भारी वर्षाको चेतावनी : २१ जिल्लामा बाढीको मध्यम जोखिम, कोसी ब्यारेजका ढोका खोल्ने तयारी

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको जनाउँदै बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भएकाले सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

लगातार वर्षाको पूर्वानुमानसँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धार, राहत तथा प्रतिकार्यका लागि पूर्वतयारीलाई तीव्र बनाएको जनाएको छ।

प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाका अनुसार नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढेर बाढीको जोखिम उत्पन्न भएमा आज कोसी ब्यारेजका ढोकाहरू आवश्यकताअनुसार क्रमशः खोलिनेछ।

जल तथा मौसम विज्ञान विभागका बाढीविद् बिनोद पराजुलीले देशभरका नदी तथा जलप्रवाहको निरन्तर निगरानी भइरहेको जानकारी दिँदै हाल २१ जिल्लामा बाढीको मध्यम जोखिम रहेको बताए।

प्राधिकरणले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय तहसँग समन्वय गरी सम्भावित विपद्को सामना गर्न आवश्यक जनशक्ति, उपकरण र उद्धार टोली तयारी अवस्थामा राखिएको जनाएको छ।

साथै, नदी किनार, पहिरोको उच्च जोखिम रहेका बस्ती तथा डुबान हुन सक्ने क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक जोखिमयुक्त क्षेत्रमा आवागमन नगर्न, नदी तर्ने वा बाढी प्रभावित क्षेत्रमा यात्रा नगर्न तथा आधिकारिक निकायबाट जारी सूचना र चेतावनीको पालना गर्न प्राधिकरणले अनुरोध गरेको छ।

Facebook Comments Box
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१८ घण्टा अगाडि

1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…

TOP
275 Shares