

रसुवा बाढीको भयावह क्षति : मृतक १ हजार नाघे, ३ हजार ९१६ अझै सम्पर्कविहीन

काठमाडौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले निम्त्याएको मानवीय क्षतिको भयावह तस्वीर सार्वजनिक भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा परी मृत्यु भएका १ हजार ३ जनाको शव फेला परेको छ। फेला परेका शवमा विभिन्न मानव अङ्गसमेत समावेश छन्।
मंगलबार दिउँसो सार्वजनिक गरिएको विवरणअनुसार सबैभन्दा धेरै शव चितवनमा ३२१, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५७, रसुवामा ४१ र तनहुँमा ३८ वटा फेला परेका छन्।
बाढी तथा पहिरोमा परी २७९ जना घाइते भएका छन्। घाइतेमध्ये १६८ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। नेपाली सेनाले प्रभावित क्षेत्रमा २ हजार ७४० जनालाई स्वास्थ्य उपचार उपलब्ध गराएको प्राधिकरणले जनाएको छ।
३ हजार ९१६ अझै सम्पर्कविहीन
बाढीपछि ३ हजार ९१६ जना अझै सम्पर्कविहीन रहेको सरकारी तथ्यांकले देखाएको छ। सम्पर्कविहीन हुनेमा सुरक्षाकर्मी तथा सरकारी कर्मचारीसमेत ठूलो संख्यामा छन्।
सम्पर्कविहीनमध्ये नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका ३, क्वारेन्टाइन कार्यालयका ३ र लाङटाङ राष्ट्रिय निकुञ्जका ३ कर्मचारी रहेका छन्।
प्राधिकरणका अनुसार रसुवाबाट करिब ८६५, नुवाकोटबाट १ हजार ५५८ तथा विभिन्न जलविद्युत् आयोजनाबाट ६३९ जना सम्पर्कविहीन छन्। बेपत्ताको सूचीमा ५८३ विदेशी नागरिक र विदेशी पर्यटकसँगै यात्रा गरेका १६४ नेपाली नागरिक समेत छन्।
२१ हजारभन्दा बढी सुरक्षाकर्मी खोज तथा उद्धारमा
विपद्पछिको खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिँदै प्रभावित क्षेत्रमा २१ हजार ३१४ सुरक्षाकर्मी परिचालन गरिएको छ।
परिचालित जनशक्तिमा नेपाली सेनाका ९ हजार १९९, नेपाल प्रहरीका ७ हजार ९१२ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना छन्।
हालसम्म ११ हजार ८८४ जनाको उद्धार गरिएको छ। नेपाली सेनाले मात्रै ५९२ पटक हवाई उडान गरी २७३ विदेशी र ३ हजार ५०९ नेपालीसहित ३ हजार ७८२ जनाको हवाई उद्धार गरेको छ। निजी क्षेत्रबाट समेत काठमाडौँबाट २९ वटा उडान सञ्चालन भएका छन्।
उद्धार गरिएकामध्ये हाल नुवाकोटमा २ हजार ४६६, रसुवामा ३९८, धादिङमा २६० र काठमाडौँमा ३२९ जना होल्डिङ सेन्टरमा रहेका छन्।
प्रभावित जिल्लामा करोडौँको राहत
सरकारले प्रभावित जिल्लामा तत्कालीन राहत व्यवस्थापनका लागि नगदसमेत उपलब्ध गराएको छ। रसुवा र नुवाकोटलाई १–१ करोड तथा धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराइएको छ। त्यस्तै, प्रभावित १५ पालिकाका लागि ६ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ।
खाद्य तथा गैरखाद्य राहत सामग्री बोकेका ३७ वटा ट्रक र ३७ वटा बोलेरो प्रभावित क्षेत्रमा पठाइएको छ। सशस्त्र प्रहरीले राहत सामग्री ढुवानीका लागि ७७ पटक हवाई उडान गरेको छ। बुधबार मात्रै नुवाकोटमा १६ र रसुवामा ११ वटा हवाई उडानमार्फत राहत पुर्याइएको प्राधिकरणले जनाएको छ।
इन्धन र सञ्चार सेवा सुचारु गर्ने प्रयास
प्रभावित क्षेत्रमा इन्धनको आपूर्ति सहज बनाउन ४२ हजार लिटर डिजेल, १८ हजार लिटर पेट्रोल र ६ हजार लिटर हवाई इन्धन मौज्दात राखिएको छ।
सञ्चार सेवातर्फ नेपाल टेलिकमका क्षतिग्रस्त ११० वटै टावर सञ्चालनमा आएका छन्। एनसेलका क्षतिग्रस्त ७८ टावरमध्ये ७५ वटा सञ्चालनमा आइसकेका छन्।
यसैबीच, पहिचान खुल्न नसकेका शवहरू विभिन्न जिल्लाका २१ वटा अस्पतालमा सुरक्षित राखिएको प्राधिकरणले जनाएको छ।
बाढीले ठूलो मानवीय क्षति पुर्याएसँगै अझै हजारौँ नागरिक सम्पर्कविहीन रहनुले खोज तथा उद्धार अभियान थप चुनौतीपूर्ण बनेको छ। सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा उद्धार टोलीले जोखिमपूर्ण क्षेत्रमा समेत खोजी कार्य जारी राखेका छन्।
समाज
थप सामाग्री-
आज भदौ २५ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
-
भोटेकोशी बाढी : ललितपुरमा १५७ जना अझै बेपत्ता, ४१ विदेशी नागरिकको खोजी जारी
-
मनसुनी वायुको प्रभाव कायमै, सातै प्रदेशमा वर्षाको सम्भावना
-
रामपुर खाप छोटी भन्सार पुनः सुचारु गर्न माग गर्दै आजदेखि रिले अनसनका साथै प्रदर्शन गर्दै
-
आज भदौ २४ गते बुधबार, यस्तो छ तपाईको राशिफल
कालसिङ्गे खोला तर्ने क्रममा १७ वर्षीय किशोर बेपत्ता
१ दिन अगाडि
850Views 15 Shares Share on Facebook Share on Twitter धनगढी । बाजुराको जगन्नाथ गाउँपालिकामा खोला तर्ने क्रममा एक किशोर बगेर…





