कैलाश तिर्थयात्रा : कष्टपूर्ण परिक्रमा, गैर जिम्मेवार एजेन्सी

मधु लम्साल ———-

हिन्दु धार्मीक ग्रन्थ अर्थात चर्चित पुराण ‘श्री स्वस्थानी’ ब्रतकथामा हिमालय पर्वत कैलाश र मानसरोवर बारे विभिन्न सन्दर्भमा रोमान्चक कथा सामाग्री प्रस्तुत गरिएको छ । हिन्दु धर्मालम्बीका आराध्यदेव भगवान महादेव र देवी पार्वती, पुत्रहरु श्रीगणेश र कार्तिकेको बासस्थानका रुपमा कैलाश पर्वतलाई लिएको पाइन्छ भने मानसरोबरलाई महादेवले हंशरुप धारण गरी जलविहार गरेको लगायत कथा ‘श्री स्वस्थानी’ ब्रतकथामा उल्लेख छ । हिन्दु धार्मीक कहावत अनुसार देवताहरुले मानसरोबरमा स्नान गरेर मात्रै कैलाशमा महादेवको दर्शन गर्थे रे ! त्यसैले पनि कैलाश अनी मानसरोबरको महिमा हिन्दु, बौद्ध, जैन, शिख, ओमकार लगायत धार्मीक अनुयायीले गाउने / पछ्याउने गरेको पाइन्छ ।
धार्मीक एवम् आध्यात्मिक बिचारबाट प्रभावित व्यक्ति त्यसमा पनि बच्चैदेखि ‘श्री स्वस्थानी’को कथा श्रवण गर्दै आएकाले पनि पंक्तिकारको मानसपटलमा कैलाश र मानसरोबरले राम्रै स्थान ओगटीरहेको थियो । यसै सन्दर्भमा पूर्व प्रहरी महानिरीक्षक अच्यूतकृष्ण खरेललाई म आफूले आदर्श व्यक्तिका रुपमा मान्दछु । उहाँलाई अभिभावक नै ठान्छु । उहाँसँग प्राय:जसो भेट भइरहँदा विभिन्न धार्मीक विषयवस्तुमा चर्चा हुनेगर्छ । २०८० सालको वर्षातको कुनै एक दिन खरेलसा’पले आफू कैलाश जाने इच्छा गरेको सुनाउँदै पंक्तिकारलाई पनि जाने सन्दर्भमा ‘के छ इच्छा ?’ भनेर सोध्नुभयो । यदाकदा सिद्धहस्त योगीको दर्शनका लागि म उहाँसँग जाने गरेको थिएँ । तर, एक्कासी पवित्र तिर्थस्थल कैलाश दर्शनको प्रस्तावले पंक्तिकार अवाक नहुने कुरै भएन । उहाँले भन्नु भयो, ‘तिमीसँगै भए म पनि र परिवार पनि ढुक्क ।’
भौगोलिक अवस्थाले उच्च स्थानमा अवस्थित कैलाश हिमपर्वतको परिक्रमालाई सामान्यरुपमा लिन यसै पनि मिल्दैन । त्यसमा पनि साढे सात दशक उमेर पार गरिसक्नु भएका उहाँमा देखिएको जोश र कैलाशको दर्शन गर्ने तिथिमिति नै तय गरिसकेको अवस्थामा खरेल सा’पको उत्साहलाई मैले पनि ‘उच्च सतर्कता अपनाउनु पर्ला’ भन्ने सुझाव सहित हौशला प्रदान गर्नै पर्यो । वास्तवमा भन्नु पर्दा कैलाश परिक्रमा गर्न जाने उमेर त्यो थिएन । आध्यात्मीक मन, धार्मीक निष्ठा भएपछि उमेरले छेक्दो रहेनछ । आफूलाई आएको प्रस्ताव उपर ‘हुन्छ र हुन्न’ भन्न पंक्तिकार अकमकाई रहेको अवस्थामा उमेरले डाँडो काटिसकेका खरेल सा’पमा देखिएको उत्साह, आँटले बरु पंक्तिकारलाई लज्जाबोध तुल्याइरहेको थियो । तर, आफ्नै केही कार्य व्यस्तताले तोकिएको समयमा तिर्थ जाने समयलाई बशमा लिने बारे तत्काल निर्णय गर्न नसक्दा मन अलमल भइरहेको थियो । खरेल सा’पले ‘जाने इच्छा छ भने भनिहाल, समय धेरै छैन, जनैपूर्णीमाको दिनमा त्यहाँ पुगिसक्ने हो ।’ उहाँले त्यती भन्दानभन्दै पूर्व निर्धारित दिनमा आफू जान नसक्ने बताउन बाध्य भएँ । कैलाश दर्शनको अवसर सदुपयोग गर्न नसक्ने बताइरहँदा मन खिन्न भइरह्यो । कार्य व्यस्तता यस्तो थियो कि निर्धारित दिनमा जान सक्ने वातावरण मिलाउने खालकै थिएन ।
भोली पल्ट आफूलाई आएको प्रस्ताव बारे पंक्तिकारले आदरपूर्वक अभिभावक मान्ने शंकर गुरुङलाई खरेल सा’पले राखेको प्रस्ताव बारे सुनाउँदै आफू जान असमर्थ भएकोमा नमज्जा लागेको बताउँदै गर्दा दाई शंकरले भन्नुभयो, ‘मन नबिगार अर्को वर्ष सँगै जाउँला ।’
दाई शंकरबाट त्यती सुन्ने बित्तीकै पंक्तिकारको शिथिल शरिरमा उर्जा पुन: प्रवाहित हुन थाल्यो । ईश्वरले भन्छन् रे- ‘तँ आँट म पुराइदिन्छु ।’ साच्चिकै कैलाशको दर्शन सोचमै थिएन । सायद ईश्वरले नै डाक्नु भएर हो कि ? प्रतिक्षाको यो पछिल्लो एक वर्ष मेरो मानसपटलमा कैलाश र मानसरोबरले डेरै जमाएको थियो । खरेल सा’पले उस्काउनु भो, अनी शंकर दाईले त्यो चाहाना पूरा गरिदिने बचन दिनुभो । जसोतसो मानसरोबरमा स्नान अनी कैलाशको परिक्रमा गरेर सकुशल फिर्ता भइयो, अच्यूत खरेल अनी शंकर गुरुङ दुबै अभिभावकप्रति कृतज्ञ छु ।

कैलाश लैजान तँछाड-मछाड तर, छैन जिम्मेवारी

हुनत सामाजिक सञ्जालमा कैलाश मानसरोबरको दर्शन गराउने प्रलोभनयुक्त विज्ञापन छरपष्ट देखिन्छन् । व्यवसायीकरुपमा गरिएका त्यस्ता विज्ञापनले कैलाशको दर्शन सहज लाग्छ । व्यवसायीबीच दर्शनार्थीलाई प्रभावमा पारेर आफ्नोमा तान्न एक प्रकारको तँछाड-मछाड नै छ । अस्वस्थ प्रतिस्पर्धाले गर्दा आवश्यक गराउनै पर्ने जानकारी पनि ती व्यवसायीले इच्छुक दर्शनार्थीलाई गराइरहेका हुन्नन् । तोकीएको खर्चको जोहो गर्न सके जो पनि सहजै कैलाश परिक्रमा गरेर आइन्छ भन्ने भ्रम सामाजिक सञ्जालमा देखिएका विज्ञापनले पार्छ । तर, विज्ञापन गरिएजस्तो कैलाश परिक्रमा सहज भने छैन । व्यापार गर्ने नाममा व्यक्तिको संख्या संकलन गर्न गरिएका विज्ञापनले कैलाशको दर्शनका लागि इच्छुक दर्शनार्थीलाई कैलाश परिक्रमा बारे यथार्थ जानकारी नगराइनु नै प्रथमत व्यवसायीक संस्थाहरुको बदमासी मात्रै होइन, ठगी नै जस्तो लाग्छ ।
