पहिचान नखुलेका भोटेकोशी बाढीका ८५ शव काठमाडौंमा गाडियो, डीएनए नमुना सुरक्षित

काठमाडौं । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका क्रममा विभिन्न स्थानबाट संकलन गरिएका पहिचान नखुलेका ८५ वटा शव काठमाडौंमा गाडिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार लामो समयसम्म पहिचान हुन नसकेका तथा बेवारिसे अवस्थामा रहेका शवलाई ‘बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०८३’ को पहिलो संशोधनअनुसार आवश्यक प्रक्रिया पूरा गरी व्यवस्थापन गरिएको हो।

ती शव यसअघि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा सुरक्षित राखिएका थिए। लामो समयसम्म आफन्त तथा परिवारजनबाट पहिचान हुन नसकेपछि शवलाई गोकर्णेश्वर नगरपालिका–७, दक्षिणढोकास्थित नेपाल ट्रस्टको स्वामित्वमा रहेको वन क्षेत्रमा गाडिएको प्रहरीले जनाएको छ।

शव गाडिए पनि मृतकको पहिचान र आफन्तलाई शव बुझाउने प्रक्रिया भने बन्द नहुने प्रहरीले स्पष्ट पारेको छ। प्रत्येक शवको डीएनए नमुना सुरक्षित राखिएकाले भविष्यमा सम्भावित आफन्तले दाबी गरेमा डीएनए परीक्षणमार्फत पहिचान गरी शव बुझाउन सकिने व्यवस्था गरिएको छ।

प्रहरीका अनुसार सम्भावित आफन्त तथा परिवारजनले मृतकको खोजी तथा पहिचानका लागि महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल वा सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्नेछन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार शव व्यवस्थापन गर्दा मानवीय संवेदनशीलता र अन्तर्राष्ट्रिय मापदण्डलाई ध्यान दिइएको छ। उनका अनुसार शवको व्यवस्थापन अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) को प्रोटोकलअनुसार गरिएको हो।

प्रहरीले शव गाडिएपछि पनि डीएनए नमुना र आवश्यक विवरण सुरक्षित रहने भएकाले कुनै परिवारजनले पछि आफ्नो आफन्त भएको दाबी गरेमा वैज्ञानिक परीक्षणबाट पहिचान गर्ने बाटो खुला रहने जनाएको छ।

Facebook Comments Box
TOP
15 Shares