‘विपद्का बेला स्थानीय तहलाई मात्रै दोष दिनु उचित होइन’ : रास्वपा सचेतक धिताल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक क्रान्तिशिखा धितालले विपद्का बेला स्थानीय तह सक्रिय भएनन् वा संघीय सरकारसँग समन्वय गर्न सकेनन् भन्दै उनीहरूलाई मात्र दोषारोपण गर्नु उचित नहुने बताएकी छन्।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विपद्का समयमा पालिका र वडाका संयन्त्रहरू स्वचालित रूपमा सक्रिय हुनुपर्ने भए पनि अपेक्षाअनुसार सक्रिय नभएको भन्दै असन्तुष्टि जनाएका थिए। त्यसको प्रतिक्रियामा धितालले मंगलबार सामाजिक सञ्जालमार्फत विपद्बाट प्रभावित स्थानीय तह आफैं पनि पीडित भएकाले काठमाडौंमा बसेर उनीहरूलाई मात्र जिम्मेवार ठहर्‍याउनु न्यायोचित नहुने धारणा राखेकी हुन्।

उनले प्रभावित स्थानीय तहको आफ्नै भूगोल, संरचना र जनशक्ति विपद्को चपेटामा परेको अवस्थामा त्यहाँबाट सामान्य अवस्थाकै जस्तो कार्यसम्पादनको अपेक्षा गर्न नसकिने बताएकी छन्।

धितालले भनेकी छन्, ‘काठमाडौंमा बसेर स्थानीय तह सक्रिय भएन, हामीसँग समन्वय भएन भनेर मात्र आरोप लगाउनु किमार्थ उचित हुँदैन।’

उनले विपद्बाट प्रभावित स्थानीय तह स्वयं पनि संकटको प्रत्यक्ष भोगाइमा रहेको स्मरण गराउँदै प्रश्न गरेकी छन्, ‘स्थानीय तह आफैं पनि यो विपद्को पीडित हो। उसको आफ्नै सहर बाढीले बगाएर बगर बनेको छ। जसले आफैं गाँस, बास र कपास गुमाएको छ, उसैबाट पूर्ण क्षमतामा सोच्न, निर्णय गर्न र अरूलाई सम्हाल्न अपेक्षा गर्नु कति न्यायोचित हो ?’

धितालले संकटका बेला प्रभावित प्रदेश तथा स्थानीय तहलाई कठघरामा उभ्याउनेभन्दा उनीहरूलाई पुनः उभिन सक्ने अवस्थामा पुर्‍याउनु संघीय सरकारको प्रमुख जिम्मेवारी भएको बताएकी छन्।

‘प्रभावित प्रदेश र स्थानीय तहलाई कठघरामा उभ्याउने होइन, उनीहरूलाई उभिन सक्ने बनाउने हाम्रो जिम्मेवारी हो,’ उनले भनेकी छन्।

विपद् व्यवस्थापनमा सरकारका विभिन्न तहबीच प्रतिस्पर्धाभन्दा सहकार्य र पारस्परिक सहयोग आवश्यक रहेकोमा जोड दिँदै धितालले संघ, प्रदेश र स्थानीय सरकार एकअर्काका सहारा बन्नुपर्ने बताएकी छन्।

‘विपद्मा सरकारका तहहरू प्रतिस्पर्धी होइनन्, एकअर्काका सहारा हुन्। हामी सहारा बनौं,’ उनले भनेकी छन्।

Facebook Comments Box
TOP
30 Shares