इच्छुक व्यक्तिलाई विभिन्न स्थानमा घुमाउने, डुलाउने नाममा खुलेका ट्राभल एजेन्सी भनौं वा ट्रेकिङ एजेन्सीले आफ्नो कम्पनीबाट लैजान लागिएको स्थानको भौगोलिक अवस्था र मौसमको अनुकुलताका सन्दर्भमा सामान्य जानकारी दिए पनि मौसम प्रतिकुलताको अवस्थामा अति आवश्यक बन्दोबस्तीका सामाग्री साथमा लैजाने बारे यथेस्ट जानकारी गराइनु पर्ने हो । तर, कैलाश दशनार्थीलाई त्यस्तो सन्दर्भमा केही जानकारी गराउने गरिएको पाइन्न । चाहे आफूलाई उच्च व्यवसायीक कम्पनी मान्नेहरु होउन वा सामान्य ‘सिजनेवल’ कम्पनी नै चलाएर बसेकाहरु किन नहोऊन् । केही एजेन्सी त त्यस्ता पनि फेला परे जसले आफ्नो सम्पर्कमा पुगेको दर्शनार्थीलाई उबाट असुलेको रकम मध्ये आफ्नो कमिशन काटेर अर्को एजेन्सीको जिम्मा लगाउने । तिर्थयात्रीबाट महंगो शुल्क असुल्ने केही एजेन्सीले समान राख्ने व्याग र फिर्ता गर्ने गरी चिसोमा लगाइने ‘डाउन ज्याकेट’ उपलब्ध गराउने गरेता पनि हिमपात भएको बेला वा पानी परेको अवस्थाको लागि बन्दोबस्तीका केही पनि समान उपलब्ध गराउने गरेका हुन्नन् । न त त्यस्तो अवस्था पनि आईपर्न सक्छ भन्ने जानकारी नै दिन्छन् । त्यस्तो अवस्था आईपरेमा चाइनाबाटै आएको समान भए पनि काठमाडौंको बजारमा भन्दा ३ गुणा बढी मुल्यमा स्वयम् दर्शनार्थीले नै खरिद गर्न बाध्य हुनुपर्छ । तिर्थयात्रीको सहयोगका लागि भनेर जाने सहयोगी गाइडको व्यवहार कतिपय अवस्थामा पाच्य हुन सक्दैन । अचानकको हिमपात वा वर्षातका बेलामा पनि केहीबेर कुर्ने वा अलमल गर्ने सुविधा समेत ती सहयोगीले खोसीदिन्छन्, उनीहरुकै शैलीमा, तोकिएकै स्थानमा पुग्नै पर्ने हुकुम तिर्थयात्रीमाथि चलाउँछन् ति सहयोगी भनाउँदाहरु । थाकेर, हिँड्न नसकेर पछि परेको यात्रीलाई हिँड्न हौशला दिनु त परैको कुरा आफू नै अघि लाग्ने गर्छन् । भन्छन्, ‘यती गरेन भने हिँड्नै खोज्दैनन् ।’

कैलाश परिक्रमाको सिजन, दर्शनार्थी अनी चेकजाँच

उच्च हिमाली भेग भएकाले हिउँ पर्नु अघि अर्थात् जुन, जुलाई, अगस्ट र सेटेम्बर (जेठ, असार, साउन, भदौं) लाई कैलाश परिक्रमका लागि उचित समय मानिन्छ । चैत्र-वैशाख हावाहुरीको सिजन भएको र भाद्र तेस्रो सातादेखि चिसो बढ्ने भएकाले त्यसबीचको अवधि कैलाश परिक्रमाका लागि उत्तम मानिन्छ ।
