सिमरामा ३ वर्षीया गरिमा चौधरी मृत फेला, दुई जना पक्राउ

बारा । जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरी मृत अवस्थामा फेला परेकी छन्। साउन ३१ गते बिहान घरबाट हराएकी बालिका मंगलबार साँझ एक घरको खाली कोठामा मृत अवस्थामा फेला परेकी हुन्।

मंगलबार साँझ करिब ५ः४५ बजे भक्तिनगरस्थित एक घरको खाली कोठामा बालिका मृत अवस्थामा रहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरीका अनुसार मृतक बालिका जितपुरसिमरा–१ दसधुरी निवासी मनमती चौधरीकी छोरी गरिमा चौधरी हुन्। घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा बालिकालाई प्रलोभनमा पारेर लगिएको हुनसक्ने तथा गम्भीर आपराधिक घटना भएको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

घटनासँग सम्बन्धित अनुसन्धानका क्रममा प्रहरीले जितपुरसिमरा–२ निवासी करिब १६ वर्षीय सुमन थापालाई पक्राउ गरेको छ। उनी ना.१ ज ७७५८ नम्बरको म्याजिकका सहचालक रहेको प्रहरीले जनाएको छ।

त्यस्तै, उक्त म्याजिकका धनी जितपुरसिमरा–१ निवासी २४ वर्षीय प्रोग्रेस चौधरीलाई समेत प्रहरीले पक्राउ गरेको छ।

घटनाको गम्भीरतालाई ध्यानमा राख्दै प्रदेश प्रहरी कार्यालय वीरगन्जबाट तालिमप्राप्त कुकुरसहितको टोलीसमेत घटनास्थलमा परिचालन गरिएको थियो। प्रहरीले पक्राउ परेकाहरूमाथि सोधपुछ गर्नुका साथै घटनामा अन्य व्यक्तिको संलग्नता भए/नभएको विषयमा समेत अनुसन्धान गरिरहेको जनाएको छ।

बालिकाको शव पोस्टमार्टम तथा आवश्यक कानुनी प्रक्रियाका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। घटनाले स्थानीयवासीमा त्रास र आक्रोश सिर्जना गरेको छ भने परिवार तथा स्थानीयले बालिकाको मृत्युको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

प्रहरीले अनुसन्धानबाट घटनाको वास्तविक कारण तथा संलग्न व्यक्तिहरूको भूमिका स्पष्ट हुने जनाएको छ।

Facebook Comments Box
TOP
152 Shares