धमाधम विदेशिँदै नेपालीः उनीहरुलाई देशमै रोक्न सरकारसँग छैन् कुनै रणनीति !

मुलुकमा रोजगारीका लागि विदेशिने क्रम ह्वात्तै बढेको छ । दैनिक हजारौंले नेपाल छोडिरहेका छन् । पहिलेपहिले पुरुष विदेशिन्थें, अहिले विदेशिने महिलाको संख्या पनि उत्तिकै छ । घरमा दुधे बालक छोडेर महिलाहरु कामको लागि खाडी छिरेका छन् । यता, गाउँघरमा पनि वृद्धावृद्ध मात्रै बाँकी भएका छन् । सरकारले मलेशियासहित १० वटा खाडी मुलुक जान कागजात मिलाउनबाहेक अन्य शुल्क नलाग्ने भनेको छ ।
तर, म्यानपावरले दुईदेखि तीन लाख रुपैयाँ लिएर नेपालीलाई खाडी पठाइरहेको छ । जसको घरमा हेर्यो, कुनै न कुनै सदस्य विदेशमा छन् । यहाँ बसेर बिहानबेलुका गुजारा गर्न गाह्रो हुने भएपछि धमाधम विदेशिने क्रम बढेको छ । तर, सरकारलाई चासो छैन् । विदेशमा रहेका नेपालीले पठाएको विप्रेषणले मुलुकको अर्थतन्त्र चलेको छ । सरकार त्यसमै खुसी छ । विप्रेषणका लागि सरकारले जनतालाई खसीबोकाझैं विदेशमा बेचिरहेको छ ।
पछिल्लो केही समययता एयरपोर्टमा भीड देखिन्छ । आमाहरु आफ्नो दुधे बालक छोडेर विदेशिएको दृश्य कम्ता पीडादायक हुँदैन् । आफ्नो भखरै जन्मेका सन्तानलाई अरुको जिम्मा लगाएर हिँड्नुपर्ने बाध्यता छ । यता, वृद्धावृद्धको अवस्था पनि त्यस्तै छ । छोराछोरी सबै कमाउन विदेश छिरेपछि उनीहरुको हालचाल सोध्ने पनि कोही हुँदैन् । विदेश जाने पनि दुई खालका छन् ।
खाडी छिर्नेहरुको उद्देश्य विदेशमा गएर कमाउछुँ, परिवार पाल्छु र फर्किएर सानातिना काम गर्छु भन्ने छ । पछिल्लो समय अष्ट्रेलिया, अमेरिका, क्यानडालगायत युरोपियन मुलुक छिर्नेहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ । पढ्ने नाममा विदेशिने उनीहरु त्यतै कमाउने, त्यतै रमाउने र त्यतै बस्ने सोच बनाएर हिँडेका हुन्छन् । यो हुनुको मूल कारण भने सरकार नै हो ।
सरकारले जनतालाई रोजगारीको सुनिश्चितता गर्न सकेको छैन् । देशमा कलकारखाना, उद्योग छैन् । सानो व्यापार व्यवसाय गरेर देशमै केही गरौं भनेपनि वातावरण छैन् । बल्लतल्ल थालेको व्यवसाय बीचमै छोडेर उड्नुपर्ने अवस्था छ । जागिर खाइरहेकाहरुले पनि विदेशिने सोच बनाइरहेका छन् । सरकारले नै नेपालमा केही छैन्, विदेशिनुपर्छ भन्ने खालको वातावरण बनाइदिएको छ ।
