काँग्रेस र एमालेलाई जनताको प्रश्न,‘तपाईंहरुसँग क्षमता नभएर ३२ सीटेलाई देश चलाउने जिम्मा दिएको हो ?’

पञ्चायती व्यवस्थाविरुद्ध मुलुकमा पटकपटक आन्दोलन भयो । आन्दोलनका क्रममा धेरै जनता जेल बसे, शहिद भए । २०४६ सालमा ठूलो जनआन्दोलन भयो । जसले पञ्चायती व्यवस्था ढालेरै छोड्यो र बहुदलीय व्यवस्था आयो । बहुदलीय व्यवस्था चाहिन्छ भन्ने अधिकांश राजनीतिक दलका नेताहरु जेलमा थिए ।
सो जनआन्दोलनपछि उनीहरु छुटे । २०४७ सालमा संविधान बन्यो । त्यसपछि पनि सूर्यबहादुर थापा र लोकबहादुर चन्द नै प्रधानमन्त्री भए । जबकी पञ्चायती व्यवस्थामा पनि यिनीहरु प्रधानमन्त्री थिए । व्यवस्थामा परिवर्तन भयो, तर नेतृत्व सम्हाल्नेको अनुहार भने उही ।
यो किन भयो ? राजनीति सकिसकेका उनीहरु बहुदलीय व्यवस्थामा पनि प्रधानमन्त्री बन्नुको कारणचाँहि राजनीतिक दलको किचलो हो । नेपाली काँग्रेस र नेकपा एमालेको आपसी मनमुटावको फाइदा उनीहरुले उठाए । वर्तमान राजनीतिक अवस्था पनि ठ्याक्कै योसँग मिल्दोजुल्दो छ ।
२०७९ मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा काँग्रेस पहिलो र एमाले दोस्रो दल बन्यो । माओवादी त तेस्रो नम्बरमा छ । काँग्रेसले ८९, एमालेले ७८ र माओवादीले ३२ सीट ल्याएको छ । तर, काँग्रेस र एमाले मिलेन् । जसको फाइदा माओवादीले उठाइरहेको छ ।
सरकार बनाउन १३८ जना सांसद चाहिन्छ । जबकी काँग्रेस र एमाले मिल्दा १६७ सांसद हुन्छन् । माओवादी त दूरदराजमा पनि देखिँदैन् । यद्यपि, ३२ सीट ल्याएको पार्टीकै अध्यक्षले देशको नेतृत्व सम्हालिरहेका छन् । जसलाई जनताले पत्याएनन्, उसलाई पार्टीले पत्याएपछि के गर्ने ?
२१ सीट ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्री खाइरहेका छन् । १० सीटमै सीमित भएको नेकपा एकीकृत समाजवादी पार्टीको दुई नेताले मन्त्री पाएका छन् । उपेन्द्र यादवको जनता समाजवादी पार्टीले १२ सीट ल्याएको छ । सो पार्टी पनि सरकारमा गएको छ ।
जनताले नपत्याएका भएभर मिलेर सरकार गठन गरेका छन् । टुक्राटुक्रा जोडेर सरकार बनेको छ । काँग्रेस र एमालेलाई पाखा लगाएर प्रचण्डले प्रधानमन्त्री र लामिछानेले गृहमन्त्री खाएका छन् । जसपा र एकीकृत समाजवादीले महत्वपूर्ण मन्त्रालय लिएका छन् । पदका लागि हानाथाप चलिरहँदा देशको अवस्था कसले हेर्छ ?
