अविरल वर्षापछि अरनिको राजमार्गको कोदारी खण्ड अवरुद्ध, यातायात ठप्प

काठमाडौँ । गएरातिदेखि परेको अविरल वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको कोदारी खण्ड अवरुद्ध भएको छ। वर्षासँगै आएको बाढी तथा पहिरोका कारण सडक अवरुद्ध भएपछि उक्त क्षेत्रमा यातायात सेवा पूर्ण रूपमा ठप्प भएको हो।
सडक अवरुद्ध हुँदा चीनतर्फको प्रमुख व्यापारिक तथा आवतजावत मार्गसमेत प्रभावित भएको छ। सडकमा बाढी तथा पहिरोले ल्याएको गेग्रान थुप्रिँदा यातायात सञ्चालनमा समस्या भएको जनाइएको छ।
सडक विभागका अनुसार अवरुद्ध सडकलाई यथाशीघ्र सञ्चालनमा ल्याउन सडक डिभिजन कार्यालय चरिकोटमार्फत मर्मत तथा सफाइको काम तीव्र पारिएको छ। सडकमा थुप्रिएको गेग्रान हटाउन तथा बाढी–पहिरोबाट क्षतिग्रस्त सडकखण्ड मर्मत गर्न आवश्यक उपकरण र जनशक्ति परिचालन गरिएको विभागले जनाएको छ।
लगातार वर्षा भइरहेकाले सडकको अवस्था थप बिग्रन सक्ने सम्भावना रहेकाले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन आग्रह गरिएको छ। सडक पूर्ण रूपमा सुरक्षित भएपछि मात्रै नियमित यातायात सञ्चालनमा ल्याइने जनाइएको छ।

Facebook Comments Box
TOP
15 Shares