अपाङ्गता भएकी युवतीमाथि जबरजस्ती करणीको आरोपमा कैलालीमा युवक पक्राउ

कैलाली । शारीरिक तथा मानसिक रूपमा अपाङ्गता भएकी ३० वर्षीया युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा कैलालीमा एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका–८, धनचौरीका करिब २५ वर्षीय कृष्णराज भट्टराई रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार मंगलबार बिहान करिब ११ बजे भट्टराई युवती सुत्ने कोठामा प्रवेश गरी जबरजस्ती करणी गरेको आरोप लागेको छ। घटनाका सम्बन्धमा पीडित युवतीकी भाउजुले किटानी जाहेरी दिएपछि प्रहरीले भट्टराईलाई पक्राउ गरेको जनाएको छ।

पीडित पक्षका अनुसार परिवारका अन्य सदस्यहरू भूमि सम्बन्धी समस्या समाधान आयोगको कामका लागि घरनजिकै रहेको सामुदायिक वनको भवनमा गएका बेला युवती घरमा एक्लै थिइन्। परिवारका सदस्यहरू घर फर्किने क्रममा युवती रोइरहेको आवाज सुनेपछि उनकी भाउजु कोठामा पुगेकी थिइन्।

त्यसक्रममा भट्टराईलाई युवतीमाथि जबरजस्ती गरिरहेको अवस्थामा फेला पारेपछि तत्काल प्रहरीलाई खबर गरिएको पीडित पक्षले जनाएको छ। सूचना पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले भट्टराईलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका भट्टराईमाथि घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। पीडित पक्षले घटनामा संलग्नमाथि प्रचलित कानुनबमोजिम कडा कारबाहीका साथै पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेको छ।

Facebook Comments Box
TOP
300 Shares