नागरिक अगुवाहरुको खबरदारी– शरणार्थी काण्डमा अनुसन्धानमा छुटेकामाथि छानबिन होस्

काठमाडौ जेठ ११ । यतिबेला शक्ति र सत्ताको आडमा राजनिती गर्ने नेता देखि शान्ति सुरक्षाको जिम्मेवारी लिएका प्रहरी अधिकारी हरुक‍ो चर्तीकला छताछुल्ल भएको छ ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका शंकास्पदमाथि अनुसन्धान नै नगरी मुद्दा अघि बढाइएको भन्दै नागरिक अगुवाले खबरदारी गरेका छन्।

पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा, त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा, पूर्वन्यायाधीश बलराम केसी, निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त भोजराज पोखरेल, राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य मोहना अन्सारी र संस्कृतिविद् त्रिरत्न मानन्धरले बिहीबार विज्ञप्ति जारी गरेर ध्यानाकर्षण गराएका हुन्।

उनीहरूले विगतमा भएका अरू भ्रष्टाचार काण्डमाझैं यसमा पनि दण्डहीनता हावी हुनेगरी मुद्दा दायर हुन लागेको भन्दै ध्यानाकर्षण गराएको बताएका छन्।

‘नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिननमा नेपाल प्रहरीले सुरू गरेको अनुसन्धानले भ्रष्ट जोसुकै भए पनि उम्कन पाउँदैन भन्ने आम आशा पलाएको थियो । कुनै किसिमको दबाब वा मोलाहिजामा नपरी यो प्रकरणका सबै दोषीलाई छानबिन र अभियोजनमा ल्याइनेछन् भन्ने आम माग रहेको हो,’ उनीहरूले विज्ञप्तिमार्फत भनेका छन्, ‘अनुसन्धानको क्रममा मुछिएका शंकास्पद केहीलाई अनुसन्धानमै नल्याइ विगतका अरू भ्रष्टाचार काण्डमाझैं यसमा पनि दण्डहीनता हावी हुनेगरी मुद्दा दायर हुन लागेको भन्ने कुराले आम नागरिकमा थप आक्रोश बढाएको छ। यसमा हाम्रो गम्भीर आपत्ति छ।’

उनीहरूले प्रमाणबाट देखिएको वा देखिन सक्ने व्यक्तिलाई कठघरामा उभ्याउन सरकार नचुकोस् भनेर माग समेत गरेका छन्।

अन्यथा, आम नागरिकको आक्रोशका कारण आउन सक्ने असहज अवस्था र त्यसले ल्याउन सक्ने दुर्घटनाका लागि सरकार स्वयं जिम्मेवार हुनेछ,’ भनेर चेतावनी पनि दिएका छन्।

नक्कली शरणार्थी प्रकरणमा बुधबार ३० जनाविरूद्ध ठगी, संगठित अपराध, सरकारी लिखत कीर्ते, राज्यविरूद्धको अपराध र एकीकृत कसुरमा मुद्दा दर्ता गरिएको छ।

प्रकरणमा १६ जना पक्राउ परेका छन् भने १४ फरार छन्।

नागरिक अगुवाले आरोपितहरूले बयानका क्रममा पोलेकाहरूलाई पनि अनुसन्धानको दायरामा ल्याउन आग्रह गरेका हुन्।

Facebook Comments Box
TOP