तीन बालिकालाई छ्याङ खुवाएर जबर्जस्ती करणीको प्रयास, तीन युवा पक्राउ

काभ्रेपलाञ्चोक । तीन बालिकालाई छ्याङ खुवाएर नशालु अवस्थामा पुर्‍याई जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा प्रहरीले तीन युवालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

पक्राउ पर्नेमा पाँचखाल–१ का २४ वर्षीय जीवन तामाङ, तेमाल–९ का १९ वर्षीय विजय दोङ र पाँचखाल–१ का २३ वर्षीय रविन तामाङ रहेका छन्। उनीहरूविरुद्ध जबर्जस्ती करणी उद्योगको अभियोगमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बनेपा बजारबाट चाइना टाउन हुँदै मगरगाउँ जाने बाटोबाट बालिकाहरूलाई जंगलतर्फ लगिएको थियो। घटनामा संलग्न युवाहरूको समूहले बालिकाहरूलाई दुई बोतल छ्याङ खुवाएर लठ्ठ बनाएपछि जबर्जस्ती करणीको प्रयास गरेको बालिकाहरूले प्रहरीसमक्ष दिएको बयानमा उल्लेख छ।

पीडित बालिकाहरू १०, १२ र १३ वर्षका रहेको जनाइएको छ। बयानका क्रममा बालिकाहरूले युवाहरूसँगै चुरोट सेवन गरेको, चाइना टाउनमा चाउचाउ साँधेर खाएको र त्यसपछि मगरगाउँमाथिको जंगलमा गएको बताएका छन्। जंगल पुगेपछि समूहका दुई जना बजार झरेर दुई जम्बो बोतल छ्याङ ल्याएको र सबैले मिलेर सेवन गरेको बयानमा उल्लेख छ।

घटना गत साउन १३ गते भएको हो। सो दिन समूहका एक सदस्यको जन्मदिनसमेत रहेकाले जन्मदिन मनाउने र रमाइलो गर्ने भन्दै उनीहरू जंगल गएको बताइएको छ।

घटनासम्बन्धी अभियोग भदौ ४ गते सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा दर्ता गरेको थियो। अदालतले पक्राउ परेका युवाहरूलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ।

प्रहरीसमक्ष दिएको बयानमा एक बालिकाले आफूलाई जबर्जस्ती करणीसमेत गरिएको दाबी गरेकी छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box
TOP
15 Shares