५११ जना नेपाली युक्रेन छाडेर सुरक्षित गन्तव्यमा

फागुन २१ , काठमाडौं । युक्रेन द्वन्द्वका क्रममा युक्रेनमा फसेका नेपाली सुरक्षित स्थानमा पुग्ने क्रम जारी छ । हालसम्म ५११ जना नेपाली नागरिक द्वन्द्वग्रस्त युक्रेन छाडेर सुरक्षित गन्तव्यसम्म पुग्न सफल भएका छन् । रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्च स्तरीय समितिका अनुसार ५११ जना नेपाली नागरिक युक्रेनबाट सुरक्षित गन्तव्यसम्म पुग्न सफल भएका हुन् ।युद्धको चरम परिस्थितिका कारण कष्टकर यात्राका साथ ४०३ जना पोल्यान्ड, ७१ जना स्लोभाकिया, २७ जना रोमानिया, छ जना हङ्गेरी र चार जना नेपाली नागरिक माल्दावामा सुरक्षित पुुगेका छन् । तीमध्ये चार जनामा युद्धको विकराल परिस्थितिको सामना गर्नुपर्दा मानसिक समस्या देखिएको समितिले उल्लेख गरेको छ । युक्रेनमा रहेका धेरैजसो नेपाली तथा अन्य विदेशी नागरिक घण्टौँ पैदल हिँडेर युक्रेन र अन्य देशको सीमा क्षेत्रमा स्थापना गरिएको शरणार्थी क्याम्प पुगेका छन् ।युक्रेनबाट बाहिरिएका मध्ये ४० जना नेपालीले मात्र यात्रा अनुमतिपत्र लिएको जर्मनस्थित नेपाली राजदूत रामकाजी खड्काले जनाए । समितिको बैठकमा जानकारी दिँदै उहाँले नेपाली नागरिक सुरक्षित स्थानको खोजी गर्दै पोल्यान्ड, स्लोभाकिया, हङ्गेरी, रोमानिया र माल्दावा देशमा पुगेको बताए ।यो समाचार गोरखापत्र दैनिकबाट साभार गरिएको हो ।

आव २०७९/८० मा टिमुरको उत्पादनमा दोब्बरले कमी
September 21, 2023
दाङ । दाङमा टिमुरको उत्पादनमा कमी आएको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा आव २०७९/८० मा दोब्बरले टिमुरको उत्पादनमा…