सबैलाई मन्त्री खान पाइन्छ कि पाइँदैन् ? भन्ने मात्र छ । सरकारमा जुनसुकै पार्टी गएपनि जनताको समस्या समाधान भएको होइन् । प्रचण्ड आएको १४ महिना भयो । तर, यो अवधिमा के भयो ? अर्थतन्त्र डामाडोल अवस्थामा छ । विडम्बना, पार्टीहरु सत्ताको खेलमै केन्द्रित छन् ।
हरेक क्षेत्रमा समस्या देखिएको छ । आर्थिक मन्दीका कारणले व्यापार व्यवसाय धरासायी बनेको छ । कम्पनी, फर्महरु धमाधम बन्द भइरहेका छन् । लाखौं नेपाली रोजगारविहिन बनेका छन् । पसल थापेर गुजारा गर्दै आएकाहरु विदेश पलायन हुन बाध्य भएका छन् । देश छोड्नेको संख्या दिनप्रतिदिन बढ्दैछ ।
राजनीतिक दलप्रति आम नागरिकको असन्तुष्टि बढ्दै गएको छ । जनतामा निराशा छाएको छ । तर, राजनीतिक दलहरुलाई मतलब छैन् । जनताले देश चलाउने जिम्मा काँग्रेस र एमालेलाई दिएको हो । माओवादी, एकीकृत समाजवादी, जसपा, रास्वपालाई जनताले देश चला भनेका त होइनन् ।
जनताको मतलाई पाखा लगाएर साना दलहरुले एकै ठाउँमा गाँसिएर सरकार बनेको छ । जसका कारण राजनीतिक किचलो धेरै भएको छ । यस्तो पाराले कसरी देश विकास हुन्छ ? सबै पार्टीको फरकफरक धारणा छ अनि कसको सुन्ने ? र के गर्ने ? भन्ने हुन्छ । सत्ता टिकाइराख्ने यो खेलले देश विकास हुन दिँदैन् ।
जनता अहिले अप्ठेरो अवस्थाबाट गुज्रिरहेका छन् । मन्दीले सबैलाई समस्यामा पारेको छ । यो हेर्न छोडेर राजनीतिक दलहरु सरकारमा जान हारालुछ गरिरहेका छन् । २०६४ सालको निर्वाचनमा माओवादी पहिलो पार्टी बनेको थियो । चैत २८ गते भएको चुनावमा माओवादीका उम्मेदवार १२१ सीटमा प्रत्यक्ष निर्वाचित भएको थियो ।
थोरै मतान्तरले केही स्थानमा हारेका थिए । त्यही पार्टी आज ३२ सीटमा खुम्चिएको छ । पाँच दल गठबन्धन गरेर माओवादीले त्यति ल्यायो । माओवादी एक्लै चुनावमा भिडेको भए, दुई सीट पनि जित्दैन्थ्यो । माओवादीको नारायणमान बिजुक्छेंको मजदुर किसाान पार्टी र चित्रबहादुर केसीको राष्ट्रिय जनमोर्चाजस्तै हाल हुन्थ्यो ।
चुनावले नै माओवादी जनताको नजरबाट गिरिसकेको पुष्ट्याइँ गरेको छ । तर, त्यही पार्टीका अध्यक्षले देश चलाइरहेका छन् । ठूला पार्टी भएर के गर्ने, सोच्न सक्ने दिमाग नभएपछि । जनताले काँग्रेस र एमालेलाई प्रश्न गर्छन्,‘तपाईंहरुले नसकेर ३२ सीट ल्याएको माओवादीलाई देश चलाउने जिम्मा दिएको हो ?’
