पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी

काठमाडौं । नेपाल प्रहरीमा प्रहरी नायब उपरीक्षक (डीएसपी)देखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)सम्मका २६ दरबन्दी रिक्त भएसँगै बढुवाको प्रतीक्षामा रहेका प्रहरी अधिकृतहरूको प्रतिस्पर्धा चुलिएको छ। रिक्त पदको तुलनामा बढुवाका आकांक्षी अधिकृतको संख्या धेरै भएपछि प्रहरी प्रधान कार्यालयले तत्काल बढुवा गर्नुको सट्टा आगामी पुसपछि ठूलो संख्यामा दरबन्दी रिक्त हुने अवस्थालाई पर्खने रणनीति बनाएको बुझिएको छ।
हाल डीएसपीतर्फ मात्रै रिक्त दरबन्दीको संख्या २४ बाट बढेर २६ पुगेको छ। यससँगै प्रहरी निरीक्षक (इन्स्पेक्टर)बाट डीएसपीमा बढुवाका लागि प्रतिस्पर्धामा रहेका अधिकृतहरूको संख्या पनि उल्लेख्य छ।
गत साउन १४ गते एसएसपी भीमबहादुर दाहाल र एसपी महेन्द्रकुमार श्रेष्ठले अनिवार्य अवकाश पाएपछि नेपाल प्रहरीमा थप एक एसएसपी र दुई एसपीको दरबन्दी रिक्त भएको हो। दाहालले २०५४ मंसिर १ गते प्रहरी निरीक्षकबाट तथा श्रेष्ठले २०५३ साउन १५ गते प्राविधिक प्रहरी नायब निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए।
तर तत्कालै रिक्त दरबन्दी पूर्ति गर्नेभन्दा प्रहरी प्रधान कार्यालयले आगामी पुसको पहिलो सातालाई निर्णायक समयका रूपमा हेरेको छ। त्यसबेला नेपाल प्रहरीका उच्च तहका १२ अधिकृत एकैपटक अवकाशमा जाने भएकाले डीएसपीदेखि माथिल्लो तहसम्म थप दरबन्दी रिक्त हुनेछन्।
नियमित अवकाशको करिब १० दिनअघि नै आगामी मंसिर २३ गते ५६ वर्षे उमेरहदका कारण डीआईजी विनोद घिमिरेले अवकाश पाउनेछन्।
त्यसपछि आगामी पुस ४ गते ३० वर्षे सेवाहदका कारण एआईजीहरू सिद्धिबिक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विश्वकर्मा अनिवार्य अवकाशमा जानेछन्।
सोही दिन डीआईजीहरू माधवप्रसाद श्रेष्ठ, दिलीपसिंह देउवा, दीपककुमार बस्नेत, ओमबहादुर राना र सुरेन्द्र गुरुङले पनि ३० वर्षे सेवाहदका कारण अवकाश पाउनेछन्।
राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा स्थानान्तरण भएका एसएसपी शारदाप्रसाद चौधरीले समेत ५५ वर्षे उमेरहदका कारण आगामी पुस ४ गते नै अवकाश पाउनेछन्।
यसरी पुसको पहिलो सातामै उच्च तहका १२ अधिकृत अवकाशमा गएपछि नेपाल प्रहरीमा डीएसपीसहित माथिल्लो तहका थप दरबन्दी रिक्त हुनेछन्। त्यसपछि रिक्त पदको संख्या बढ्ने भएकाले बढुवाको बाटो पनि फराकिलो हुने प्रहरी प्रधान कार्यालयको आकलन छ।
यही अवस्थालाई मध्यनजर गर्दै प्रहरी प्रधान कार्यालयले पुसपछि करिब ३८ जना प्रहरी निरीक्षकलाई डीएसपीमा बढुवा सिफारिस गर्ने तयारी गरेको बुझिएको छ।
अहिले रिक्त दरबन्दी सीमित र बढुवाका आकांक्षी अधिकृतको संख्या ठूलो भएकाले तत्काल बढुवा गर्दा धेरै प्रतिस्पर्धीलाई समेट्न कठिन हुने अवस्था छ। त्यसैले पुसमा उच्च तहका अधिकृतहरूको अवकाशसँगै थपिने दरबन्दीलाई समेत हिसाब गरेर एकैपटक बढुवा प्रक्रिया अघि बढाउने तयारी गरिएको हो।
लामो समयदेखि बढुवाको प्रतीक्षामा रहेका प्रहरी निरीक्षकहरूका लागि पुसपछि भने अवसरको दायरा फराकिलो हुने देखिएको छ। विशेषगरी डीएसपीमा बढुवाका लागि प्रतिस्पर्धामा रहेका अधिकृतहरूका लागि आगामी पुसको अवकाशले नयाँ समीकरण निर्माण गर्नेछ।
यद्यपि, कति पदमा बढुवा हुनेछ, कुन तहमा कति दरबन्दी कायम हुनेछ र बढुवाको अन्तिम सूचीमा को-को पर्नेछन् भन्ने विषय भने प्रहरी प्रधान कार्यालयको औपचारिक निर्णयपछि मात्रै निश्चित हुनेछ। त्यसैले हाल चर्चामा रहेको ३८ जनाको संख्या सम्भावित तयारीका रूपमा बुझ्नुपर्ने हुन्छ।

Facebook Comments Box
TOP
374 Shares