मृदुला सरिया नर्भिक अस्पतालमा भर्ना, सीआईबीको अनुसन्धानमाथि प्रश्न उठ्यो

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग आर्थिक कारोबार जोडिएपछि पक्राउ परेकी मृदुला सरियालाई नर्भिक अस्पतालमा भर्ना गरिएको विषयले चर्चा पाएको छ। सरियालाई स्वास्थ्य अवस्था सामान्य हुँदाहुँदै पनि ‘सेटिङ’मार्फत अस्पताल पुर्‍याइएको आरोप स्रोतले लगाएको छ।

बीमा ऐन, २०७९ अन्तर्गतको कसूरमा बिहीबार पक्राउ परेकी सरियालाई शुक्रबार अदालतबाट चार दिनको म्याद थप गरिएको थियो। अनुसन्धान अघि बढिरहेका बेला उनलाई शनिबार नर्भिक अस्पताल भर्ना गरिएको हो।

सीआईबीका प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीले सरियालाई अस्पताल भर्ना गरिएको पुष्टि गर्दै थप जानकारीका लागि प्रवक्ता वा सूचना अधिकारीसँग सम्पर्क गर्न आग्रह गरेका छन्। यद्यपि, अस्पताल भर्नाको प्रक्रियालाई लिएर विभिन्न प्रश्न उठेका छन्।

सुलभ अग्रवालसँग जोडिएको आर्थिक कारोबार

सीआईबीका अनुसार सरियामाथि बीमा ऐन उल्लंघनसम्बन्धी अनुसन्धान भइरहेको छ। अनुसन्धानका क्रममा ट्रष्ट इन्स्योरेन्स ब्रोकरले सरियाको स्वामित्वमा रहेको जग्गा खरिदका लागि ३ करोड ८० लाख रुपैयाँ भुक्तानी गरेको र उक्त रकम परिवारका सदस्यहरूको बैंक खातामार्फत अन्ततः सुलभ अग्रवालसँग जोडिएको देखिएको बताइएको छ।

मृदुला सरिया ट्रष्ट इन्स्योरेन्स ब्रोकरकी अध्यक्ष रेनु अग्रवालकी बुहारी हुन्। रेनु अग्रवाल शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवालकी बहिनी तथा सुलभ अग्रवालकी फुपू हुन्।

अनुसन्धानका क्रममा हिमालयन रिले ट्रष्ट इन्स्योरेन्स ब्रोकरलाई कमिसनबापत रकम भुक्तानी गरेको र उक्त रकम विभिन्न माध्यम हुँदै अग्रवाल परिवारसँग जोडिएको विषयमा बीमा प्राधिकरणले समेत छानबिन प्रक्रिया अघि बढाएको जनाइएको छ।

कृत्रिम कारोबारको आशंका

अनुसन्धान निकायले हिमालयन रि, ट्रष्ट इन्स्योरेन्स ब्रोकर र सम्बन्धित व्यक्तिहरूबीच भएको आर्थिक कारोबारको प्रकृतिमाथि अध्ययन गरिरहेको छ। जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीबीच प्रत्यक्ष हुने कारोबारमा अनावश्यक मध्यस्थकर्ता खडा गरी कमिसन भुक्तानी गरिएको हुनसक्ने आशंकामा अनुसन्धान भइरहेको बताइएको छ।

हिमालयन रिले ट्रष्ट इन्स्योरेन्स ब्रोकर्सलाई ४ करोड ५० लाख रुपैयाँ कमिसनबापत रकम भुक्तानी गरेको र कर कट्टीपछि ३ करोड ८२ लाख ५० हजार रुपैयाँ उपलब्ध गराइएको विवरणसमेत अनुसन्धानको दायरामा रहेको छ।

अस्पताल भर्नाको विषयमा राजनीतिक बहस

पत्रकार रहँदा रवि लामिछानेले प्रहरी हिरासतमा रहेका व्यक्तिलाई ‘नक्कली बिरामी’ बनाएर अस्पताल लैजाने प्रवृत्तिको आलोचना गर्दै आएका थिए। अहिले रास्वपा नेतृत्वको सरकारकै समयमा सीआईबीको अनुसन्धानमा रहेकी व्यक्तिलाई अस्पताल भर्ना गरिएको विषयले राजनीतिक र सार्वजनिक वृत्तमा बहस सुरु भएको छ।

मृदुला सरिया प्रकरणमा आर्थिक कारोबार, बीमा क्षेत्रको अनियमितता र अनुसन्धान प्रक्रियाको पारदर्शितामाथि उठेका प्रश्नको जवाफ अब अनुसन्धानबाट स्पष्ट हुने अपेक्षा गरिएको छ।

Facebook Comments Box
TOP
476 Shares