रुपन्देही प्रहरीमाथि सेटिङको आरोप, एसपी शाहीको भूमिका के ?

बुटवल । रुपन्देहीको बेलहियामा १७ ग्राम २४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका पाँच जनामध्ये तीन जनालाई लागूऔषधसम्बन्धी मुद्दा नै नचलाई छाडिएको दाबीले रुपन्देही प्रहरीको अनुसन्धान प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ।
गत चैतको दोस्रो साता लागूऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त टोलीले बेलहियाबाट एक नेपाली र एक भारतीय नागरिकलाई १७ ग्राम २४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको थियो। पक्राउ परेकाहरूको बयानका आधारमा प्रहरीले थप तीन जनालाई समेत नियन्त्रणमा लिएको थियो। थप पक्राउ पर्नेमा एक भारतीय र दुई नेपाली नागरिक रहेको स्रोतको दाबी छ।
सिद्धार्थनगर नगरपालिका–१, बेलहिया क्षेत्रबाट पक्राउ गरिएका पाँचै जनामाथि प्रारम्भिक अनुसन्धानका क्रममा घटनास्थल मुचुल्कासमेत तयार गरिएको थियो। उक्त मुचुल्कामा बरामद पदार्थलाई ब्राउन सुगरका रूपमा उल्लेख गरिएको स्रोतको भनाइ छ।
पक्राउपछि उनीहरूलाई करिब तीन–चार दिनसम्म नियन्त्रणमा राखेर अनुसन्धान गरिएको थियो। यसक्रममा बरामद पदार्थ प्रयोगशालामा परीक्षण गर्दा ब्राउन सुगर नै भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्ण चन्दले समेत बताएका छन्।
तर, प्रयोगशाला परीक्षणबाट बरामद पदार्थ ब्राउन सुगर भएको पुष्टि भएको भनिएको घटनामा पाँचै जनामाथि लागूऔषधसम्बन्धी कानुनी प्रक्रिया अघि बढ्नुपर्नेमा तीन जनालाई मुद्दा नै नचलाई छाडिएको दाबीले घटनालाई थप रहस्यमय बनाएको छ।
स्रोतका अनुसार रुपन्देही प्रहरी प्रमुख एसपी जनकबहादुर शाहीको निर्देशनमा पक्राउ परेका पाँच जनामध्ये तीन जनालाई कुनै लागूऔषध मुद्दा नचलाई छाडिएको थियो भने बाँकी दुई जनामाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाइएको थियो।
अनुसन्धानमा संलग्न प्रहरी स्रोतले लागूऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाएका व्यक्तिहरूमाथि थप अनुसन्धान अघि बढाउनुको सट्टा मुद्दा कमजोर बनाउने प्रयास भएको दाबी गरेको छ।
प्रहरीतर्फबाट मुद्दासम्बन्धी आवश्यक फाइल तयार नभएपछि उनीहरूलाई जिल्ला प्रशासन कार्यालयबाट छाडिएको स्रोतको दाबी छ। यद्यपि, यस विषयमा सम्बन्धित प्रहरी अधिकारी वा प्रशासनिक निकायबाट विस्तृत आधिकारिक स्पष्टीकरण सार्वजनिक भएको छैन।
घटनाले अर्को प्रश्न पनि जन्माएको छ—बरामद पदार्थ ब्राउन सुगर भएको पुष्टि भएको अवस्थामा पक्राउ परेका व्यक्तिहरूमध्ये कसलाई किन लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धानको दायराबाट बाहिर राखियो?
यही विषयसँग जोडेर एसपी शाहीमाथि पक्राउ परेकाहरूलाई लागूऔषधसम्बन्धी अनुसन्धानबाट उन्मुक्ति दिन आर्थिक चलखेल भएको आरोपसमेत लागेको स्रोतको दाबी छ। तर, आर्थिक चलखेलसम्बन्धी आरोपको स्वतन्त्र पुष्टि हुन बाँकी छ र सम्बन्धित प्रहरी अधिकारीको स्पष्ट प्रतिक्रिया पनि सार्वजनिक रूपमा आएको छैन।
घटनास्थल मुचुल्का तयार गर्ने प्रहरी सहायक निरीक्षक (सई)लाई त्यसपछि सरुवा गरिएको विषयले समेत घटनामाथिको शंका थप बढाएको छ। रुपन्देही प्रहरीले उक्त सरुवालाई नियमित प्रक्रिया भएको दाबी गरे पनि घटनाको अनुसन्धानसँग जोडेर त्यसको समय र कारणबारे प्रश्न उठाइएको छ।

