बागमती नदीमा नुहाउने क्रममा दुई युवक बेपत्ता, खोजी जारी

काठमाडौँ । बागमती नदीमा नुहाउने क्रममा दुई युवक बेपत्ता भएका छन्। पाँच जनाको समूहमा नुहाउन गएका उनीहरू गहिरो भागमा पुगेपछि डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार बेपत्ता हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका–५ निवासी २२ वर्षीय गणेश महतो र सोही स्थानका रोहित महतो रहेका छन्।

प्रहरीका अनुसार उनीहरू महेन्द्र राजमार्गबाट करिब तीन किलोमिटर उत्तरतर्फ, मकवानपुर र सिन्धुलीको सीमाक्षेत्र हुँदै बग्ने बागमती नदीमा नुहाउन गएका थिए। सोही क्रममा नदीको गहिरो भागमा पुगेर दुवै जना बेपत्ता भएका हुन्।

घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा तत्कालै खोजी तथा उद्धार कार्य सुरु गरिएको छ। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रहरी नायब उपरीक्षक रूपा लावुङका अनुसार रौतहट र सर्लाहीका प्रहरी टोली संयुक्त रूपमा बेपत्ता युवकहरूको खोजीमा खटिएका छन्।

प्रहरीले नदी क्षेत्रमा पानीको बहाव बढी भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

Facebook Comments Box
TOP
125 Shares