तिन एआईजी बढुवा सिफारिससँगै आईजीपीको प्रतिस्पर्धी बढे

काठमाडौं, २ चैत । नेपाल प्रहरीमा तीनजना एआईजीको बढुवा सिफारिससँगै भावी आईजीपीका आकांक्षीबीच प्रधिस्पर्धा बढेर गएको छ । 

एआईजीहरू विश्वराज पोखरेल, सहकुल थापा र मंगलबार एआईजी बढुवाको सिफारिसमा परेको रविन्द्र धानुक,  धीरजप्रताप सिंहबीच प्रतिस्पर्धा हुने भएको हो ।

मंगलबार नै डीआईजी वसन्त पन्तलाई एआईजीमा बढुवाका लागि सिफारिस गरिएको छ । उनी हालका आईजीपी शैलेश थापा क्षेत्रीका ब्याची भएकाले उनले आईजीपीसँगै अवकाश पाउनेछन् । यस्तोमा उनी आईजीपीको दौडमा हुने छैनन् ।

पोखरेल र थापा भने यसअघि नै एआईजी थिए । एआईजी र आईजीपी विशिष्ट श्रेणीका पद मानिन्छन् । आईजीपी क्षेत्रीले ०७९ वैशाख १९ गते अनिवार्य अवकाश पाउँदै छन् । उनीसँगै उनकै ब्याची एआईजीहरू हरि पाल, प्रद्युम्न कार्की र निरज शाहीले पनि अवकाश पाउनेछन् ।

आईजीपीका ब्याचीहरू सबै एकै मितिमा अवकाश पाउने भएपछि भावी आईजीपीका लागि एआईजीहरू पोखरेल, थापा, धानुक र सिंहबीच प्रतिस्पर्धा हुनेछ । नयाँ आईजीपीले नै निर्वाचन सुरक्षाको कमान्ड गर्ने अवसर प्राप्त गर्नेछन् ।

एआईजीहरू पोखरेल र थापा आईजीपी क्षेत्रीका वैकल्पिक हुन् । सिंह र धानुक पनि पोखरेल, थापाकै ब्याची हुन् । यस्तोमा सरकारले जसलाई पनि आईजीपी नियुक्त गर्न सक्छ । प्रधानमन्त्रीले रुचाएको व्यक्ति नै प्रहरीमा आईजीपी बन्दै आएका छन् ।

अहिले प्रधानमन्त्री शेरबहादुर देउवा छन् भने उनकै पार्टीका बालकृष्ण खाँण गृहमन्त्री छन् । यस्तोमा प्रधानमन्त्री र गृहमन्त्रीले रुचाएको व्यक्ति आईजीपी बन्ने सम्भावना रहन्छ ।

Facebook Comments Box
TOP