प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा ठगी, रामेछापमा एक जना पक्राउ

मन्थली । विनाशकारी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि स्थापना गरिएको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ को नाममा भ्रम फैलाएर ठगी गरेको आरोपमा रामेछाप प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गोकुलगंगा गाउँपालिका–२, ठोसेका ३२ वर्षीय भगवान कार्की रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार कार्कीले आफूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख २० हजार रुपैयाँ सहयोग गरेको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। तर, प्रहरीले गरेको अनुसन्धानका क्रममा उनले उक्त रकम कोषमा जम्मा नगरेको खुलेको छ।

प्रहरीका अनुसार कार्कीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको प्रयोग गरी ई–सेवाको नक्कली ट्रान्जेक्सन स्टेटमेन्ट तयार पारेका थिए। उक्त नक्कली स्टेटमेन्टसँगै उनले आफ्नो व्यक्तिगत क्यूआर कोडसमेत सामाजिक सञ्जालमा राखेर अन्य व्यक्तिलाई राहत कोषमा सहयोग गर्न आह्वान गरेका थिए।

यसरी उनले राहत कोषमा रकम पठाएको भ्रम सिर्जना गरी आफ्नो व्यक्तिगत खातामा रकम जम्मा गराउने प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

राहत कोषमा रकम पठाएको ठानेर सर्वसाधारणले उनको व्यक्तिगत खातामा पैसा पठाउन सक्ने जोखिम देखिएपछि प्रहरीले कार्कीलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतले कार्कीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो।

Facebook Comments Box
TOP
15 Shares