अमेरिकाले बाढीपीडितका लागि ६१ करोडभन्दा बढी मानवीय सहायता परिचालन गर्ने

काठमाडौं । नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति अमेरिकाले दुःख व्यक्त गर्दै विपद् प्रतिकार्यका लागि ४० लाख अमेरिकी डलरभन्दा बढी अर्थात् करिब ६१ करोड रुपैयाँ बराबरको मानवीय सहायता परिचालन गरेको जनाएको छ।

शुक्रबार परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गर्दै कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले बाढीपछिको खोज, उद्धार तथा राहत कार्यमा नेपाल सरकारले गरिरहेको प्रयासको प्रशंसा गरिन्। उनले हराइरहेका अमेरिकी नागरिकसहित अन्य पीडितको खोजीमा भइरहेको प्रयासप्रति आभारसमेत व्यक्त गरिन्।

राजदूत बोल्डिनले बाढीपछिको प्रतिकार्यमा अमेरिका नेपालसँग सहकार्य गरिरहेको जानकारी दिँदै प्रभावित समुदायलाई आवश्यक राहत तथा सहयोग उपलब्ध गराइरहेको बताइन्। अमेरिकी दूतावासका अनुसार परिचालन गरिएको सहयोगमा खाद्यान्न, आपत्कालीन राहत सामग्री, बन्दोबस्तीका सामान तथा आवश्यक उपकरणलगायत सामग्री रहेका छन्।

बाढी तथा विपद्मा परेका व्यक्तिको पहिचान तथा परिवारजनका प्रश्नको जवाफ दिन नेपाल प्रहरीसँगै अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) का फरेन्सिक विशेषज्ञसमेत परिचालन गरिएको दूतावासले जनाएको छ।

राजदूत बोल्डिनले अमेरिकी नागरिकको सुरक्षा अमेरिकाको सर्वोच्च प्राथमिकता रहेको उल्लेख गर्दै परिवारसँग सम्पर्कविहीन आफन्तबारे जानकारी खोजिरहेका व्यक्तिलाई सहयोग गर्न कन्सुलर सेवा विस्तार गरिएको जानकारी दिइन्।

उनले बाढीबाट भएको क्षति, विस्थापन तथा मानवीय आवश्यकताको निरन्तर आकलन भइरहेको बताउँदै आगामी दिनमा समेत अमेरिकाले नेपालसँग निकट सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरिन्।

अमेरिकी दूतावासले विपद् प्रतिकार्यमा नेपाल सरकारको नेतृत्वमा भइरहेका खोज, उद्धार, राहत तथा पुनःस्थापनाका प्रयासमा अमेरिकी सहयोग निरन्तर रहने जनाएको छ।

Facebook Comments Box
TOP
15 Shares