सप्तरीको बनैनिया नाकाबाट तस्करी मौलाउँदै

राजविराज । नेपाली जनताका ठूला र मुख्य चाडपर्व नजिकिँदै छन् । चाडपर्व नजिकिएसंगै भारतीय सीमावर्ती नाकाहरूबाट तस्करी धन्दा व्यापक मात्रामा हुनथालेको छ । अहिले सप्तरीको सीमावर्ती नाका बनैनियाबाट पनि व्यापक तस्करी भैरहेको छ । सीमाको सुरक्षा र चोरी तस्करी नियन्त्रण गर्नका लागि सरकारले सशस्त्र प्रहरी बललाई प्रमुख जिम्मेवारी दिएको छ तथापि सीमामा खटिएका सशस्त्र प्रहरी नै तस्करी गर्ने तस्करहरूसंग मिलिभगत गर्दै तस्करी धन्दा गराउन लागि परेका छन । यसको एउटा उदाहरण सप्तरी जिल्लाको बनैनिया नाकाबाट हुने तस्करी धन्दालाई लिन सकिन्छ । सीमावर्ती नाकाका बिओपी तथा प्रस्तावित गुल्ममा खटिएका निरीक्षक तथा डिएसपीहरू नै चोरी तस्करी नियन्त्रण गर्न लागि पर्नुपर्नेमा उल्टो तस्करहरूसंग मिलि तस्करी गराउने गरेको प्रमाणहरू व्यापक बाहिरिन थालेपछि सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले यसरी खटिएकाहरूलाई एक बर्ष नराख्ने र ६÷६ महिनामा परविर्तन गर्ने नीति ल्याएका छन् । तर पनि चोरी तस्करी नियन्त्रण हुनुको साटो झनै यही ६ महिनामा कमाउने हो भन्ने सोचका साथ जानेहरू तस्करी गराउने र रकम उठाउने अभियानमा सक्रिय भएको देखिएको छ ।त्यसै कारण पनि तस्करी नियन्त्रण होइन बढेको देखिन्छ ।

सप्तरीको बनैनियाबाट अहिले भारतीय क्षेत्रबाट कपडा र किरानाको तस्करी धन्दा व्यापक चलेको छ भने नेपालबाट रक्सीको तस्करी हुदै आएको छ । यो नाकाबाट सशस्त्र प्रहरीको संरक्षणमा तस्करीको लाइन पाउनेहरूमा रक्सीको काम गर्ने रामचन्द्र यादव ,फुदुर सिंह ,हनुमान यादव ,दिपक सिंह र बिरेन्द्र साह प्रमुख छन् । यिनीहरूले नेपालबाट भारतमा रक्सीको तस्करी गर्दै आएका छन् । त्यसैगरी भारतबाट नेपाल तर्फ किराना सामानको तस्करी गर्नेहरूमा राम्रो दास ,दिलिप मण्डल , अनिल यादव र परमानन्द मण्डल छन भने कपडाको तस्करी गर्नेहरूमा प्रेम साह , धनीलाल यादव र कपलेश्वरी देवी मुख्य रहेका छन् । सशस्त्रको बनैनिया स्थित बिओपीमा निरीक्षक गोपाल खत्री रहेका थिए । उनले हवल्दार तीर्थ पौडेल र सहायक हवल्दार रामजान मियाँलाई घुमुवाको रूपमा परिचालन गरेका थिए । सशस्त्र प्रहरी मुख्यालयले गत साता मात्रै ९५ जना प्रहरी निरीक्षकहरूको सरूवा गरेको छ । उक्त सरूवामा गोपाल खत्री बनैनिया बिओपीबाट हटेका छन् भने ओरेन तामाङ सरूवा भएर आएका छन् । ओरेन तामाङ पनि यसअघि पर्सामा कार्यरत रहंदा तस्करी कै कारण धेरै बदनाम भएका थिए । अब बनैनियामा के गर्छन् त्यो हेर्न भने बांकी नै छ।

Facebook Comments Box
TOP