छन् ।

हायात होटलको पार्किङबाट आरोपीहरुको साथबाट युरेनियम जस्तो देखिन ३ किलो धातु बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले बताए । उनले भने, ‘सो धातु युरेनियम हो की होइन भन्ने पुष्टि भएको छैन्, प्रयोगशालामा परीक्षण गर्न पठाउँछौं ।’

प्रहरीले खोजबिनका क्रममा ह्यात रिजेन्सी होटलको कार पार्किङ गर्ने स्थानमा पार्किङ गरी राखेको अवस्थाको बा ५ च ८२०९ नम्बरको कारभित्रबाट २ किलो ८०० ग्राम तौल भएको युरोनियम भनिएको पदार्थसहित सुरुमा भुपेन्द्र बहादुर खड्का र नवराज महतलाई पक्राउ गरेको थियो ।

पक्राउ पर्ने महत काँग्रेस ललितपुरका नेता समेत हुन् । उनी ललितपुर क्षेत्र नम्बर ३(१) बाट प्रदेशसभाका उम्मेदवार थिए । बौद्ध इलाकामा केही व्यक्तिहरुले बिभिन्न समूह बनाई युरेनियमको सङ्कलन तथा भण्डारण गरी उच्च मूल्यमा बिक्री बितरण गर्न लागेको सूचना पाएपछि प्रहरी प्रहरी प्रधान कार्यालयबाट समेत सादा पोशाकमा प्रहरी परिचलन गरिएको थियो ।

सोधपुछ गर्ने क्रममा उक्त युरोनियम जस्तो देखिने पदार्थलाई उनीहरुले भारतबाट ल्याई प्रतिकिलो ३५ करोडमा बिक्री गर्न लागेको खुलेको प्रहरीले जनाएको छ । यसका लागि उनीहरुले केही व्यक्तिसँग डिल समेत गरेको प्रहरीको भनाइ छ ।

पक्राउ पर्ने अन्यमा सिन्धुपाल्चोकका रामकृष्ण लामिछाने, सिरहाका गोपिलाल दास, नारायण यादव, महोत्तरीका सुरेन्द्र प्रसाद चौधरी रहेका छन् । यस्तै भारतीय नागरिक उपेन्द्र कुमार मिश्र र राजु ठाकुर पनि पक्राउ परेका छन् ।

२०७७ फागुनमा पनि प्रहरीले बौद्धबाट २ केजी युरेनियम जस्तो धातु सहित ४ जनालाई पक्राउ गरेको थियो ।

Facebook Comments Box
TOP
Shares