

छोछेन खोला क्षेत्रमा पानी घटे पनि जोखिम कायमै, हिमनदी भत्किए नयाँ ताल बन्न सक्ने चीनको चेतावनी

काठमाडौँ । नेपालको सीमासँग जोडिएको चीनको तिब्बतस्थित छोछेन खोला (चिनियाँ स्रोतमा कुओजियान नदी) क्षेत्रमा अगस्ट २६ मा गएको विनाशकारी पहिरो तथा बाढीपछि जम्मा भएको पानी अधिकांश बाहिरिए पनि जोखिम भने अझै टरेको छैन। चीनको जलस्रोत मन्त्रालयले प्रभाव क्षेत्र आसपासका हिमनदी तथा पहिरोका थुप्रा भत्किए पुनः ठूलो मात्रामा मलबे नदीमा पस्ने र नयाँ प्राकृतिक बाँध वा हिमताल बन्न सक्ने चेतावनी दिएको छ।
चिनियाँ सरकारी प्रसारक सीसीटीभीलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले मंगलबार प्रकाशित गरेको रिपोर्टअनुसार, सेप्टेम्बर १ बिहान ८ बजे खिचिएको ड्रोन तस्बिरमा छोछेन खोला क्षेत्रमा पहिरोका कारण बनेको प्रभाव क्षेत्रमा जम्मा भएको पानी ठूलो मात्रामा निकास भइसकेको देखिएको छ। प्रभाव क्षेत्रभन्दा तल नदीको बहावसमेत सामान्य अवस्थामा फर्किएको पाइएको छ।
चीनको जलस्रोत मन्त्रालयले नेपालको सीमासँग जोडिएको तिब्बत स्वायत्त क्षेत्रको ग्यिरोङ (केरुङ) काउन्टीमा पहिरो तथा मलबे–बाढीको जोखिमबारे निरन्तर निगरानी, परामर्श र समग्र जोखिम मूल्यांकन गरिरहेको जनाएको छ। उद्धार तथा राहत कार्यलाई सहयोग पुग्ने गरी जलविज्ञानसम्बन्धी अनुगमनसमेत तीव्र पारिएको छ।
अगस्ट ३१ को स्याटेलाइट तथा राडार चित्र विश्लेषणमा प्रभाव क्षेत्रमा जम्मा भएको पानीको सतह करिब ८३ हजार वर्गमिटर रहेको थियो। यो अगस्ट ३० बिहान ११ बजेको तुलनामा २५ हजार वर्गमिटर र सोही दिन साँझ ७ बजेको तुलनामा १४ हजार वर्गमिटर कम हो। त्यस समयमा प्रभाव क्षेत्रमा करिब ६ लाख ५० हजार घनमिटर पानी रहेको अनुमान गरिएको थियो।
प्रभाव क्षेत्रभन्दा करिब २.५ किलोमिटर तल तीनवटा साना स्थिर पानीका क्षेत्रसमेत पहिचान भएका थिए। तीमध्ये केही नदीका जलमार्गसँग जोडिएका र पानी बगिरहेको अवस्थामा रहेको चिनियाँ मन्त्रालयले जनाएको थियो। पछिल्लो ड्रोन निरीक्षणले भने प्रभाव क्षेत्रमा जम्मा भएको पानी ठूलो मात्रामा बाहिरिइसकेको र तलतर्फको नदी सामान्य रूपमा बगिरहेको देखाएको छ।
तर, पानीको बहाव सामान्य हुनु जोखिम पूर्ण रूपमा समाप्त भएको संकेत नभएको चिनियाँ पक्षको निष्कर्ष छ। प्रभाव क्षेत्र आसपासका हिमनदी भत्किएमा ठूलो मात्रामा मलबे नदीमा खस्न सक्ने र त्यसबाट नदी थुनिएर नयाँ प्राकृतिक बाँध तथा हिमताल बन्न सक्ने सम्भावना रहेको मन्त्रालयले जनाएको छ।
यसअघि गरिएको ड्रोन निरीक्षणमा पूर्व प्यूरेपू छाङ्पो हिमतालबाट करिब तीन किलोमिटर तल नदीका दुवै किनारमा धेरैवटा पहिरोका थुप्रा देखिएका थिए। हाल ती क्षेत्रमा पानी बगिरहेको भए पनि थप पहिरो गएमा नदीको बहाव अवरुद्ध भएर पुनः ताल बन्न सक्ने जोखिम रहेको चिनियाँ अनुसन्धानकर्ताहरूले औंल्याएका छन्।