चार-पाँच वर्ष अघिसम्म भारतीय दर्शनार्थीको भिड लाग्ने कैलाश मानसरोबरमा हिजोआज ४० प्रतिशत स्थानीय टिबेतियन, ३० प्रतिशत नेपाली, १५ प्रतिशत विभिन्न देशको राहदानी प्राप्त गरेका गैरभारतीय नागरिक (एनआरआई) र १५ प्रतिशत ट्रेकिङका लागि आउने विदेशी नै हुन्छन् । तिब्बतबासी बौद्धधर्म प्रति निकै आस्थावान् छन्, तर समग्र चिनबासीले धर्मप्रति त्यती चासो राख्दैनन् । केही वर्ष यता भारत-चिन बीच सिमाकै विषयलाई लिएर सम्वन्धमा चिसोपना आएपछि चिनले भारतीय नागरिकलाई तिब्बत अर्थात कैलाश मानसरोबरका लागि प्रवेशाज्ञामा रोक लगाएको छ । त्यसो त सिमामा रहेका नेपालीलाई पनि निश्चित किलोमिटर भन्दा अगाडी बढ्न दिएको छैन ।
चिनको तिब्बत क्षेत्रमा पर्ने कैलाश मानसरोबरको दर्शन गर्न जाने तिर्थालुले व्यक्तिगत ‘भिषा’ पाउँदैनन् । उनीहरुले ‘ग्रुप भिषा’ लिनु पर्छ । ग्रुपमा कम्तीमा चार जना हुनै पर्ने । ‘भिषा’ भएर पनि स्थानीय एजेन्ट अर्थात् गाइड बिना प्रवेश नपाइने । सिमानाकामा चेकजाँच विमानस्थलकै शैलीमा हुन्छ । चेकजाँचका क्रममा चिन सरकारका लागि घाँडो मानिएका हाल भारतमा प्रवास जिवन बिताइरहेका बौद्ध धर्मगुरु दलाई लामाको तस्विरसम्म देख्न नहुने । जुनसुकै भाषामा लेखिएका पत्रपत्रिका, नक्सा, पुस्तक लगायतका जानकारीमुलक सामाग्री चेकजाँचका क्रममा बोर्डरमै खोसीने । मोवाइल, ल्यापटपमा कहीँकतै दलाई लामाको तस्वीर देखा पर्यो भने त्यो व्यक्तिले प्रवेश पाउन सम्भवै छैन । मोवाइल र ल्यापटप नियाली नियाली हेर्दा लाग्छ, उनीहरुका लागि दलाई लामा कति टाउको दुखाइँका रहेछन् ? नाकाबाट इन्ट्री पाइसकेपछि पनि राजमार्गको ठाउँठाउँमा चेकपोष्ट, त्यहाँ पनि ‘इन्ट्री प्रमीट’ देखाउनै पर्ने अनी गाईड पनि साथमै हुनु पर्ने ।
कैलाश मानसरोबरको परिक्रमाका लागि १० देखि १२ दिनको समय छुट्याइन्छ । नेपाली दर्शनार्थीबाट एजेन्सीले १ लाख पचास हजार देखी १ लाख सत्तरी हजारसम्म असुल्ने गरेको पाइन्छ । त्यो पनि रसुवा नाकाबाट लैजादा । यात्रुको सुविधाका लागि नेपालगन्जबाट सिमिकोट जहाजमा, त्यहाँबाट हिल्सा नाकासम्म हेलीकप्टर अनी त्यहाँबाट सवारी साधनमा लैजाने पनि केही एजेन्सीले व्यवस्था मिलाएका रहेछन्, यसका लागि प्रति व्यक्ति २ लाख ६० हजार असुल्दा रहेछन् । तर, ट्रेकिङमा आएका विदेशी नागरिक र दर्शनकै लागि जाने गैरभारतीयसँग भने एजेन्सीवालाले राम्रै मोलमोलाई गर्ने गरेको पाइयो ।

आश्चर्य लाग्दो, यती ठूलो होटलमा पनि एउटै शौचालय छैन । उस्तै उस्तै डिजाइनका होटल माथिको जुथुलपुक र तलको दिरापुकका हुन् । एउटा होटलमा २५० देखि ३०० सम्म यात्रुले बसोबास गर्न मिल्छ । होटलमा बास बस्ने सबै पाहुनाले बाहिर खुला स्थानमा शौच गर्नु पर्ने हुन्छ ।

