अन्डाको मूल्य फेरि बढ्यो, एक्सएल अन्डा प्रतिक्रेट ५९० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा अन्डाको मूल्य फेरि बढेको छ। नेपाल लेयर्स कुखुरापालक संघले बिहीबारदेखि लागू हुने गरी अन्डाको नयाँ फार्म समर्थन मूल्य सार्वजनिक गरेको हो।

संघका अनुसार एक्सएल अन्डाको मूल्य प्रतिक्रेट ५९० रुपैयाँ, ठूलो अन्डा ५७५ रुपैयाँ र मिडियम अन्डा ५३५ रुपैयाँ पुगेको छ। सानो अन्डाको मूल्य प्रतिपेटी ३ हजार २०० रुपैयाँ कायम गरिएको छ।

यसअघि ३० साउनदेखि एक्सएल अन्डा प्रतिक्रेट ५७५ रुपैयाँ, ठूलो ५६० रुपैयाँ र मिडियम ५२० रुपैयाँमा कारोबार हुँदै आएको थियो। एक साता नबित्दै यी तीनै प्रकारका अन्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँले बढाइएको हो।

व्यवसायीहरूका अनुसार बर्डफ्लु संक्रमणका कारण ठूलो संख्यामा कुखुरा नष्ट गर्नुपर्दा अन्डा उत्पादन घटेको छ। उत्पादनमा कमी आएपछि बजारको मागअनुसार आपूर्ति गर्न कठिन भएकाले मूल्य बढाउनुपरेको संघका अध्यक्ष विनोद पोखरेलले बताएका छन्।

व्यवसायीहरूले साउनयता अन्डाको मूल्य पाँचौँ पटक बढाइएको बताएका छन्। लगातार मूल्य बढ्दा उपभोक्ताको दैनिक खर्चमा थप दबाब पर्ने देखिएको छ।

संघले तोकेको फार्म समर्थन मूल्य र खुद्रा बजार मूल्य भने फरक हुन सक्ने भएकाले उपभोक्ताले स्थानअनुसार फरक मूल्यमा अन्डा खरिद गर्नुपर्ने हुन सक्छ।

Facebook Comments Box
TOP
134 Shares