बैंक,वित्तिय संस्थाको आतंक बढ्दै,मुकदर्शक सरकार

सरकारी कार्यालय सार्वजनिक बिदाबाहेक बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म खुल्ला रहनुपर्ने कानूनी व्यवस्था छ । तर, कर्मचारीहरु बिहान १२ बजे आउँछन् अनि ३ बजे नै घरतिर लाग्छन्। यसबाट सर्वसाधारणमा पर्ने असरबारे कर्मचारीहरुलाई केही मतलब छैन । कर्मचारीहरु काम गर्न होइन, गफगाफ गर्न र दिन कटाउन कार्यालय आउने गरेका छन्।

त्यसमाथि सेवाग्राहीको काम त उनीहरु गर्दै गर्दैनन् । जनताले तिरेको करबाट तलबभत्ता, सेवासुविधा वा गाडी प्रयोग गर्छन् । यद्यपि, तीनै जनताको काम गर्न उनीहरु मान्दैनन् । एउटा सानो कामको लागि समेत महिनौं दिन अड्काउँछन् । यता, निजी संघसंस्था, प्राइभेट बैंक तथा वित्तियहरुमा काम गर्नेहरु बिहान ९ बजे नै कार्यालय पुग्छन् । र, बेलुका ७ बजेसम्म काम गर्छन् ।

कानूनमा समेत निजी संघसस्था, कम्पनीमा काम गर्नेहरुलाई समेत बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मात्र काम लगाउन पाइने उल्लेख छ । त्यस्तै, सार्वजनिक बिदाको दिन छुट्टी दिनैपर्छ । तर, निजी संघसंस्था, बैंक तथा वित्तिय संस्थामा काम गर्नेहरुलाई यस्तो छैन । उनीहरु तोकिएभन्दा बढी समय त काम गर्न बाध्य छदैं छन् सँगै तलब पनि कम दिइन्छ ।

यता, अहिले बजारमा अधिकांश सर्वसाधारण बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुले ऋणलाई राति १० बजे समेत फोन गरेर थर्काउने गरेको बताउँछन् । यति मात्र नभई सार्वजनिक बिदाको दिन समेत फोन गरेर टचर दिने, बिहानै ऋणीको घरमा आइपुग्नेजस्ता काम पनि गर्ने गरेको बताइन्छ । यसले ऋणीलाई थप पीडा दिएको छ ।

बैंक तथा वित्तिय संस्थाहरुको यस्तो टर्चरका कारण कतिपय ऋणी आत्महत्या मर्नुपर्ने अवस्थामा समेत पुगेका छन् । अनि उनीहरुले भोलि आत्महत्या गरे त्यसको जिम्मा कसले लिन्छ ? केही वर्षअघि उपत्यका बाहिर लघुवित्तबाट ऋण लिएकाहरु व्यक्तिहरु साहु वा लघुवित्तका कर्मचारीहरुका कारण दिनभर जंगलमा बस्ने राति मात्र घरमा आउने गरेको सुनिन्थ्यो ।

अहिले त काठमाडौं उपत्यकाभित्र यस्तो घटना सुनिन्छ । उपत्यकाभित्रै बैंक तथा वित्तिय संस्थाका कारण सर्वसाधारणमा आतंक सिर्जना भएको छ । दिनरात बैंकका कर्मचारीहरुले ऋणीलाई फोन गरेर थर्काउनुका साथै उनीहरुको घरमै पुगेर हातपात समेत गर्ने गरेको सुनिएको छ । हिजो घुस खाएर बढी ब्याज र सेवाशुल्क लिएर बैंकले कर्जा प्रवाह गर्यो ।

उदाहरणका लागि एक करोड ऋण दिँदा दश लाख घुस, दुई–तीन प्रतिशत सेवाशुल्क अनि ४८ प्रतिशतसम्म ब्याज लिए । घुस पाएपछि बैंकका सञ्चालक, कर्मचारीहरुले कमसल धितोलाई समेत करोडौं रुपैयाँ कर्जा प्रवाह गरे । सबै कर्जा घरजग्गा, गाडी र सेयरमै लगानी गरे । बैंक, वित्तिय संस्थाहरुले कृषकलाई कर्जा दिएनन् ।

उद्योगधन्दा खोल्न पनि कर्जा दिएनन् । दिए त घरजग्गा, गाडी र सेयरलाई मात्र । तर, केही वर्षयता यी क्षेत्रमा पनि मन्दी आएपछि बैंकको टाउको दुखेको हो । हिजो चार हजार कित्तामा किनेको सेयर अहिले सय रुपैयाँमा बिक्री हुन्न । करोडमा किनेको घरजग्गा र गाडी पनि लाखमा बिक्री हुँदैन । ऋणीले धितो बेचेर बैंकको ऋण चुक्ता गर्न चाहेपनि धितो किन्ने कोही छैन । बजार पूरै मन्दीमा छ ।

अहिले दैनिक होस् या सप्ताहिक पत्रपत्रिकामा घरजग्गा, गाडी र सेयर लिलामीका सूचना यत्तिकै देखिन्छन् । यो पत्रिकामा निकाल्दा लागेको पैसा पनि बैंकले ऋणलाई नै तिराउँछ । बैंक, वित्तिय संस्थाहरु अहिले ऋणीहरुलाई असार मसान्तभित्र रकम चुक्ता गर्न दबाब दिइरहेका छन् । नत्र धितो लिलाम गर्ने, तीन पुस्ता पत्रिकामा निकाल्नदिने र कालोसूचीमा राख्ने भनेर डर, त्रास देखाइरहेको बताइन्छ ।

