परेवाटार–मास्टार सडकमा आजदेखि समय तोकेर एकतर्फी यातायात सञ्चालन

धादिङ । भोटेकोशी बाढीका कारण फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको परेवाटार–मास्टार सडकमा आजदेखि समय निर्धारण गरी एकतर्फी सवारीसाधन सञ्चालनको व्यवस्था गरिएको छ ।
सडक साँघुरो भएकाले दुवैतर्फबाट एकैपटक सवारीसाधन सञ्चालन गर्दा आवागमन व्यवस्थापनमा कठिनाइ भएपछि जिल्ला प्रशासन कार्यालय धादिङले निश्चित समय तोकेर एकतर्फी यातायात सञ्चालनको प्रबन्ध गरेको हो ।
प्रशासनका अनुसार बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म गल्छी–मास्टारबाट परेवाटार हुँदै धादिङबेंसीतर्फ आउने सवारीसाधन सञ्चालन हुनेछन् । धादिङबेंसीतर्फ आउने सवारीसाधनले दिउँसो १२ बजेसम्म मास्टारस्थित पुल पार गरिसक्नुपर्नेछ ।
त्यसैगरी, दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म धादिङबेंसीबाट परेवाटार हुँदै मास्टार–गल्छीतर्फ जाने सवारीसाधन सञ्चालन हुनेछन् । गल्छीतर्फ जाने सवारीसाधनले साँझ ७ बजेसम्म परेवाटार पार गरिसक्नुपर्ने प्रशासनले जनाएको छ ।
तोकिएको समयअनुसार एकतर्फी यातायात सञ्चालन भइरहेको अवस्थामा धादिङबेंसीबाट सुनौलाबजार, फोस्रेटार र केउरिनी हुँदै गल्छीतर्फ समेत आवतजावत गर्न सकिने व्यवस्था गरिएको छ ।
बाढीका कारण मुख्य सडकमार्गमा क्षति पुगेपछि वैकल्पिक मार्गमा सवारीसाधनको चाप बढेको अवस्थामा प्रशासनले आवागमन सहज र सुरक्षित बनाउन समय तालिका निर्धारण गरेको हो ।

Facebook Comments Box
TOP
15 Shares