अहिले धमाधम नेपाली युवा विदेशिरहेका छन् । दक्ष जनशक्ति सबै विदेशको लागि रगतपसिना चुहाइरहेका छन् । कोही अमेरिकाका लागि त कोही मलेशियाका लागि योगदान गरिरहेका छन् । विश्वमा नेपाली श्रम बजार निकै ठूलो छ । अधिकांश मुलुकमा नेपाली कामदार छन् । उनीहरुले आफूसँग भएको सीप विदेशी भूमि बनाउनमा खर्च गरिरहेका छन् । सरकारले त्यसलाई नेपालमै प्रयोग गर्न सकेको भए आज अवस्था अर्कै हुन्थ्यो ।
मुलुकको मुहार फेरिसकेको हुन्थ्यो । सरकार विदेशिने नेपालीले पठाएको विप्रेषणमै रमाइरहेको छ । तर, त्यसले देशलाई भइरहेको क्षतिलाई भने बेवास्ता गरिएको छ । कक्षा १२ मा पढ्दै गरेका विद्यार्थीलाई नेपालमै बस्छौं कि विदेश जान्छौं भनेर सोध्यो भनेर अधिकांशबाट जवाफ आउँछ,‘विदेश जान्छौं ।’ अहिले स्नातक पढाउने कलेज रित्तिएका छन्, कन्सल्टेन्सी सबै भरिपूर्ण छ ।
राम्रा कलेज त नेपालमा नभएका होइनन् । धेरै लगानीमा ठूल्ठूला कलेज खुलेका छन् । प्रविधिमा पनि मुलुकले फड्को मारिसकेको छ । यद्यपि, विद्यार्थी यहाँ बस्न चाहँदैनन्, किन ? किन उनीहरुको सोच विदेशिनमै केन्द्रित छ ? पहिलो त मुलुकमा ‘अर्न टु लर्न’ को वातावरण छैन् । विश्वविद्यालयको पारा त्यही छ । पढ्ने ठाउँमा देखिएको बढ्दो राजनीतिक हस्तक्षेपले पनि विद्यार्थीलाई विदेशिन बाध्य बनाइरहेको छ ।
तर, सरकारले यसमा पनि चासो देखाएको छैन् । पढेलेखेको जनशक्ति सबै बाहिर गइरहेका छन्, सरकार देखेर पनि अनदेखा गर्छ । एक वर्षअघिको तुलनामा अहिले विदेशिने संख्या ह्वात्तै बढेको छ । देशमा देखिएको आर्थिक मन्दी, बेरोजगारी यसका प्रमुख कारण हो । आर्थिक मन्दीका कारण उद्योग, कलकारखाना चल्न मुश्किल छ । त्यहाँ कार्यरत कामदारलाई धमाधम निकालिँदै छ ।
सहकारीहरु बन्द हुँदा त्यहाँ कार्यरत हजारौं कर्मचारी बेरोजगार भए । व्यापार व्यवसाय गर्नेहरु पनि विदेश पलायन भइरहेका छन् । नेपालमै केही गरौं भनेर लगानी गरेकाहरु चुलुम्मै डुबेका छन् । बाँच्नसमेत सकस परेपछि उनीहरु ऋणधन गरेर विदेश गइरहेका छन् । विदेशिनु कसैको रहर होइन्, बाध्यता हो भन्ने कुरा सरकारले कहिले बुझ्ने ? कसलाई अर्काको देशमा गएर चर्को घाममा काम गर्न मन लाग्छ र ?
