लाइसेन्स किनबेच र सेटिङको जालो च्यातिँदै

काठमाडौं । यातायात क्षेत्रमा लामो समयदेखि रहँदै आएको लाइसेन्स किनबेच र सेटिङ धन्दाको जालो च्यातिएको छ। यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले केही महिनाअघि लाइसेन्स वितरणमा लामो समयदेखि हुँदै आएको अनियमितता रोक्न छानबिन समिति बनाएर अवैध लाइसेन्स वितरण र सेटिङ धन्दाको नालीबेली पत्ता लगाउनुभएको थियो।

महानिर्देशक रिजालले विभागका आईटी निर्देशक मुकेश रेग्मीको संयोजकत्वमा सीआईबी प्रतिनिधिको समेत सहभागितामा छानबिन समिति बनाएर व्यापक छानबिन गर्दा १ लाखभन्दा बढी लाइसेन्स अवैध किसिमले वितरण भएको पत्ता लागेको थियो।

विभागका आईटी निर्देशक रेग्मी नेतृत्वको छानबिन समितिले दिएको प्रतिवेदनलाई महानिर्देशक रिजालले कार्यान्वयनमा ल्याउँदै प्रतिवेदनका आधारमा थप विषय छानबिन गर्न सो प्रतिवेदन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष पठाउनुभएको थियो ।

सोही प्रतिवेदनका आधारमा सीआईबीले नक्कली लाइसेन्स वितरणमा संलग्न कर्मचारी र बिचौलियाहरूको खोजी गर्दै आइरहेको थियो । सोही क्रममा कैयांै कर्मचारी सीआईबीद्वारा पक्राउ परेका थिए। यसैक्रममा नक्कली लाइसेन्स धन्दा सञ्चालन गर्ने गिरोहका नाइकेहरूविरुद्ध सरकारी वकिल कार्यालय काठमाडौंले मंगलबार मुद्दा दायर गरेको छ।

मुद्दा दायर गरिएकाहरूमा यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीन प्रमुख (हाल वन मन्त्रालयका उपसचिव) केशव अर्याल, सोही मन्त्रालयमा कार्यरत शाखा अधिकृत सुवास पौडेल, यातायात कार्यालय नवलपरासीमा कार्यरत कम्प्युटर अधिकृत पदमराज आचार्य, यातायात कार्यालय चितवनमा कार्यरत सहायक कम्युटर अपरेटर राजेश लम्साल, यातायात कार्यालय जनकपुरमा कार्यरत सहायक कम्युटर अपरेटर दिलिपकुमार साह, केशव पौडेल रहेका छन् । आजको नेपाल समाचारपत्र दैनिकबाट

Facebook Comments Box
TOP
471 Shares