कृति इम्पेक्सका सञ्चालक पवन कुमार बथवालको राजस्व छलीका अनेक रुप

काठमाडौं चैत १ । काठमाडौंको खिचापोरीस्थित गोल्छा हाउससँगै रहेको कृति इम्पेक्सले राजस्व छली गर्दै आएको छ । कृति इम्पेक्सका सञ्चालक पवन कुमार बथवालले क्यामेरा, टेलिभिजन तथा अन्य विद्युतीय सामानको आयात तथा विक्री–वितरणमा राजस्व छल्दै आएका हुन् । विभिन्न प्रकारका क्यामेरा तथा क्यामेराका पार्टपूर्जा आयात र विक्री–वितरण गर्दा विगत लामो समयदेखि बथवालले राजस्व छल्दै आएको बताइएको छ । पवन कुमार बथवालले टेलिभिजनका पार्टपूर्जा अण्डरबिलिङमा न्यून भन्सार मूल्यमा ल्याएर काठमाडौंमा एसेम्ब्लिङसमेत गर्दै आएका छन् । उनले टेलिभिजन सेटहरु आफैंले एसेम्ब्लिङ गरेर सोनी, श्यामसुङ तथा अन्य ब्राण्डका टेलिभिजनका नाममा विक्री–वितरण गर्दै आएका छन् । नाम चलेका ब्राण्ड एसेम्ब्लिङ गरेर विक्री–वितरण गर्नु गैरकानुनी काम हो । विगत लामो समयदेखि यस्तै गैरकानुनी धन्दा सञ्चालन गर्र्दै आएका पवनले काठमाडौंका विभिन्न स्थानमा गोदाम राखेर त्यहाँबाट विभिन्न टेलिभिजनका ब्राण्ड तयार गरेर विक्री–वितरण गर्दै आएका छन् ।
बथवालले क्यामेरा तथा क्यामेरामा प्रयोग हुने विभिन्न प्रकारका पार्टपूर्जा, टेलिभिजन सेट  तथा तिनका पार्टपूर्जालगायत अन्य विद्युतीय वस्तुहरुको समेत अण्डरबिलिङबाट सामान आयत गर्ने गरेका छन । स्रोतका अनुसार, अक्सर गरेर सिंगापुर, दुबई तथा अन्य देशबाट सामान ल्याउने गरेका पवनले धैरै प्रकारका सामान अवैध तरिकाले नेपाल भित्र्याउने गरेका छन् । पवनले आफूले मात्र नभएर धैरै व्यापारीहरुले यस्ता सामान ल्याउने गरेको बताएका छन् । उनले क्यामेरा, क्यामेरामा प्रयोग हुने पार्टपूर्जा तथा अन्य विद्युतीय सामग्रीहरुको कम मूल्यको भ्याट बिल काटेर राजस्व छल्ने काम गर्दै आएका छन् । उदाहरणका लागि एक लाख रुपैयाँ पर्ने क्यामेराको ५० हजार रुपैयाँको मात्र भ्याट बिल काट्ने गरेका छन् । कृति इम्पेक्सलगायत अन्य फर्महरुबाट पनि पवनले यस्तै ढङ्गले कारोबार गर्ने गरेको जानकारहरु बताउँछन् ।
यसैगरी, पवनका भाइ महेश बथवालले पनि क्यामेरामा प्रयोग हुने पार्टपुर्जा, ब्याट्री मोबाइलमा प्रयोग हुने सामान तथा अन्य इलेक्ट्रोनिक समानको कारोबार गर्दा राजस्व छली गर्ने गरेका छन् । उनले अधिकांश सामान चोरी–तस्करीबाट ल्याउने र भन्सारबाटै ल्याए पनि अण्डरबिलिङ गरेर सामान ल्याउने गरेका छन् । सामान विक्री गर्दा भ्याट बिल नदिने गरेको उनीसँग सामान लिने व्यापारीहरु बताउँछन् । न्यूरोडको पाकोमा अफिस राखेर महेशले यस्तो काम गर्दै आएको बताइन्छ ।
यस सम्बन्धमा पवनसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

Facebook Comments Box
TOP