७२ जिल्लामा फैलियो डेंगु, छैन कतै सतर्कता

काठमाडौं । मुलुकभर डेंगु संक्रमणदर बढ्दै जान थालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले ७२ जिल्लामा डेंगु फैलिसकेको जनाएको छ । ईडीसीडीका अनुसार जनवरीदेखि जुनसम्म ६ महिनामा डेंगुबाट संक्रमण हुनेको संख्या १ हजार ७ सय ७५ जना पुगेका छन् । आइतबारसम्मको तथ्यांक हेर्दा जुनमा मात्रै ९२ जना डेंगु संक्रमित देखिएका छन् ।

संक्रमित संख्या अझै बढ्नसक्ने संकेत देखिएको छ । तर, रोकथामका लागि पूर्वसतर्कता अपनाएको भने पाइँदैन । गत वर्ष जुलाई महिनापछि डेंगुबाट संक्रमित हुनेको संख्या ह्वात्तै बढेको थियो । अहिले पनि सतर्कता नअपनाए डेंगु संक्रमण बढ्नसक्ने चिकित्सकहरूको भनाइ छ ।

हालसम्म सबैभन्दा बढी बाग्मती प्रदेशमा डेंगु संक्रमित हुनेको संख्या धेरै देखिएको छ । बाग्मती प्रदेशमा मात्रै हालसम्म ४ सय ३ जना संक्रमित भएका छन् । त्यस्तै, दोस्रोमा कोशी प्रदेशमा २ सय ७७ जना संक्रमित भएका छन् भने गण्डकी प्रदेशमा १ सय ८७ जना र लुम्बिनी प्रदेशमा १ सय ३९ जना संक्रमित भएको रिपोर्ट सार्वजनिक भएको छ । त्यस्तै, मधेस प्रदेशमा ३४ जना, कर्णाली प्रदेशमा संक्रमितको संख्या १७ जना र सुदूरपश्चिम प्रदेशमा १ सय १८ जना डेंगुबाट संक्रमित भइसकेका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आइतबारसम्मको तथ्यांकनुसार हालसम्म १० जिल्लालाई डेंगु उच्च संक्रमित भएका जिल्लाको सूचीमा राखिएको छ । जसमा सबैभन्दा बढी काठमाडौंमा मात्रै १ सय २२ जना संक्रमित भएका छन् । त्यस्तै, झापामा १ सय ११ जना, चितवनमा ७४ जना, मकवानपुरमा ५८ जना, तनहुँमा ४६ जना, सिन्धुपाल्चोकमा ४४ जना, ओखलढुंगामा ४१ जना, डोटीमा ३० जना, रूपन्देहीमा २८ जना, भक्तपुरमा २७ जनामा संक्रमण भइसकेको छ ।

डेंगुको संक्रमण फैलिएपछि ७२ जिल्लाका सबै स्थानीय तहमा उच्च सतर्कता अपनाइएको महाशाखाले जनाएको छ । चिकित्सकका अनुसार हलुकादेखि उच्च ज्वरो आउने, मांशपेशीहरू अत्यधिक दुख्ने, टाउको दुख्ने, आँखा वा आँखाका गेडी दुख्ने, बान्ता हुने थकान र बेचैनी हुने एवं जोर्नीहरू दुख्ने यस संक्रमणका मुख्य लक्षण हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्ता लक्षण देखिएमा स्वास्थ्य संस्था जान आग्रह गरेको छ । आजको राजधानी दैनिकबाट

Facebook Comments Box
TOP
155 Shares