अभियन्ता ईःको आन्दोलन स्थगित ,सडक व्यापारलाई व्यवस्थित बनाउने ४ बुँदे सहमति

काठमाडौं । फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने मागसहित सभागृहअगाडि उभिएर आन्दोलन गरिरहेका अभियन्ता ईः र महानगरपालिकाबीच चारबुँदे सम्झौता भएको छ । १९९ घण्टा उभिएर प्रदर्शन गरेका अभियन्ता ईः र काठमाडौं महानगरका प्रतिनिधिबीच भएको वार्तापछि चार बुँदे सहमति भएको हो । बुधबार बेलुका दुई पक्षबीच भएको सम्झौतासँगै अभियन्ता ईःको आन्दोलन पनि रोकिएको छ ।
सहमतिपछि ईःपक्षले पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रमहरु स्थगित भएको घोषणा गरेको छ । सहमति अनुसार, फुटपाथ, सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरुलाई विकल्प दिन महानगरले एक हप्ताभित्र पहल गर्नेछ । फुटपाथ र सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत गरिएका सामानहरु महानगरपालिकाको स्टोरमा भएसम्म यकिन गरेर सम्बन्धित धनीलाई फिर्ता गर्ने सहमति पनि भएको छ ‘अनौपचारिक क्षेत्रमार्फत हुने व्यापार व्यवसायलाई व्यवस्थित गर्न व्यापार गर्ने स्थल, समय, व्यापार गर्न आवश्यक मानिने व्यक्ति यकिन गर्न र स्थल उपलब्ध गराउने विधि, प्रक्रिया र कानुनी व्यवस्थाको प्रबन्ध गर्नुपर्ने विषयमा ठोस सुझाव’ दिने गरी अध्ययन समिति बनाउने भनिएको छ । समितिमा महानगरपालिकाले तोकेका ३ जना, अभियानकर्ता ईः का तर्फबाट दुई प्रतिनिधि, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय र ट्राफिक प्रहरीबाट एक÷एक जना प्रतिनिधि रहने भनिएको छ । सम्झौतापछि अभियन्ता ईः ले विगतका फुटपाथमा व्यापार गर्दै आएको विषयमा लिँदै आएको नीति छाडेर उनीहरूको अस्तित्व स्वीकार गरेको बताएका छन् । ‘यो पर्याप्त परिणाम होइन तर काठमाडौं महानगरपालिकाले हिजोको नीतिलाई निरन्तरता नदिई सडक व्यापारीको अस्तित्व स्वीकार गरेको छ । त्यो ठूलो कुरा हो,’ उनले भने, ‘अस्तित्व स्वीकार्य गरेपछि हक अधिकारको विषय पनि आउँछ । काठमाडौंमा हुँदा खाने वर्गका लागि बाटो खोल्नेछ ।’
१ सय ९९ घण्टा निरन्तर रूपमा उभिएका ईः ले सहमति भएको विषय जानकारी गराउनेबित्तिकै राष्ट्रिय सभागृहअघि भुइँमा बसेर आफ्नो आन्दोलन स्थगित गरेको घोषणा गरे । ‘१ सय ९९ घण्टापछि थचक्क भुइँमा बस्दा राहत महसुस भएको छ,’ उनले भने । फुटपाथ तथा ठेला व्यापारीहरूको समस्याका लागि निरन्तर उभिएर आन्दोलन गर्दै आएका अभियन्ता ईः ले अभियान सुरु गरेपछि उनले उठाउँदै आएका माग पूरा गर्नका लागि महानगरपालिकालाई विभिन्न पक्षले दबाब दिँदै आएका थिए । विभिन्न दलका नेता, नागरिक समाजका अगुवाहरूले राष्ट्रिय सभागृह पुगेर ईः को आन्दोलनप्रति