कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहर कायम रहने

काठमाडौं । देशका अधिकांश भूभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहँदा कोशी प्रदेशमा मनसुनी वायु सक्रिय बनेको छ। यही मौसमी प्रणालीका कारण आज देशका हिमाली तथा पहाडी क्षेत्रका धेरै स्थानमा बादल लाग्ने र विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भूभाग र कोशी प्रदेशका तराई क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहनेछ। मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने भए पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ।

कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा पनि एक-दुई स्थानमा वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

तराई क्षेत्रतर्फ कोशी प्रदेशका केही स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। विशेषगरी कोशी प्रदेशका पहाडी र तराई क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

यता, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको प्रभाव कायम रहने देखिएको छ। बागमती र गण्डकी प्रदेशका केही तराई क्षेत्रमा पनि अत्यधिक गर्मी अर्थात् ‘तातो दिन’को अवस्था रहने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी प्रदेशका केही स्थान तथा मधेस प्रदेशका एक-दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिमप्रति सचेत रहन महाशाखाले अनुरोध गरेको छ।

मौसमविद्हरूका अनुसार आगामी केही दिन कोशी प्रदेशमा मनसुन थप सक्रिय हुने संकेत देखिएकाले स्थानीय बासिन्दा तथा यात्रुलाई आवश्यक सावधानी अपनाउन सुझाव दिइएको छ।

Facebook Comments Box
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि

2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…

TOP
301 Shares