प्रतिनिधिसभा बैठकमै ढले सांसद भरत खड्का, वीर अस्पताल लगियो

काठमाडौँ । प्रतिनिधिसभाको बैठक चलिरहेका बेला नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का एक्कासि आफ्नै कुर्सीबाट ढलेका छन्। उनलाई प्राथमिक उपचारपछि थप उपचारका लागि वीर अस्पताल लगिएको छ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सोम शर्मा बोलिरहेका बेला डोटीबाट निर्वाचित सांसद खड्का अचानक ढलेका थिए। उनी ढलेपछि नजिकै रहेका सांसदहरू तत्काल उनको सहयोगका लागि पुगेका थिए।

घटनालगत्तै सभामुख डोलप्रसाद अर्यालले सांसद शर्मालाई बोल्न रोक्दै केहीबेरका लागि सदनको कारबाही स्थगित गरेका थिए।

खड्कालाई संसद् सचिवालयको स्वास्थ्य इकाइमा प्राथमिक उपचार गरिएको थियो। त्यसपछि थप उपचारका लागि एम्बुलेन्समार्फत वीर अस्पताल पठाइएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन्।

संसद् सचिवालयका अनुसार खड्कामा उच्च रक्तचापको समस्या देखिएको थियो। उनको रक्तचाप १६० पुगेको बताइएको छ। यद्यपि, अस्पतालमा थप परीक्षणपछि उनको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी आउनेछ।

खड्का प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापतिसमेत हुन्।

Facebook Comments Box
TOP
15 Shares