देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज पनि विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेकाले देशभरको मौसममा बदली र वर्षाको प्रभाव देखिएको हो।

हाल देशभर सामान्यतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ भने पहाडी भूभागका धेरै स्थानमा मध्यमसम्म वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेससहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कर्णाली प्रदेशको पहाडी भूभाग र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ।

त्यसैगरी, कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका साथै बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा समेत भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

लगातारको वर्षाका कारण पहाडी तथा हिमाली क्षेत्रमा पहिरो, गेग्रान बहाव तथा सडक अवरुद्ध हुन सक्ने र तराई क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सम्बन्धित सबैलाई आग्रह गरिएको छ।

Facebook Comments Box
TOP
160 Shares