देशभर मनसुनी प्रभाव कायम : पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले बाढी, पहिरो, भू–क्षय तथा गेग्रान बहावको जोखिम बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ। सुदूरपश्चिम प्रदेशको तराईमा आंशिक बदली रहे पनि बाँकी भूभागमा सामान्यदेखि पूर्ण बदली छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी भूभागका धेरै तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने हिमाली क्षेत्रका केही स्थानमा वर्षासँगै हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

आज राति पनि मौसम बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। त्यसैगरी, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ।

मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै स्थान र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा पनि मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई भूभाग, मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

महाशाखाले सम्भावित भारी वर्षाका कारण बाढी, पहिरो, नदी तथा खोलामा आकस्मिक बहाव, भू–क्षय र गेग्रान बहावको जोखिम रहने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी आधिकारिक सूचनाको नियमित अद्यावधिक लिन पनि अनुरोध गरिएको छ।

Facebook Comments Box
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१८ घण्टा अगाडि

1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…

TOP
15 Shares