कैलाश परिक्रमा र भौगोलीक अवस्था

कैलाश मानसरोबर तिर्थयात्राका क्रममा चिनको तिब्बत क्षेत्र प्रवेश गर्ने नेपालका थुप्रै नाका छन् । त्यसमा प्रमुख रसुवाबाट केरुङ नाका हुँदै होस् वा बाह्रविसेको खासा नाकाबाट अथवा मुस्ताङको कोरला नाकाबाटै किन नहोस्, यो नाकाबाट प्रवेश गरेपछि साघा शहर वरपरको राजमार्गमा जोडिन पुगिन्छ भने सिमिकोटको हिल्सा नाकाबाट प्रवेश गर्दा दार्चेन नजिकको हाइवेमा मिसिने रहेछ । त्यसो त विवादीत लिम्पीयाधुरा अर्थात लिपुलेकबाट पनि कैलास मानसरोवर नजिकै पर्दो रहेछ । समुद्र सतहबाट झण्डै ४५६० मिटर उचाइँमा रहेको मानसरोवरमा स्नान अनी पूजामा सरिक भइसकेपछि सुरु हुन्छ कैलाशका लागि परिक्रमा यात्रा । भौगोलिकताको दृष्टिले ४५६० मिटर उचाइँ आम नेपालीका लागि अनुकुल नै मान्न त सकिन्न, तापनि सवारी साधन चढेरै गइने हुँदा त्यहाँसम्मको यात्रा खासै प्रतिकुल देखिन्न । कैलाश यात्राका लागि त्यहाँ पुग्ने व्यक्तिको अक्सीजन लेवल ७५ भन्दा माथि नै हुनु पर्ने हुन्छ । कैलाश यात्राका क्रममा दार्चेन (४६७० मिटर) उचाइँसम्म खासै जानकारी नगराइने भएता पनि ;अल्टीच्यूट’ अर्थात लेक लाग्न सक्ने सम्भावनालाई ख्याल गर्दै साघा शहरमा १-२ दिन विश्राम गराउने गरिँदो रहेछ । खासगरी मानसरोवर पुगेपछि मात्रै स्वास्थ्य समस्याका बारे ‘यसो र त्यसो’ भनेर त्रास देखाइदिने आफूसँगै गएका गाइडसँग विवाद गर्ने दर्शनार्थीको संख्या पनि कम देखिन्न । स्वास्थ्य समस्याका कारण त्यहाँबाट अघि बढ्न नसक्ने अवस्था आईपरे पनि आफूले बुझाएको पैसा फिर्ता हुने होइन । बरु, उल्टै ती गाइडले तपाईंलाई माथि होटल बुक गरेको छ, त्यहाँ बुझाएको पैसा फिर्ता हुन्न अनी यहाँ पनि होटलमा बसेको रुमको पैसा तिर्नु पर्ने हुन्छ भन्दै थप रकम असुल्ने गरेको पनि देखियो ।
कैलाश परिक्रमा अन्तर्गतको तीन दिने पैदल यात्राको क्रम यमद्धारबाट सुरु हुन्छ । दार्चेनबाट यमद्धारसम्म सवारी साधनमा पुगिन्छ । समुद्र सतहबाट यमद्धारको उचाइँ ४८५० मिटर छ । ७-८ घन्टा लगाएर १५ किलोमिटरको पैदलयात्रा तय गरेपछि ५२ सय मिटर उचाइँको दिरापुकमा पुगिन्छ । त्यस दिनको बास त्यही दिरापुकमा हुन्छ । यस बिचमा एउटा मात्रै ‘टि-सप’ अर्थात् खाजा खाने स्थान छ । उत्तरी मोहडाबाट कैलाशको भव्य दर्शन गर्न सकिने यो ठाउँसम्म स्वस्थ व्यक्तिले खासै समस्या भोग्नु पर्दैन । यद्यपि, हिँड्न नसक्नेहरु भने घोडा सवारी