समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुहुँदैन : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित बन्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताएका छन्।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयद्वारा बिहीबार आयोजित पुरस्कार वितरण कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले पत्रकारलाई सुरक्षित, स्वतन्त्र र जोखिममुक्त वातावरणमा समाचार सङ्कलन तथा सम्प्रेषण गर्न सक्ने अवस्थाको सुनिश्चितता आवश्यक रहेको बताए।

उनले संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गरेको स्मरण गराउँदै पत्रकारलाई निर्भय रूपमा काम गर्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व भएको स्पष्ट पारे।

राष्ट्रपति पौडेलले जिम्मेवार र निष्पक्ष प्रेसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्दै जनआन्दोलन र विभिन्न लोकतान्त्रिक संघर्षमार्फत नेपाली जनताले व्यक्त गरेको सुशासन, विकास, प्रगति र आर्थिक समृद्धिको आकांक्षा पूरा गर्न सञ्चारमाध्यमको भूमिका अझ प्रभावकारी हुनुपर्ने बताए।

नेपालको राजनीतिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनमा नेपाली पत्रकारिता क्षेत्रको योगदान उल्लेखनीय रहेको उल्लेख गर्दै उनले सत्यतथ्य समाचारमार्फत जनतालाई सुसूचित गर्नु जिम्मेवार प्रेसको धर्म भएको बताए।

उनले भने, “स्वतन्त्र, निष्पक्ष र तटस्थ पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य शर्त हो। स्वतन्त्र पत्रकारिताविना लोकतन्त्रको परिकल्पना गर्न सकिँदैन।”

राष्ट्रपति पौडेलले श्रमजीवी पत्रकारको हकहित संरक्षण र सञ्चारगृहको आर्थिक दिगोपनका लागि सरकार तथा निजी क्षेत्रबीच समन्वय आवश्यक रहेको पनि बताए।

सूचना प्रविधिको तीव्र विकाससँगै सामाजिक सञ्जाल र नागरिक पत्रकारिताको बढ्दो प्रयोगले आधारहीन तथा मिथ्या सूचना फैलिने जोखिम बढाएको उल्लेख गर्दै उनले यस्ता चुनौतीको सामना गर्न नेपाली प्रेस सक्षम हुने विश्वास व्यक्त गरे।

Facebook Comments Box
TOP
149 Shares