ऐक्यबद्धता जनाएका थिए । उनको माग सम्बोधन गरेर आन्दोलन टुंग्याउन विभिन्न पक्षले मेयर शाहलाई आग्रह गरेका थिए । राष्ट्रिय मानवअधिकार आयोगले ईः को स्वास्थ्यका विषयमा चासो व्यक्त गर्दै वार्ताबाट समस्या समाधान गर्न आग्रह गरेको थियो ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बुधबार अपराह्न मात्रै ७ बुँदे स्ट्याटस लेख्दै ईः ले उठाएका माग पूरा गर्ने अधिकार आफूसँग नभएको जिकिर गरेका थिए । मेयर शाहले सामाजिक सञ्जालमा लेख्दै ईः को माग पूरा गर्ने अधिकार आफूसँग नभएको बताएका थिए । फुटपाथमा व्यापार गर्न नमिल्ने अडान उनले दोहो¥याएका थिए । ‘बिहान दुई घण्टा र बेलुका दुई घण्टा पनि बालबालिका हिँड्छन्, दृष्टिविहीन हिँड्छन्, गर्भवतीहरू हिँड्छन्, बिरामीहरू हिँड्छन् । सोही समयमा आगलागीको घटना हुँदै नहुने होइन । मानिसहरू बिरामी नपर्ने होइनन् । त्यस्तो आपत्कालीन अवस्थामा फुटपाथका पसल र ठेलाहरूले अवरोध गर्छन् । यही कारणले सडक वा पेटीमा राखिने निर्माणका सामग्रीहरू पनि हटाइन्छन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । त्यसमा कोटेश्वर चोकदेखि जडिबुटी जाने बाटो, तिलगंगा अगाडि, चाबहिल मालपोत अगाडि, बालाजु क्षेत्र, भृकुटीमण्डप र सम्भावित अन्य क्षेत्रमा तत्कालका लागि व्यापार गर्न दिने गरी अध्ययन गर्ने भनिएको थियो ।‘दशैं–तिहार र छठसम्मका लागि वैकल्पिक व्यापार गर्ने स्थल उपलब्ध गराउने सम्बन्धमा एक हप्ताभित्र स्थलगत अध्ययन, अवलोकन र पहिचान गरी व्यवसायीहरुलाई निश्चित समय र निश्चित स्थानमा व्यवसाय गर्न दिइने’ भनिएको थियो ।तर, यो सहमतिको खाकामा काठमाडौंका मेयर बालेन शाहसम्म पुगेपछि उनले संशोधन गरेर तोकिएका स्थानका नाम हटाएका थिए । उनका सचिवालयका सदस्यहरु भने वडाध्यक्षबाट दबाब आएपछि स्थानको नाम हटाइएको बताउँछन् । त्यो संशोधन पछि वार्ता बिथोलिएको थियो । बुधबार फेरि चौथो बुँदामा केन्द्रित रहेर महानगर र अभियन्ता ईः पक्षबीच छलफल भएको थियो । त्यसक्रममा चौथो बुँदालाई थप संशोधन गर्न दुवै पक्ष लचक बनेपछि सहमति जुटेको वार्तामा सहभागीहरु बताउँछन् ।

१ सय ९९ घण्टा निरन्तर रूपमा उभिएका ईः ले सहमति भएको विषय जानकारी गराउनेबित्तिकै राष्ट्रिय सभागृहअघि भुइँमा बसेर आफ्नो आन्दोलन स्थगित गरेको घोषणा गरे । ‘१ सय ९९ घण्टापछि थचक्क भुइँमा बस्दा राहत महसुस भएको छ,’ उनले भने । फुटपाथ तथा ठेला व्यापारीहरूको समस्याका लागि निरन्तर उभिएर आन्दोलन गर्दै आएका अभियन्ता ईः ले अभियान सुरु गरेपछि उनले उठाउँदै आएका माग पूरा गर्नका लागि महानगरपालिकालाई विभिन्न पक्षले दबाब दिँदै आएका थिए ।

Facebook Comments Box
TOP