प्रयोग गर्छन् । यहाँसम्मको घोडा सवारीको झण्डै १५ सय घुर्मी अर्थात् ३० हजार नेपाली रुपैया बुझाउनु पर्छ । कैलाशको नजिकबाट दर्शन गर्ने अभिलाषाले दर्शनार्थीहरु यहाँसम्म जसै पुग्न चाहान्छन् । यहाँबाट अघि बढ्न नसक्नेहरु एम्वुलेन्सबाट दार्चेन फिर्ता हुने सायद स:शुल्क व्यवस्था छ । यमद्धारबाट अघि बढेका तिर्थालुलाई सबैभन्दा समस्याको विषय शौचको हुन्छ । विश्वभर खुला दिशापिसाव मुक्त अभियान तिब्रताका साथ चलिरहेको अवस्थामा तिर्थालुहरु खुला शौच गर्न बाध्य हुन्छन् । यतीसम्मकी झण्डै २-३ सय यात्रु बास बस्ने क्षमता रहेको होटलमा समेत शौचालयको व्यवस्था छैन । सिंगो चिन सरकार, तिव्वत प्रदेशिक सरकार वा स्थानीय सरकारको समेत किन त्यतातर्फ ध्यान नपुगेको हो वा हिन्दु-बौद्ध धर्मालम्बीप्रति गरिएको उपेक्षा हो ? बुझ्न सकिएन ।
कैलाश परिक्रमाका क्रममा सबैभन्दा कठिन र जटिल दोस्रो दिनको पदयात्रालाई मानिन्छ । दिरापुकबाट सुरु हुने परिक्रमा पैदलयात्रा जुथुलपुक पुगेर रोकिन्छ । ५२ सय मिटर उचाइँबाट सुरु हुने दोस्रो दिनको परिक्रमा यात्रा झण्डै ५६ सय ५० मिटर उचाइँको डोल्माला पास हुँदै ११-१२ घन्टा लगाएर १८ किलोमिटरको उकाली ओराली यात्रा ४७ सय ६० मिटरको जुथुलपुकमा पुगेर स्थगित हुन्छ । यसबीचमा पनि १ ठाउँमा मात्रै ‘टि-सप’अर्थात खाजा खाने ठाउँ भेटिन्छ । यस दिनको पदयात्रालाई ‘डेन्जर जोन’का रुपमा राखिएता पनि उद्दार एवम् आरामस्थलको अभाव देखिन्छ । घोडा सवारीले दिरापुकबाट डोल्मालासम्मको उकालो चढाएको यहाँ पनि २ हजार घुर्मी अर्थात ४० हजार नेपाली रुपैया असुल्दा रहेछन् । आफ्नै शरिर भारी लाग्ने यो यात्राका क्रममा साथमा लगेको ५-७ केजीको झोला पनि आफूलाई घाँडो लाग्ने, भरियालाई बोकाउँदा त्यही सानो झोलाको पनि ५-७ सय घुर्मी दश-बाह्र हजारको ‘डिमाण्ड’ गर्ने अवस्था रहेछ । पहिलो दिन र दोस्रो दिनको पैदल परिक्रमाका दिन आफूलाई लैजाने एजेन्सीले दिएको ‘लन्च प्याकेट’ सम्झँदा पनि ‘कठ्ठै’ भनेजस्तो लाग्छ । ‘ब्रेकफास्ट’ र ‘डिनर’ पनि उस्तै । झन् हिँड्न शक्ति चाहीने बेलामा टिठ लाग्दो खान्की ! पैसा तिरेर पनि ‘टि-सप’मा शाकाहारी खाना नपाइने ! खानाको सन्दर्भमा एजेन्सीले साथ लगाएर पठाएका गाइडसँग कुरा गर्दा उनीहरुले होटल-रेस्टुरेन्टले नेपाली स्वादको खाना नदिने आफूहरुले खाना तयार गर्ने भाँडाकुडा बोकेर ल्याउन नसक्ने जवाफ दिन्छन् । हिमाल आरोहण गरेकै आभाष दिलाउने दिरापुकबाट जुथुलपुक जाने पैदलमार्ग कस्तो होला ? त्यसमा पनि हिउँ परेको बेला, बाटो नदेख्दाको अवस्थामा त्यो यात्रा कसरी तय गरिएको होला ? अहिले सम्झँदा पनि आङ्ग सिरीङ्ग हुन्छ ।
