रास्वपाले सार्वजनिक गर्‍यो प्रथम राष्ट्रिय महाधिवेशनको कार्यतालिका, मतदानबाटै नयाँ नेतृत्व चयन हुने

काठमाडौं । आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्रता दिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले देशभरका प्रदेश तथा जिल्ला सभापतिहरूलाई निर्देशन जारी गर्दै महाधिवेशनसम्बन्धी तयारीका कार्यक्रम अघि बढाएको हो। सार्वजनिक कार्यतालिकाअनुसार ७७ वटै जिल्ला समिति र सातवटै प्रदेश समितिलाई निर्वाचन समिति गठन गर्न जेठ ७ देखि १५ गतेसम्मको समयसीमा निर्धारण गरिएको छ।

यस्तै, पार्टीको निर्वाचन कार्यालयले सम्बन्धित निकायहरूलाई आधिकारिक परिपत्र तथा बैठकका माइन्युटहरूको प्रतिलिपि पठाउन जेठ ७ देखि १० गतेसम्मको समय तोकेको छ।

महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने तयारीमा रहेको रास्वपाले यसपटक मतदान प्रक्रियालाई विशेष प्राथमिकता दिएको छ। नेतृत्व चयनका लागि विद्युतीय मतदान (इलेक्ट्रोनिक भोटिङ) प्रणाली प्रयोग गर्ने तयारी गरिएको पार्टीले जनाएको छ। यस सम्बन्धमा आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारीका लागि जेठ ७ देखि असार ५ गतेसम्म विभिन्न चरणमा छलफल र समन्वय कार्यक्रम सञ्चालन गरिनेछ।

रास्वपाको इतिहासमै पहिलो राष्ट्रिय महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा आयोजना हुँदैछ। महाधिवेशनले पार्टीको भावी नेतृत्व चयनसँगै संगठनात्मक दिशा र आगामी राजनीतिक रणनीति तय गर्ने अपेक्षा गरिएको छ।

Facebook Comments Box
TOP
198 Shares