छामेकै भरमा मोटरसाइकल मर्मत

मकवानपुर । उमेर ५४ वर्ष । नाम सुदर्शन ढकाल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका–३ बसामाडीमा सडकको आडैमा सुदर्शनको घर छ ।

घरैमा पाली हालेर सञ्चालन गरिरहेका छन् ढकाल मोटरसाइकल वर्कसप । दुवै आँखा नदेख्ने उनी छामेकै भरमा मोटरसाइकल मर्मत गर्छन् । ३८ वर्षदेखि उनी यही ग्यारेजमा रमाइरहेका छन् । यही ग्यारेजबाट चलेको छ, घर संसार ।

छामेकै भरमा उनी सबै मोटरसाइकलको इन्जिन र पार्ट पुर्जा सही र बिग्रेको पत्ता लगाउँछन् । उनी मोटरसाइकल खोल्ने र फिट गर्ने काम पनि गर्छन् । ११ वर्षसम्म आँखैले हेरेर गरेको काम पछिल्लो २७ वर्षदेखि त्यही आदतले छामेकै भरमा गर्छन्, उनी । सुदर्शन भन्छन्, ‘केही स्टार्ट गरेपछि आवाजबाट समस्या पत्ता लाग्छ, केही छामेर पत्ता लाग्छ ।’ २०४२ सालदेखि ग्यारेजमा काम गरेका उनलाई २०५३ सालमा आँखाको समस्या देखिएको हो । आँखाको ज्योति गुमाउँदा पनि उनी पछिल्लो २७ वर्षदेखि छामेर र आवाज सुनेरै मोटरसाइकल मर्मतको सबै काम गर्दै आएका छन् ।

जति सानो पार्ट पुर्जा जोड्न पनि उनलाई कसैको सहयोग चाहिँदैन । स्टार्ट भएपछि त्यस आवाजले नै कहाँ के बिग्रिएको छ भन्ने उनी सहजै बुझ्छन् । ‘कुनै साधनचाहिँ स्टार्ट नभएर ल्याएको हुन्छ,’ उनले भने, ‘त्यसलाई स्टार्ट गराएर फलामसँग कुरा गर्छु अनि त्यसको भाषा बुझ्छु ।’ पार्ट पुर्जा फिट गर्न पनि सजिलै लाग्छ उनलाई । उनी भन्छन्, ‘एउटा पार्ट अन्त फिट हुँदैन, छामेरै सही ठाउँमा पुगिन्छ ।’

सबैभन्दा गाह्रोचाहिँ के गर्न हुन्छ ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘वायरिङको समस्या छ भने चाहिँ तार चिन्न समस्या हुन्छ, छामेर त रातो कालो तार चिनिँदैन, यस्तो बेलामा ग्राहक, श्रीमती वा छोरामध्ये को नजिक छ, उसैलाई सोध्छु ।’ तार जोड्नका लागि तारको रङ बताउनसक्ने बच्चा भए पनि आफूलाई सहयोग पुग्ने बताउँछन् उनी ।

पहिले र अहिले सवारीको पार्ट पुर्जा नयाँ, मोडल नयाँ तर उनलाई केही फरक लाग्दैन मर्मत गर्नमा । नयाँ मोडल भए पनि पेट्रोल इन्जिन नै भएकाले केही फरकफरक सिस्टम भए पनि समस्या नहुने उनी बताउँछन् । सिक्ने बेलामा जापानिज गाडी मर्मत सिकेका उनी अहिले सबै कम्पनीको मर्मतमा पोख्त छन् । १६ वर्षको उमेरमा सीप सिक्दा पनि उनले तालिम लिएका भने होइनन् । उनले भने, ‘क्याटलक हेरेर–पढेर सिकेको हुँ ।’ आजको राजधानी दैनिकबाट

Facebook Comments Box
TOP
296 Shares