घटनाबारे प्रश्न उठेपछि प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको बताइएको छ। तर समिति गठन भएको लामो समय बितिसक्दा पनि छानबिनको प्रभावकारी निष्कर्ष सार्वजनिक नभएको स्रोतको दाबी छ।
छानबिन समिति गठन भए पनि त्यसले घटनाको वास्तविकता बाहिर ल्याउन प्रभावकारी काम गर्न नसकेको आरोपसमेत उठेको छ। अझ समिति नै घटनामा जोडिएका प्रहरी अधिकारीलाई जोगाउने उद्देश्यले गठन गरिएको भन्ने आरोपले प्रहरी नेतृत्वमाथि थप प्रश्न खडा गरेको छ।
यद्यपि, समिति प्रभावहीन बनाइएको वा कुनै प्रहरी अधिकारीलाई जोगाउने उद्देश्यले छानबिन प्रक्रिया अघि बढाइएको भन्ने आरोपको स्वतन्त्र पुष्टि हुन बाँकी छ।
सरकारी वकिलको भनाइले थपियो प्रश्न
घटनाको अर्को महत्वपूर्ण पक्ष सरकारी वकिलको भूमिकासँग जोडिएको छ।
सरकारी वकिल कार्यालयका एक अधिकृतले लागूऔषध बरामद भएको अवस्थामा आफूहरूले त्यस्ता व्यक्तिलाई छाड्ने विषयमा सहमति नदिएको बताएका छन्।
उनका अनुसार १७ ग्राम २४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका व्यक्तिलाई छाड्ने विषयमा आफूहरूले सहमति वा हस्ताक्षर नगर्ने बताएका थिए।
यसले प्रहरी अनुसन्धान र अभियोजन प्रक्रियाबीचको समन्वयमाथि समेत प्रश्न उठाएको छ। यदि बरामद पदार्थ ब्राउन सुगर नै भएको प्रयोगशाला परीक्षणबाट पुष्टि भएको हो भने पक्राउ परेका पाँच जनामध्ये तीन जनामाथि लागूऔषधसम्बन्धी अनुसन्धान किन अघि बढेन भन्ने प्रश्नको जवाफ खोजिनुपर्ने देखिन्छ।
म त्यतिबेला विदामा थिएँ’
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्ण चन्दले भने आफू पक्राउको समयमा विदामा रहेकाले घटनाको प्रारम्भिक प्रक्रियाबारे धेरै जानकारी नभएको बताए।
उनले अहिले उक्त विषयमा मुद्दा दर्ता भएर अनुसन्धान भइरहेको जानकारी दिए। बरामद पदार्थ परीक्षण गर्दा ब्राउन सुगर नै पुष्टि भएको पनि उनले स्वीकार गरे।
‘म त्यतिबेला, अर्थात् मान्छे समातेको समयमा विदामा बसेको भएर धेरै कुरा थाहा भएन,’ डिएसपी चन्दले भने।
उनका अनुसार अहिले विषय मुद्दाका रूपमा दर्ता भएर अनुसन्धानको क्रममा छ।
तर, घटनाको प्रारम्भिक चरणमा पाँच जना पक्राउ परेको, बरामद पदार्थ ब्राउन सुगर भएको प्रयोगशाला परीक्षणबाट पुष्टि भएको र त्यसपछि तीन जनामाथि लागूऔषधसम्बन्धी मुद्दा नचलाइएको दाबीबीचको अन्तर भने अझै स्पष्ट हुन सकेको छैन।
१७ ग्राम २४० मिलिग्राम ब्राउन सुगर बरामद भएको भनिएको एउटै घटनामा पाँच जना पक्राउ पर्नु, तीन जनालाई लागूऔषधसम्बन्धी मुद्दा नचलाइएको दाबी हुनु, दुई जनामाथि अभद्र व्यवहारको मुद्दा चलाइनु, घटनास्थल मुचुल्का बनाउने प्रहरी कर्मचारीको सरुवा हुनु र गठन गरिएको भनिएको छानबिन समितिको निष्कर्ष सार्वजनिक नहुनुले रुपन्देही प्रहरीको अनुसन्धान प्रक्रियामाथि गम्भीर प्रश्न खडा गरेको छ।

Facebook Comments Box
TOP
309 Shares