प्रचण्डको १४ महिनाको काम जनताले देखिसकेका छन् । कहीँकतै सुधार नै देखिँदैन् । अब पनि प्रचण्डलाई नै सरकार चलाउने जिम्मा दिइरहने हो भने देश त सिद्धिन्छ । अर्थतन्त्र सुधार हुनुको साटो दिनदिनै बिग्रिँदै गएको छ । काँग्रेस आफू ठूलो पार्टी भनेर घमण्ड गरेर बसेको छ, एमालेलाई जसरी हुन्छ सरकारमा जानु छ ।
दुईटा पार्टी मात्रै मिले भनेपनि यो अहिले देखिएको राजनीतिक किचलोको अन्त्य हुन्छ । वर्तमान टुक्रे सरकारबाट एउटा पार्टी मात्रै छुट्यो भने फेरि भताभुङ्ग हुन्छ । राजनीतिक दललाई खुशी पार्दै र सरकार बनाउँदै समय बित्छ, अनि जनताको समस्याचाँहि कसले हेर्छ ? बरु एमालेलाई प्रधानमन्त्री दिएर हुन्छ कि काँग्रेस सरकारमा जानुपर्यो ।
काँग्रेस र एमाले मिल्ने हो भने विदेशीले पनि पत्याउँछन् । अनुदान र ऋण दिन्छन् । जनताको निराशापन पनि हट्छ । माओवादीको क्रान्तिकारी रुप देखेकाले विदेशीले प्रचण्ड नेतृत्वको सरकारलाई पत्याउँदैन् । झन् यी साना पार्टीको त मुख पनि हेर्दैनन् । त्यसैले अब काँग्रेसले सरकारको डोरो समाउनुहुन्छ ।
नत्र देश झनझन् अप्ठेरो अवस्थामा जान्छ । नेता जहिलेपनि त्यागी हुनुपर्छ । आफू हारेर भएपनि देश र जनता बचाउने मात्रै नेता हुन् । यतिबेला जनताले काँग्रेसका नेता स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई सम्झिन्छन् । उनले माओवादीलाई शान्ति वार्तामा ल्याए । त्यो नगरेको भए आजसम्म लाखौं शहिद भइसक्थें ।
गिरिजाले आफ्नो पार्टी हेरेनन्, देश र जनता हेरे । काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि गिरिजाकै भूमिका निर्वाह गर्नुपर्छ । देश, जनता र अर्थतन्त्र जोगाउन देउवाले भूमिका खेल्नुपर्छ । प्रचण्डले अबको ३० दिनभित्र सदनबाट विश्वासको मत लिनुपर्छ । त्यो अवधिअगावै काँग्रेसले आफ्नो खेल खेलिसक्नुपर्छ ।
काँग्रेससँग समय छ, एमालेलाई प्रधानमन्त्रीको प्रस्ताव गर्ने कि अन्य कुनै उपाय लाउने ? देउवाको हातमा छ । यो अप्ठेरो घडीमा पनि नेताहरु आमुनेसामुन्ने भएर बस्ने हो भने देश बर्बादको मोडमा जान्छ । जोसँग आफ्नै पार्टी मिलाउने क्षमता छैन्, उसले यत्रा जनता मिलाउँछ ?
विप्लव, वैद्य, बाबुराम भट्टराई सबै फुटेर गए, किन ? माओवादी त ठूलो दल थियो । तर, एकपछि अर्को गर्दै सबै निस्किए । किन कि उनले आफ्नो स्वार्थ मात्र हेरे । अरुको नसुन्ने, आफ्नो मात्र चलाउने भएपछि कसले रुचाउँछ ? नेताको अनुहार हेरेर बजार चलिरहेको छ । अर्थमन्त्री विष्णु पौडेल हुने भन्नेबित्तिकै शेयरको मूल्य आकाशियो ।
तर, वर्षमान पुन आउने भएपछि शेयर बजारमा पुनः निराशा छायो । लगानीकर्ताहरुले पनि माओवादीलाई रुचाउँदैनन् भन्ने त घामजस्तै छर्लङ्ग भएको छ । काँग्रेसको निर्णय अहिले निकै महत्वपूर्ण छ । त्यसैले काँग्रेसले ढिलाइ गर्नुहुँदैन् । काँग्रेस प्रतिपक्षमा होइन्, सत्तापक्षमा बस्नुपर्छ । हामी विपक्षमा बस्छौं भन्ने अधिकार जनताले काँग्रेसलाई दिएका छैनन् ।
यो स्मरण गरियोस् । पहिलो पार्टीले प्रतिपक्षमा बस्छु भन्ने मिल्छ ? साना पार्टीले देशलाई गन्तव्यमा पुर्याउन सक्दैन् भन्ने कुरा सबैले बुझिसकेका छन् । प्रचण्ड त यता मिलेर हुन्छ कि उता टाँसिएर, आफू प्रधानमन्त्री खाइरहने दाउमा छन् । प्रचण्डलाई तह लगाउन दुईटा दल एकजुट भए पुग्छ ।
अनुसा थापा

Facebook Comments Box
TOP
270 Shares