सत्ता गठबन्धन विच चुनावि तालमेल भएपछि एमालेमा आतङ्क

काठमाडौं । अन्ततः सत्ता गठबन्धन तालमेल गरेर चुनावमा जाने भएका छन् । स्थानीय निकायको चुनावमा तालमेल गर्ने निर्णयमा पुगेका गठबन्धनले प्रदेश र संघीय चुनावमा पनि मिलेर जाने भएका छन् । यसका लागि नेपाली काँग्रेसले स्थानीय निकायको निर्वाचनमा तालमेल गर्ने निर्णय गरेर सहज अवस्था बनाएको छ ।

मंगलबार केन्द्रीय कार्यसमितिले आवश्यकता अनुसार स्थानीय निकायमा तालमेल गर्ने निर्णय गरेको हो । काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सर्वसम्मत रुपमा तालमेल गर्ने निर्णय गरेको जानकारी दिए । यसअघि काँग्रेसभित्र डा. शेखर कोइराला पक्षधरले तालमेलको विरोध गर्दै आएको थियो । तर, सभापति शेरबहादुर देउवासहित उनी पक्षधर नेताहरु तालमेलको पक्षमा उभिएपछि उक्त निर्णय भएको हो ।

अब काँग्रेसले सत्ता गठबन्धनका घटक नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीसँग चुनावी तालमेल गर्ने भएको छ । यसका लागि गठबन्धनका दलहरुको बैठक बसी सामूहिक निर्णय लिने भएका छन् । यो निर्णयले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई धक्का लागेको छ ।तर, उनको अहंकार अझै कम भएको छैन । ओलीको अहंकार शेरबहादुर देउवा, प्रचण्ड, माधवकुमार नेपाल र उपेन्द्र यादव मिलेर चकनाचुर पारिसकेका छन् । उनीहरुले ओलीलाई सत्ताबाट हटाएर प्रदेशहरुको पनि एमाले नेतृत्वको सरकार ढाले । राष्ट्रिय सभा निर्वाचनमा एमालेलाई १९ सिटमध्ये १ सिटमा मात्र जित्ने अवस्थामा पु¥याए । अब स्थानीय निकायको चुनावमा एमालेले ठूलो धक्का खाने अवस्था सृजना भएको छ । यसैगरी, नेपाली काँग्रेसभित्र सत्ता गठबन्धनबीच चुनावी तालमेल गर्ने या नगर्ने विषयमा मतभेद देखिएको छ । केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुबीच तालमेल गर्ने किन या नगर्ने विषयमा विवाद देखिएको थियो । काँग्रेसको संस्थापन पक्षका अधिकांश नेताहरु तालमेलको पक्षमा उभिए । सभापति शेरबहादुर देउवा तालमेल गरेर जानुपर्ने अडान कसे । तालमेल नगरे कम्युनिस्टहरु मिल्न सक्ने तर्क गरे । विगतमा डा. शेखर कोइराला समेत चुनावमा हारेको स्मरण गराउँदै एक्लै जितेर देखाउन चुनौती दिए । काँग्रेस नेता रामचन्द्र पौडेलले पनि तालमेलको पक्ष लिए । गठबन्धन जोगाउनुपर्ने भन्दै तालमेल गरेर जानुपर्ने तर्क गरे ।  काँग्रेस नेता सुजाता कोइराला पनि गठबन्धनबीच तालमेल गर्नुपर्ने पक्ष लिइन् । उनले गठबन्धनबीच तालमेलको विरोध गर्नुको औचित्य नभएको बताइन् । गठबन्धनका कारण काँग्रेसले प्रधानमन्त्री र मुख्यमन्त्री पाएको स्मरण गराउँदै त्यसलाई बिर्सेर जान नहुने बताइन् ।

काँग्रेसको संस्थापन इतर समूह भने गठबन्धनबीच चुनावी तालमेलको विपक्षमा उभियो । केन्द्रीय सदस्य डा. शेखर कोइरालाले तालमेल गरेर जाँदा क्षति पुग्ने बताए । काँग्रेसको चरित्र तालमेल गर्ने नभएको तर्क गर्दै गठबन्धन गर्दै जाने हो भने भारतको कँग्रेस आई जस्तो कमजोर हुने अवस्था बन्ने टिप्पणी गरे । काँग्रेस उपसभापति धनराज गुरुङ पनि तालमेलको विरोधी हुन् । उनले माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीलाई चमरेको संज्ञा दिँदै हात्तिको कानमा लुक्न खोजेको टिप्पणी गरे । उनी कुनै हालतमा तालमेल गर्न नहुने बताउँदै आए । तर, उनको प्रस्ताव अस्वीकृत भयो । काँग्रेस महामन्त्री गगन थापाले तालमेल गर्न नहुनेमा जोड दिए । सार्वजनिक रुपमा काँग्रेसको चुनावमा एक्लै जाने विशेषता रहेको बताएका थिए ।

संस्थापनइतर समूहले तालमेलको विरोध गरेपनि देउवा पेलेरै जाने रणनीति लिए । उनले २०७४ को स्थानीय चुनावमा पनि विभिन्न स्थानमा तालमेल गरेका थिए । विशेषगरी भरतपुर महानगरपालिकामा देउवाकै जोडबलले प्रचण्डकी छोरी रेनु दाहाललाई जिताउन काँग्रेसले सघाएको थियो । त्यतिबेला काँग्रेसका भरतपुर महानगरपालिकाका मेयरका उम्मेदवारलाई ब्याक गराइएको थियो ।

यता एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगका सबै दल मिलेर आफ्नो दलविरुद्ध चुनाव लड्न चुनौती दिए । उनले सत्ता गठबन्धनका दलहरुमात्र नभई सबै दल मिलेर आएपनि केही फरक नपर्ने बताए । यसरी उनले अहंकार प्रकट गरे । एमालेले कसैसँग गठबन्धन नगरी चुनाव जित्ने दाबी गर्दै ओलीले १२ चैत्रमा भने, पाँच वटा मात्र होइन निर्वाचन आयोगमा दर्ता भएका सबै दल मिलेर आए पनि केही फरक पर्दैन । ओलीले एमालेको मसल देखेर प्रधानमन्त्री शेरबहादुर देउवा तर्सिएको टिप्पणी गरे । देउवाले जताततै एमाले देख्न थालेको उनको भनाई थियो । ओली यसरी नै अहंकार देखाइरहेका छन् । उनको निरन्तर शक्ति घट्दै गएको छ । उनी सबै गुमाउँदै गइरहेका छन् ।

काँग्रेस चुनावी तालमेल गर्ने पार्टी नभएपनि शेरबहादुर देउवा सभापति भएपछि त्यो अभ्यास घोषित अघोषित रुपमा गर्दै आएको छ । पछिल्लो समय ओली मजबुत बनेपछि देउवाले चुनावी तालमेलको रणनीति लिएका छन् । उनले सत्ता गठबन्धनबीच चुनावी तालमेलको विरोध गर्नेहरुप्रति आक्रोश पोखेका छन् । उनले काँग्रेस एक्लै चुनावमा जान खोज्यो भने कम्युनिस्टहरु मिल्नसक्ने भन्दै तालमेलको रणनीति लिएका हुन् । देउवाले यसै हप्ता सार्वजनिक रुपमा भने, भोलि माओवादीहरु एमालेसँग मिल्न गए भने ? प्रचण्ड चुनाव हार्न लड्छन् ? जहाँ जितिन्छ त्यही मिल्दिन्छन् । प्रचण्डलाई लखेट्न नहुने भन्दै विगतको चुनावको घटना सम्झाए ।

Facebook Comments Box
TOP