जोकोहीले पनि ऋण लिएपछि त्यो तिर्नैपर्छ । तर, ऋण लिएकै भरमा उसलाई दिनरात धम्क्याएर आत्महत्या गर्नुपर्ने अवस्थामा पुर्याउने अधिकार कसैसँग पनि छैन । कानूनले समेत बैंक तथा वित्तिय संसथालाई ऋणीले ऋण तिर्न नसके उसको धितो कानूनसम्बत लिलाम गर्ने अधिकार दिएको छ । यद्यपि, बैंक, वित्तिय संस्थाहरु धितो त लिलाम गर्छन् नै सँगै ऋणीलाई यति टर्चर दिन्छन् कि उस आत्महत्याको बाटोतिर लाग्छ ।

यहाँ करोडौं मानिसले बैंक तथा वित्तिय संस्थाबाट ऋण लिएका छन् । ९९ प्रतिशत सर्वसाधारणको घरजग्गा, गाडी र सेयर बैंक तथा वित्तिय संस्थाकै नाममा छ । हिजो बैंक, वित्तिय संस्थाहरुले आफ्नो फाइदाका लागि मिठो बोलेर, हाँसीहाँसी ऋण भिडायो । आम नागरिकले पनि विश्वास गरे अनि बैंकले भनेजसरी ऋण लिए । करोड मूल्य पर्ने धितो राखे ।

तर, सीधासाधी जनताले बैंक, वित्तिय संस्थाको रणनीति बुझेनन् । बैंक तथा वित्तिय संस्थाहरुले पहिल्यै ऋणको तीन किस्ता तिर्न नसके धितो लिलाम गर्ने भनेर कागजपत्र गराएका हुन्छन् । यता, ऋण दिने बेला चाँहि जहिले तिरेपनि हुनेजसरी फर्काउँछन् । अनि तीन किस्ता नतिर्नेबित्तिकै दिनरात फोन गरेर धम्क्याउनुका साथै करोडको धितो लाखमै पचाइदिन्छन् ।

अहिले ऋणी अर्थात् व्यक्तिको सबै चलअचल सम्पत्ति बैंक तथा वित्तिय संस्थाहरुले आफ्नो नाममा लगिसकेका छन् । यसले सुकुम्बासी समेत बढ्दै गएका छन् । कोही आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेका छन् त कोही बाटोमा माग्नुपर्ने अवस्थामा पुगेका छन् । यो राष्ट्रिय समस्या नै बनेको छ । सर्वसाधारण जनता भन्छन्, ‘बैंक, सहकारी, लघुवित्त र फाइनान्स चोर, ठग, दलाली हुन् ।

तर, राज्य यो कुरा सुन्न तयार छैन । सरकारलाई जनताको मतलब छैन । दलाली, माफियाप्रति सरकार लागेको छ । यीनीहरुकै मतमा सरकार निर्णय गर्छ । बैंक, वित्तिय संस्था ठग, चोर हुन् भनेर जनताले बुझिसकेका छन् । त्यसैले, यसप्रति सर्वसाधारणको विश्वास घट्दै समेत गएको छ । चार दलालीहरुले करोडौं जनताको घरमा रुवाबासी गराएका छन् ।

बैंक, वित्तिय संस्था दलाली, घरजग्गा दलाली, गाडी दलाली र सेयर दलालीहरुका कारणआज करोडौं जनता घरबारविहीन भएका छन् । उनीहरु सडकछाप बनेका छन् । बैंक तथा वित्तिय संस्थाबाट घरजग्गा, गाडी र सेयर धितो राखेर ऋण लिएकाहरुलाई अहिले मर्नु कि बाँच्नु भइरहेको छ । यता, बचतकर्तालाई पनि यस्तै भएको छ ।

सहकारी भाग्यो । करोडौं बचतकर्ताको खर्बौ रकम सहकारीमा डुबेको छ । सहकारीकै कारण बचतकर्ताहरुको सडकमा बास भएको छ । अहिले बैंकमा बचत गरेका बचतकर्ताहरुमा समेत त्रास बढ्दै गएको छ । सहकारीजसरी कतै बैंक पनि त भाग्ने होइन भन्ने डर सर्वसाधारणमा बढ्दै गएको छ । अर्कोतर्फ बैंककै कर्मचारीले बचतकर्ताको रकम चोर्न थालेपछि त यसले झनै विश्वास पाएको छ ।

अहिले बैंकले धितो त धमाधम लिलाम गरिरहेको छ । तर, त्यो किन्ने कोही छैन । अब बजारमा झन् मन्दी आउँछ भनेर आम सर्वसाधारणले थाहा पाइसकेका छन् । अहिले बैंक, वित्तिय संस्थाको दर्ता खारेज गर्नुपर्छ भनेर जनआवाज उठिसक्यो । यद्यपि, सरकार सुनिरहेको छैन । सरकार अहिले पनि दलाली, माफियाकै हितमा लागेको छ ।

सरकारले अब कि त बैंक तथा वित्तिय संस्थाको आतंक बन्द गर्नुपर्छ । होइन भने ऋणीहरु सबै सडकमा उत्रिने छन् । जनताबाट चुनिएर आएका जनप्रतिनिधि र राजनीतिक दलहरु पनि बैंक तथा वित्तिय संस्थाको विरोधमा बोल्नुपर्छ ।रुषा थापा

Facebook Comments Box
TOP
344 Shares