आइजिपी दानबहादुर कार्कीको दूरदर्शी निर्णय : अमर प्रहरीका सन्ततीलाई छात्रवृत्ति, फजुल खर्च कटौती गरेर मानवियताको सम्मान

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले संगठनभित्र मानवता, उत्तरदायित्व र सामाजिक संवेदनशीलतालाई प्राथमिकतामा राख्दै अर्को एक प्रशंसनीय र दूरदर्शी निर्णय गरेका छन्। कर्तव्य पालनाको क्रममा मुठभेड, दुर्घटना वा अन्य अप्रत्याशित घटनामा परी ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवार तथा सन्ततीहरूको हितलाई केन्द्रमा राखेर गरिएको यो निर्णयलाई नेपाल प्रहरी संगठनभित्र मात्र नभई आम नागरिक तहबाट समेत उच्च मूल्यांकनका साथ हेरिएको छ।

नेपाल प्रहरीमा कर्तव्य पालनाको शिलसिलामा वीरगति प्राप्त गरेका प्रहरी कर्मचारीहरूको सम्झना र उनीहरूका परिवारको कल्याणका लागि स्थापना गरिएको अमर प्रहरी स्मारक गुठीबाट अबदेखि अमर प्रहरीका सन्ततीमध्ये १० जनालाई वार्षिक २५ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिने भएको छ। गुठीको वार्षिक साधारण सभाबाट पारित उक्त निर्णयअनुसार प्रत्येक वर्ष कुल दुई लाख ५० हजार रुपैयाँ छात्रवृत्ति रकम उपलब्ध गराइने व्यवस्था गरिएको हो।

विशेष कुरा के छ भने, यो छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्न कुनै नयाँ आर्थिक भार सिर्जना गरिएको छैन। बरु, गुठीको वार्षिक कार्यक्रममा हुने फुलमाला सजावट, औपचारिक समारोहका विभिन्न खर्च तथा प्रहरी महानिरीक्षकलाई मायाको चिनोका रूपमा प्रदान गरिने उपहारलगायतका फजुल र अनावश्यक खर्च कटौती गरेर उक्त रकम व्यवस्थापन गर्ने निर्णय गरिएको हो। यसले सार्वजनिक स्रोतको मितव्ययी उपयोग र वास्तविक आवश्यकता भएका वर्गप्रति संवेदनशीलता प्रदर्शन गरेको छ।

नेपाल प्रहरीको नेतृत्व सम्हालेयता आइजिपी कार्कीले बारम्बार “नेपाल प्रहरी साधनले मात्र होइन, साधनाले; भवनले मात्र होइन, भावनाले; कानुनले मात्र होइन, कामनाले चल्ने संगठन हो” भन्ने आफ्नो दृष्टिकोणलाई व्यवहारमा उतार्ने प्रयास गरिरहेका छन्। अमर प्रहरीका सन्ततीलाई छात्रवृत्ति उपलब्ध गराउने पछिल्लो निर्णयलाई पनि यही मानवीय दर्शनको एउटा सशक्त उदाहरणका रूपमा लिइएको छ।

सुरक्षा विज्ञहरू तथा पूर्वप्रहरी अधिकारीहरूले यो निर्णयले प्रहरी संगठनभित्र कर्तव्यका क्रममा ज्यान गुमाउने प्रहरी कर्मचारीप्रति संस्थागत सम्मान अभिवृद्धि गर्नुका साथै उनीहरूका परिवारलाई राज्य र संगठनले कहिल्यै नबिर्सने सन्देश दिएको बताएका छन्। उनीहरूका अनुसार औपचारिकता र प्रदर्शनमा खर्च हुने रकमलाई शिक्षा र भविष्य निर्माणमा लगानी गर्नु नेतृत्वको दूरदर्शिता र संवेदनशीलताको उत्कृष्ट उदाहरण हो।

अमर प्रहरीका परिवार तथा सन्ततीहरूको शिक्षामा लगानी गर्नु भनेको केवल आर्थिक सहयोग उपलब्ध गराउनु मात्र नभई उनीहरूको आत्मविश्वास, सम्मान र भविष्यप्रतिको आशालाई बलियो बनाउनु पनि हो। कर्तव्यका क्रममा जीवन उत्सर्ग गरेका प्रहरी कर्मचारीका सन्ततीले आफ्नो अभिभावकको योगदानप्रति संगठनले गरेको सम्मानलाई यस निर्णयमार्फत प्रत्यक्ष अनुभूति गर्न पाउने विश्वास गरिएको छ।

नेपाल प्रहरी संगठनभित्र पनि आइजिपी कार्कीको यो निर्णयलाई सकारात्मक परिवर्तनको संकेतका रूपमा हेरिएको छ। नेतृत्व तहले आफ्नो सम्मान र औपचारिक खर्चमा कटौती गर्दै तल्लो तहका प्रहरी परिवारको हितमा स्रोत परिचालन गर्ने संस्कृतिले आगामी दिनमा अन्य संस्थाहरूलाई समेत अनुकरणीय सन्देश दिने अपेक्षा गरिएको छ।

प्रहरी संगठनमा सुधार, सुशासन, मितव्ययिता र मानवीय संवेदनशीलतालाई एकसाथ अघि बढाउने अभियानमा रहेका आइजिपी दानबहादुर कार्कीको यो निर्णयले नेतृत्व भनेको केवल प्रशासनिक अधिकारको प्रयोग मात्र नभई संवेदना, उत्तरदायित्व र भविष्यप्रतिको प्रतिबद्धताको विषय पनि हो भन्ने सन्देश पुनः स्थापित गरेको छ। अमर प्रहरीका सन्ततीका लागि प्रदान गरिने यो छात्रवृत्ति कार्यक्रमलाई धेरैले प्रहरी इतिहासमा मानवीय मूल्य र संस्थागत उत्तरदायित्वलाई बलियो बनाउने एक महत्वपूर्ण तथा प्रशंसनीय कदमका रूपमा व्याख्या गरेका छन्।

Facebook Comments Box
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि

2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…

TOP
426 Shares