काठमाडौंकै सिडीयो अफिसमा घुस्याहा कर्मचारीको संगठीत व्यवहार: नयाँ नागरिकता लिन आउने सेवाग्राहीमाथि झण्झट

                                                काठमाडौं । जिल्ला प्रशासन कार्यालय त्यो जिल्लाको सरकारी कार्यालयको हेड । जिल्लाभरीका सरकारी, अर्धसरकारी तथा नीजि क्षेत्रबाट समेत भए गरेका ढिलासुस्ती, अनियमितता एवम् गैरक्रियाकलाप बारे चेकजाँच गरी आवश्यक कारवाही गर्ने अख्तियारी पनि जिल्ला प्रशासन कार्यालय अर्थात् सिडीयो अफिसलाई छ । तर, त्यही कार्यालयबाट सेवाग्राहीले हैरानी बेहोर्नु पर्यो भने नि ? त्यसमा पनि राजधानीकै सिडीयो कार्यालयबाट !
प्रसंग हो, काठमाडौं सिडीयो कार्यालयमा नागरिकता बनाउन पुगेका सेवाग्राहीले भोग्नु परेको तितो यथार्थ । काठमाडौं सिडीयो कार्यालयको अन्य शाखामा सेवाग्राहीमाथि त्यती हैरानी भए-नभएको अनुसन्धानकै क्रममा छ, तर नयाँ नागरिकता शाखामा भने सेवाग्राहीलाई सास्ती दिन ‘धमीरा’ कर्मचारीको गिरोह नै सक्रिय छ । नागरिकता फाँट अन्तर्गतको झ्याल नम्बर १०२, १०३, १०४ र १०५ मा कार्यरत कुनै पनि कर्मचारी सेवाको भावनाबाट अलिकति पनि ओतप्रोत भएका देखिन्नन् । उनीहरुको बोली र व्यवहार सेवाग्राहीलाई सियोले घोचेजस्तो लाग्छ । यसरी, त्यसरी, जसरी पनि दुखै दिने उनीहरुको नियत बुझीनसक्नु छ । त्यसमा पनि १०५ नम्बर झ्यालको कमाण्ड गरेका प्रशासकिय अधिकृत उपेन्द्र शाहको त बोली ‘सुकुम्बासी टोल’मा बस्नेको भन्दा कम छैन । उनको हेपाहा प्रवृत्तिले सेवाग्राही निराश बन्न पुग्छन् । प्रशासकिय अधिकृतकै छुद्रशैलीको बोलीले सेवा लिन जाने जोकोही अमिलो मन गरेर फर्कनु पर्ने हुन्छ ।
प्रशासकिय अधिकृत शाह मात्रै होइनन्, झ्याल नम्बर १०२, १०३ र १०४ का कर्मचारीको पनि शैली उस्तै हो । कैलाश पोखरेल, अर्चना सुवेदीको पनि व्यवहार उस्तै रुखो र असहयोगी छ । यसरी, त्यसरी, जसरी सेवाग्राहीमाथि खोट मात्रै देखाउने । दलालसँग सेटीङ्गमा आएका काम बाहेक अरु सामान्य ढंगबाट आएका काम उनीहरुबाट दोष र खोट मात्रै लगाउने गरिन्छ । दलाल मार्फत आएको काम स:शुल्क हुने हुँदा आएको रकम शाखाभरीका कर्मचारीले पदिय हैसियत अनुसार भागवण्डा गर्ने भएकाले दलाल बिना आएका सेवाग्राहीका फायल पन्छ्याउने, अलमल्याउने र लुकाइदिन समेत पछि पर्दैनन् त्यहाँका कर्मचारी । गत मंगलबार कैलाश पोखरेल नामका कर्मचारीले साहायक सिडीयो अनिल पौडेलको आदेशमा पेश गर्न भनेको फायल नै गायव पारेका थिए भने अपराह्न अर्का सहायक सिडीयो मुक्तिराम रिजालले पेश गर्न भनेको फायल शाखा अधिकृत भरतराज पाण्डेले अलमल्याउने काम गरेका थिए । सेवाग्राहीको फायल नै लुकाएर हिँडेको विषय सिडीयो कार्यालय भित्र चर्चा नै चल्यो । राष्ट्रिय परिचय पत्र शाखामा जिम्मेवारी तोकिएका भरतराज पाण्डेलाई सोमबार र मंगलबार दुई दिनका लागि नयाँ नागरिकता शाखामा जिम्मेवारी तोकिएको थियो । ती दिन नयाँ नागरकता शाखाका अधिकृत उपेन्द्र शाह विदामा थिए । कर्मचारी सेटीङ्गकै कारण कार्यालयले दिएको जिम्मेवारी पनि पाण्डेले पूरा गरेनन् । पाण्डे भन्छन्, ‘म एकदुई दिनका लागि त्यो शाखामा गएको थिएँ, त्यसैले नगर्या हो ।’
आवश्यक सबै कागजात उपलब्ध गराउँदा पनि नयाँ नागरिकता सम्वन्धि प्रक्रिया अघि नबढेको देख्दा र त्यहाँका सबै कर्मचारीबाट झण्झटीलो व्यवहार भईरहँदा सेवाग्राही भने तनावमा देखिन्थे । कुनै एकजना सेवाग्राही मात्रै होइन, नयाँ नागरिकता बनाउन दलाल बिना जाने कोही पनि सेवाग्राही त्यहाँका कर्मचारीको व्यवहारबाट सन्तुष्ट थिएनन् । यतीसम्मकी सेवाग्राहीले आफूलाई परेको मर्कामाथि पुस्ट्याइँका लागि बहस गर्न थाल्यो भने १०१ देखि १०४ सम्मका कर्मचारी एकगठ्ठा हुने र एक स्वरमा सेवाग्राहीलाई निरुत्साहित पार्ने गर्थे । स्वत: हुने र मिलाउँदा मिलाउने काम समेत तिललाई पहाड बनाएर पन्छाउने काम नागरिकता फाँटका ‘धमिरा’ कर्मचारीबाट हुने गरेको पाइयो । झण्डै एक हप्ता लामो सुक्ष्म निगरानीका क्रममा थुप्रै ‘धमिरा’ कर्मचारीबाट भएका गलत क्रियाकलाप एवम् सेवा लिन आएका सेवाग्राहीको गुनासो बारे साहायक सिडीयो अनील पौडेल र मुक्तिराम रिजाललाई जानकारी गराउँदा उहाँहरुले त्यस्ता कर्मचारीलाई आफूले बोलाएरै सम्झाउने भन्दै सेवाग्राहीको चित्त बुझाउनु परेको थियो ।

Facebook Comments Box
TOP
219 Shares