यसैबीच, ग्यिरोङ छाङ्पो नदीको जलाधार क्षेत्रमा पहिचान गरिएका १४ वटा हिमतालको पानीको सतहमा पछिल्लो समय उल्लेखनीय परिवर्तन नदेखिएको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ। अगस्ट ३१ को विश्लेषणअनुसार चीनतर्फ ०.१ वर्गकिलोमिटरभन्दा ठूला १४ वटा मोरेनले बाँधिएका हिमताल पहिचान भएका छन्। तीमध्ये ११ वटा दोङलिन छाङ्पो नदी तथा यसका सहायक नदीमा र तीनवटा ग्यिरोङ छाङ्पो नदी तथा यसका सहायक नदीमा छन्।
नदीको प्राकृतिक अवस्था तथा आसपासका बस्ती र पूर्वाधारलाई आधार बनाएर ती १४ हिमतालमध्ये १० वटालाई उच्च जोखिम र चारवटालाई मध्यमदेखि न्यून जोखिममा वर्गीकरण गरिएको छ। यद्यपि, पछिल्लो एक महिनामा यी सबै हिमतालको पानीको सतहमा ठूलो परिवर्तन नदेखिएको चिनियाँ पक्षले जनाएको छ।
स्याटेलाइट विश्लेषणअनुसार नेपालतर्फ केरुङ बन्दरगाहभन्दा माथिल्लो क्षेत्रमा ०.१ वर्गकिलोमिटरभन्दा ठूला मोरेनले बाँधिएका हिमताल भने फेला परेका छैनन्।
जोखिमको निरन्तर निगरानीका लागि चीनको जलस्रोत मन्त्रालयले अगस्ट ३१ मा १४ सदस्यीय प्राविधिक टोली परिचालन गरेको थियो। टोलीले प्यूरेपू छाङ्पो, दोङलिन छाङ्पो र ग्यिरोङ छाङ्पो नदी क्षेत्रमा आपत्कालीन जलविज्ञान अनुगमन गर्नुका साथै थप निगरानी केन्द्र स्थापना गर्न सकिने स्थानहरूको समेत सर्वेक्षण गरेको छ।
केरुङ बन्दरगाहमा अगस्ट ३१ बिहान ९ बजे नदीको बहाव प्रतिसेकेन्ड १२५ घनमिटर मापन गरिएको थियो। उक्त तथ्यांकलाई तलतर्फ उद्धार तथा राहतमा खटिएका टोलीका लागि जोखिम निगरानी तथा पूर्वसूचना प्रणालीमा प्रयोग भइरहेको चिनियाँ मन्त्रालयले जनाएको छ।
यसले छोछेन खोला क्षेत्रमा तत्कालको बाढीको प्रभाव केही कम भए पनि हिमनदी, पहिरो र सम्भावित प्राकृतिक बाँधका कारण सीमावर्ती क्षेत्रमा जोखिम अझै संवेदनशील अवस्थामा रहेको देखाएको छ।
समाज
थप सामाग्री-
आज भदौ २५ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
-
भोटेकोशी बाढी : ललितपुरमा १५७ जना अझै बेपत्ता, ४१ विदेशी नागरिकको खोजी जारी
-
मनसुनी वायुको प्रभाव कायमै, सातै प्रदेशमा वर्षाको सम्भावना
-
रामपुर खाप छोटी भन्सार पुनः सुचारु गर्न माग गर्दै आजदेखि रिले अनसनका साथै प्रदर्शन गर्दै
-
आज भदौ २४ गते बुधबार, यस्तो छ तपाईको राशिफल
कालसिङ्गे खोला तर्ने क्रममा १७ वर्षीय किशोर बेपत्ता
१ दिन अगाडि
900Views 15 Shares Share on Facebook Share on Twitter धनगढी । बाजुराको जगन्नाथ गाउँपालिकामा खोला तर्ने क्रममा एक किशोर बगेर…





