क्वेटामा सैनिक परिवार बोकेको रेलमा शक्तिशाली विस्फोट, २४ जनाको मृत्यु

क्वेटा (पाकिस्तान) । पाकिस्तानको बलुचिस्तान प्रान्तस्थित क्वेटा क्षेत्रमा सैनिक कर्मचारी तथा उनीहरूका परिवार बोकेको रेललाई लक्षित गर्दै आइतबार गरिएको शक्तिशाली विस्फोटमा कम्तीमा २४ जनाको मृत्यु भएको छ। घटनामा ५० भन्दा बढी व्यक्ति घाइते भएका छन्।

स्थानीय अधिकारीहरूका अनुसार चमन गेट नजिक रेलमार्गमा भएको विस्फोट अत्यन्त शक्तिशाली थियो। विस्फोटका कारण रेलका तीन वटा डिब्बा पटरीबाट बाहिरिएका छन् भने थप दुई वटा डिब्बा पल्टिएका छन्। घटनापछि ठूलो जनधनको क्षति भएको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ।

प्रत्यक्षदर्शीहरूले विस्फोटको आवाज निकै टाढासम्म सुनिएको बताएका छन्। विस्फोटको प्रभावले रेलमार्ग आसपास पार्क गरिएका सवारी साधनमा क्षति पुगेको छ भने नजिकका केही आवासीय संरचनामा पनि असर परेको जनाइएको छ।

घटनालगत्तै सेना, प्रहरी तथा उद्धार टोली परिचालन गरिएको छ। घाइतेहरूलाई नजिकका अस्पतालमा उपचारका लागि पठाइएको छ। सुरक्षाकर्मीहरूले घटनास्थललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छन्। यद्यपि, विस्फोटको कारणबारे अहिलेसम्म आधिकारिक रूपमा केही खुलाइएको छैन।

पाकिस्तानका रेलमन्त्री मुहम्मद हनिफ अब्बासीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यसको कडा निन्दा गरेका छन्। रेल मन्त्रालयका अनुसार क्वेटा क्यान्टबाट चमनतर्फ गइरहेको शटल रेल चमन गेट नजिक पुग्दा विस्फोट भएको हो।

मन्त्रालयले इन्जिनसहित तीन वटा डिब्बा पटरीबाट बाहिरिएको र दुई वटा डिब्बा पल्टिएको पुष्टि गर्दै घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।

प्रारम्भिक जानकारीअनुसार रेलमा सवार अधिकांश सैनिक तथा उनका परिवारका सदस्यहरू आगामी मंगलबारदेखि सुरु हुने इद बिदा मनाउन घर फर्किरहेका थिए। घटनाले बलुचिस्तान क्षेत्रमा सुरक्षा अवस्थाबारे पुनः गम्भीर प्रश्न उठाएको छ।

Facebook Comments Box
TOP
183 Shares