पंक्तिकार लगायतको टोली दिरापुकबाट जुथुलपुक यात्रा सुरु गर्नु अघि नै हिऊँ परिरहेको अवस्था । ‘यस्तोमा कसरी जान सकिन्छ ?’ भन्ने जिज्ञांसामा गाईडको भनाइँ गैरजिम्मेवार लाग्छ । ‘जसरी भए पनि जानै पर्छ । यहाँ हाम्रो लागि आज बस्ने व्यवस्था हुन सक्दैन । उता, जुथुलपुकमा पनि रुमको पैसा बुझाइसकेको हुन्छ ।’ गाइडको भनाइँ सुन्दा पैसाकै लागि ज्यान जाखिममा राख भनेजस्तो लाग्छ ।
दिरापुकबाट विहान झिसमीसेमा उकालो चढ्दै गर्दा डोल्माला पास आउला छैन, आउला छैन । उकालोमा कमिलाको ताँतीजस्तै एकपछि अर्को पाइला ! यात्राको क्रम जारी । हिउँले जताततै सेताम्मै । के को बाटो देख्नु ? कहीँकतै त अनुमान लगाएर अगाडी चालेको पाइला हिउँमै भासिने । त्यो बेला कैलाश परिक्रमा गर्दैछौं भन्ने भुलेर हिमाल आरोहण पो गरिरहेछौ जस्तो भान पर्थ्यो । परिक्रमा यात्रा गरिरहेका कोही पैदलयात्रीको रुवावासी, कोही चिप्लीएर उत्तानो परेका छन्, कोही लतारिएर, धसारीएर हिउँसँगै हिलाम्मे भएका छन् । कोही घाइते । कोही अघि बढ्न नसकेर आकुल-व्याकुल अवस्थामा । हिमपातकै अवस्थामा पनि कसैले साथमा लगेको अक्सिजन लिइरहेको अवस्था । मुस्कीलले चढेको उकालो पछि ओरालो झर्दा झनै मोल्नु पर्यो खतरा । दिरापुक र डोल्मालाको बिचमा रहेको एउटा ‘टि-सप’मा सामान्य वर्षादीको मुल्य २ सय घुर्मी रे । जवकी त्यसको नेपालमा २ सय रुपैया पनि पर्दैन । त्यहाँका व्यापारी पनि मौकाकै फाइदा उठाउने खालका । जुथुलपुकमा पनि देख्नमा आकर्षक विश्रामगृह अर्थात होटल । तर, त्यहाँ पनि खुला शौचालय अर्थात् छैन शौचालय । जसोतसो रात काटेर भोली पल्ट झिसमिसेमै दार्चेनतर्फको यात्रा । झण्डै साढे दुई घन्टाको यात्रापछि दार्चेनमा खाना खाएर सवारी साधनमा फिर्ताको क्रम निरन्तर …।
र, अन्त्यमा हिन्दुलगायत धर्मालम्वीले महान् एवम पवित्र ठान्ने तिर्थस्थलमा पुगेर पनि आफ्नो घरपरिवार, नातागोता, साथीभाई, शुभेच्छुकलाई तिर्थस्थलको सम्झना स्वरुप उपहार वा चिनोका रुपमा किन्ने समान नपाउनु, त्यत्रो तिर्थस्थलमा शिवालय, मठमन्दिर कहीँकतै नहुनु, दैनिक हजारौं धार्मीक पर्यटकले पदयात्रा गर्ने पवित्र तिर्थस्थलप्रति चिन सरकारले उपेक्षा गरेजस्तो लाग्नुले पनि मन केही खल्लो बनिरह्यो ।

Facebook Comments Box
TOP
287 Shares