सरकारले नेपालीलाई विदेशिनै बाध्य बनायो । दसैंपछाडि विदेशिनेको संख्या झनै बढ्ने अनुमान लगाइएको छ । अधिकांश व्यापारी दसैंको मुख हेरेर बसेका छन् । त्यतिबेला पनि व्यापारले ‘ट्रयाक’ लिएन भने बाहिर जान्छौं भनेर उनीहरुले सोच बनाएका छन् । नेपालमा बसेर भविष्य नै छैन् । यहाँ कसैले भविष्य नै देख्दैनन् । राजनीति गर्नेलाई जनताको मतलब छैन् ।
सरकारमा बस्नेहरु गतिलो नहुँदा आज मुलुक तहसनहस बनेको छ । नेपालीलाई खसीबोकाझैं बेचेर तिनीहरुले पठाएको विप्रेषणबाट नेता भनाउँदाहरुले तलबभत्ता, सरकारी सुविधा लिइरहेका छन् । आफ्नो फाइदाका लागि नेताहरुले नेपाली जनतालाई ‘युज’ गरिरहेका छन् । विदेशी मुलुकले नेपालीलाई लगेको छ र जसोतसो नेपाल चलिरहेको छ । यहाँ भएका तिनका परिवारले खान पाएका छन् ।
उनीहरुले नेपालीलाई नलैजाने हो भने यहाँ भोकमरी लाग्छ । नेपाल केहीमा पनि आत्मनिर्भर छैन् । आत्मनिर्भर हुनलाई उत्पादन हुनुपर्यो, कलकारखाना हुनुपर्यो । भएका उद्योग पनि बन्द गरिहाले । आयात गरिएका वस्तुले नेपालीले गुजारा गरिरहेका छन् । जनसंख्याको आधा हिस्सा अहिले विदेशमा छन् । उनीहरुले कमाएर पठाउने, यहाँ रहेका तिनका परिवारले त्यही पैसाले किनेर खाने ।
अनि के फाइदा भयो त ? जति पनि विप्रेषण भित्रिन्छ त्यो त फेरि सामान किन्दा त्यतै फर्किरहेको छ । हामीले त जसरी हुन्छ बाँच्ने आधार मात्र खोजेको देखिन्छ । सरकारले व्यापार व्यवसाय गर्न चाहनेलाई शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने भनेर भाषण ठोक्यो । तर, अहिलेसम्म कतिले पाए त ? सरकारले तथ्याङ्क सार्वजनिक गर्न सक्छ ? जनतालाई कहिलेसम्म भ्रममा पार्ने ?
वित्तिय संस्थाले धितो हुँदा त ऋण दिँदैन् भने शैक्षिक प्रमाणपत्रको आधारमा ऋण दिने रे ? झुक्काउने पनि हद हुन्छ नि । व्यक्तिहरुसँग एक लाखको मासिक पाँचदेखि ३० हजार रुपैयाँ ब्याजमा ऋण लिएर विदेश छिरेका छन् । उनीहरुले कमाएको त ब्याज तिर्न ठिक्कै हुन्छ । सरकार जनताप्रति कहिलेपनि जिम्मेवार भएन् । जनतालाई शिक्षा, स्वास्थ्य, रोजगारी केही पनि भएन् ।
जनतालाई नागरिकता दिने अनि भोट लिने । योबाहेक सरकारले अरु केही गर्न सकेन् । सरकारबाट जनताले केही पनि पाएका छैनन् । तर, जनताले त कर तिरेका छन् । उनीहरु खाडी मुलुकमा गएर काम गर्छन्, विप्रेषण पठाउँछन् । त्यतिले पनि नपुगेर विदेशी ऋण लिइन्छ । देशमा विकासको एउटा सिन्को भाँचेको छैन् । ऋणचाँहि थपिएको थपिएकै छ । अब यहाँ बसौला भनेर नसोच्दा पनि छैन् ।
राजनीतिक दल, सरकारी कर्मचारीहरुले नेपालीलाई विदेशिनैपर्ने बाध्यता बनाए । भ्रष्टाचारका कारण मुलुक विश्वमै बद्नाम बनेको छ । जसका कारण यहाँ बस्न नेपाली जनतालाई हीनताबोध महसुश हुन्छ । अझैपनि राजनीतिक दलका नेताहरु नसुध्रिने हो भने देशले ठूलो क्षति व्यहोर्नुपर्छ । आफ्ना जनतालाई कसरी देशमै रोक्ने ? उनीहरुसँग भएको सीप कसरी प्रयोग गर्ने ? सरकारले अबचाँहि योजना बनाउनैपर्छ ।
श्रम मन्त्रालय र श्रम विभागले त आफ्नो उद्देश्य नै बिर्सिएको छ । नेपालीलाई मुलुकमै रोजगारीको व्यवस्था मिलाउन स्थापना गरिएको मन्त्रालय र विभाग नेपाली बेच्ने अखडा बनेको छ । मन्त्रालय र विभागले म्यानपावर र कन्सल्टेन्सीलाई फाइदा गरिदिएको छ ।
अनुसा थापा
भक्तपुर

Facebook Comments Box
TOP
Shares