साउन सुरु भएसँगै राजधानीमा हरियो चुरापोते र मेहन्दीको रौनक, बजारमा व्यापार दोब्बर

काठमाडौं । साउन महिना सुरु भएसँगै संघीय राजधानी काठमाडौंका बजार हरियो चुरा, पहेँलो पोते र मेहन्दी किन्ने महिलाको भीडले भरिन थालेका छन्। हिन्दू धर्मावलम्बीहरूका लागि साउनलाई भगवान् शिवको विशेष महिना मानिने भएकाले यससँग जोडिएका धार्मिक तथा सांस्कृतिक परम्पराले बजारमा उल्लेख्य चहलपहल बढाएको हो।

काठमाडौंका प्रमुख व्यापारिक केन्द्र असन, इन्द्रचोक, बागबजारलगायत क्षेत्रमा हरियो चुरा, पहेँलो पोते र मेहन्दीको व्यापार विगत केही दिनयता उल्लेख्य रूपमा बढेको व्यवसायीहरू बताउँछन्।

इन्द्रचोकका व्यवसायी अहमद मुसलमानका अनुसार सामान्य दिनमा दैनिक ८–१० हजार रुपैयाँको व्यापार हुने उनको पसलमा अहिले दैनिक २०–२५ हजार रुपैयाँसम्मको कारोबार भइरहेको छ। अर्का व्यवसायी हसन अन्सारीले पनि साउन लाग्नासाथ ग्राहकको भीड उल्लेख्य रूपमा बढेको र विवाहको मौसमभन्दा पनि राम्रो व्यापार भइरहेको बताए।

साउन महिनामा विवाहित महिलाले हरियो चुरा, पहेँलो पोते र हातमा मेहन्दी लगाउने धार्मिक विश्वासका कारण बजारमा नयाँ डिजाइनका स्वदेशी तथा आयातित चुरा–पोतेको बिक्री बढेको छ। ब्युटी पार्लरदेखि सडक किनारसम्म मेहन्दी लगाउने महिलाको भीड देखिन थालेको छ।

गोङ्गबुबाट इन्द्रचोक किनमेल गर्न आएकी सरस्वती दवाडीले साउनमा हरियो चुरा र पोते लगाउँदा धार्मिक आस्था मात्र नभई नेपाली सांस्कृतिक परम्पराको संरक्षण हुने विश्वास व्यक्त गरिन्। उनका अनुसार साउन महिलाहरूका लागि परिवार र साथीभाइसँग रमाइलो गर्दै मेहन्दी लगाउने र धार्मिक गतिविधिमा सहभागी हुने विशेष अवसर पनि हो।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका निवर्तमान कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थीका अनुसार माता पार्वतीले भगवान् शिवलाई प्रसन्न पार्न हरियो चुरा, पहेँलो पोते र मेहन्दी धारण गरेको किंवदन्तीका आधारमा साउनमा महिलाले यो परम्परा निरन्तरता दिँदै आएका हुन्।

उनले साउनलाई हरियाली, वर्षा र प्रकृतिको पुनर्जीवनसँग जोडिएको महिना भएकाले हरियो रंगले समृद्धि, सौभाग्य र सकारात्मकताको प्रतीक बोकेको बताए। तीज पर्व नजिकिँदै जाँदा चुरा–पोते र मेहन्दीको माग अझ बढ्ने उनको भनाइ छ।

धार्मिक आस्था, सांस्कृतिक परम्परा र आधुनिक फेसनको संगम बनेको साउनले यतिबेला काठमाडौंका बजारलाई हरियाली र उत्साहले भरिएको छ भने व्यवसायीहरू पनि राम्रो व्यापारले उत्साहित बनेका छन्।

Facebook Comments Box
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१८ घण्टा अगाडि

1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…

TOP
238 Shares